गृहपृष्ठ विप्लव समूहद्वारा मालबाहक ट्रकमा आगजनी
विप्लव समूहद्वारा मालबाहक ट्रकमा आगजनी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा दुई वटा मालबाहक गाडीमा आगजनी गरेको छ । विप्लव माओवादीका कार्यकर्ताले शनिबार विहान रत्न राजमार्गको सत्तरी र कर्णाली राजमार्गको बड्डीचौर नजिकै मालबहाक ट्रकमा आगजनी गरेका हुन् ।
उनीहरूले ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए । उनका अनुसार आगजनीबाट ट्रकको अगाडी भागमा क्षती पुगेको छ ।
बन्दका कारण सुर्खेतबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीहरु ठप्प छन् । सुर्खेतका लागि छुटेका रात्रिकालीन सवारीहरुलाई प्रहरीले सुरक्षा दिएर गन्तव्यमा पठाइरहेको छ ।
गत पौष २२ गते विद्यार्थीहरुको जिल्ला सम्मेलनको अवस्थामा जिल्ला भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्दामा प्रहरीले गिरफ्तार गरेकोले तत्काल रिहाईको माग गर्दै एकदिन बन्द गरिएको विप्लवका विद्यार्थी नेता खिमलाल बुढाथोकीले जानकारी दिए ।
प्रकाशित समय १६:२० बजे

















