गृहपृष्ठ ठूलो परिमाणमा रत्नपत्थर बरामद
ठूलो परिमाणमा रत्नपत्थर बरामद
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठूलो परिणामा बहुमूल्य रत्नपत्थर बरामद गरेको छ । यही माघ ३ गते राति करिब १ बजेतिर कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको बा १९ च ३५७२ नम्बरको स्कारपियोबाट चेकजाँचका क्रममा उक्त रत्नपत्थर फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर-१ बाङ्गेसिमल चेक प्वाइन्ट भन्दा करिब ५ सय मिटर अगाडि विशेष सुराकीको आधारमा चेक जाँच गर्ने क्रममा गाडिमा लुकाई राखेको बुहुमूल्य ढुङ्गा रत्नपत्थर ११.५०० किलो ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी सहायक निरिक्षक विजय पुनको नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा उक्त बहुमूल्य ढुङ्गा बरामद गरेको हो । घटनामा संलग्न पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिई शुक्रबार सार्वजनिक गरेको छ ।
वीरेन्द्रनगर-४ सुर्खेतका ४० वर्षीय भिमबहादुर सुनार, सोही स्थानका ३० वर्षीय नविन कँडेल सोही स्थानका २८ वर्षीय सुरेन्द्र शाही, बराहताल-८ का २६ वर्षीय भक्तबहादुर पाण्डे र बराहताल-८ कै ३२ वर्षीय तेजेन्द्र बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित समय १८:३६ बजे

















