गृहपृष्ठ कानेपोखरी–५ का अध्यक्षविरुद्ध पक्राउ पुर्जी, अवैध चन्दा असुलीमा संलग्न
कानेपोखरी–५ का अध्यक्षविरुद्ध पक्राउ पुर्जी, अवैध चन्दा असुलीमा संलग्न
स्थानीय चिसाङ खोलाबाट नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर र ट्रिप्परबाट अवैध चन्दा असुलीमा संलग्न भएको आरोपमा मोरङको कानेपोखरी–५ का अध्यक्ष चरणसिंह गुरुङविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । मोरङ प्रहरीले उनको नाममा शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो ।
पुर्जी जारी गरेसँगै वडाध्यक्ष गुरुङ भूमिगत भएका छन् । कानेपोखरी–५ का अध्यक्ष गुरुङ पूर्वएमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । कानेपोखरी–५ र बेलबारी–८ को बीचमा पर्ने समिर नाका र शान्ति टोल नाकाबाट चिसाङ खोलाबाट ढुंगा, गिटी, र बालुवा निकासीमा अवैध चन्दा असुल गरी गुरुङको संलग्नता देखिएपछि प्रहरीले पुर्जी जारी गरेको मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
प्रहरीले पाँच दिनअघि सोही ठाउँमा चन्दा असुल गर्ने कानेपोखरीका रोशन दनुवार र जितन चौधरीलाई पक्राउ गरी चन्दा ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो । चन्दा असुली गर्ने दुवै जनालाई धरौटीमा रिहा गरिएको छ । उनीहरु विरुद्धको मुद्दा मोरङ अदालतमा विचाराधीन अवस्थामा छ । गुरुङले कानेपोखरी–५ का चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिका नाममा नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगार्थ भन्दै रसिद बनाएर ट्याक्टर र ट्रिपरबाट पैसा असुल गर्न पत्रै दिएका थिए ।
गुरुङले प्रतिट्रिप्पर चन्दास्वरुप १ सय रुपैयाँसम्म स्थानीय उपभोक्तालाई दिनुपर्ने क्रसर उद्योगी र सर्वसाधरणसँग सहमति गराएका थिए । गुरुङ आफैं क्रसर व्यवसायी हुन् । यसअघि पनि पदको दुरुपयोग गरी अवैध ढंगले नदीजन्य वस्तुको निकासी गर्ने गरेको स्थानीयको आरोप छ । चन्दा असुलीको आरोपमा दुई जना पक्राउ परेको विषयमा स्थानीयले विरोध गर्दै खोलाबाट खोलाजन्य पदार्थ निकासीमा रोक लगाएका छन् ।
गत २०७४ असोज २३ गते गुरुङकै अध्यक्षतामा बसेको स्थानीय उपभोक्ता समितिको बैठकले विभिन्न सातवटा सहमति गरेको थियो ।
प्रकाशित समय १६:११ बजे

















