गृहपृष्ठ प्रदेश-५ : प्रतिपक्ष दलका नेता र लेखा समितिका सभापतीले फिर्ता गरे गाडी
प्रदेश-५ : प्रतिपक्ष दलका नेता र लेखा समितिका सभापतीले फिर्ता गरे गाडी
प्रदेश-५ स्थित नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले र सार्वजनिक लेखा समितिका सभापती डिल्लीबहादुर चौधरीले सरकारी गाडी प्रदेशसभा सचिवालयलाई फिर्ता गरेका छन् । शर्मा पोखरेलले शुक्रबार र चौधरीले केहीदिन पहिला नै गाडी फिर्ता गरेका थिए ।
प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महंगोमा गाडी खरिद गरी आर्थिक अनियमितता गरेको समाचार बाहिर आएपछि उनीहरूले विवादमा रहेको गाडी नढ्ने र निश्पक्ष छानवीन हुनुपर्ने माग गर्दै आफुले पाएको सुविधा फिर्ता गरेका हुन् ।
पोखरेलले आफू चढिरहेको लु १ झ ४४७ नम्बरको गाडीको साँचो संसद सचिवालयका सचिव दुर्लभकुमार पुन मगरलाइ फिर्ता गरेका हुन् ।
सचिवालयमा साँचो बुझाउँदै सभापति प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पोखरेलले भने, ‘सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरिद गरेका सबै गाडीहरुको कागजात झिकाई छानविन शुरु गरेकोले विवादित गाडी चढ्नु उपयुक्त छैन, त्यसैले नैतिकताको आधारमा गाडी फिर्ता गरेको हुँ ।’
प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई भन्दै हालै १३ वटा (टाटा स्ट्रोम) गाडी खरिद गरेको थियो । खरिद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेल (नेकपाका सांसद)को संयोजकत्वमा उपसमिति गठन गरेर छानवीन भैरहेको छ ।
उपसमितिमा बैजनाथ जयसवाल (कांग्रेस )र कल्पना पाण्डे (राष्ट्रिय जनता पार्टी)सदस्य छन् । उपसमितिको बैठक शुक्रबार पनि बसेको थियो । गाडी खरिदमा केहि त्रुटी फेला परेको सदस्य बैजनाथ जयसवालले बताए । उपसमितिले ६ गते प्रतिवेदन लेखा समितिलाइ बुझाउने तयारी गरेको उनले जानकारी दिए ।
यसअघि सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले पनि सचिवालयले उपलब्ध गराइ आफूले चढ्दै आएको लु १ झ ४४१ नं. को गाडी फिर्ता गरेका थिए ।
प्रकाशित समय १८:५१ बजे

















