गृहपृष्ठ मुख्यमन्त्री शाहीले विज्ञहरूलाई भने- कर्णाली निर्माणको डिजाइन दिनुहोस्
मुख्यमन्त्री शाहीले विज्ञहरूलाई भने- कर्णाली निर्माणको डिजाइन दिनुहोस्
दुईदिने कार्यशालामा २७ कार्यपत्र प्रस्तुत
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विज्ञहरूसँग कर्णाली प्रदेश निर्माणको फरक डिजाइन माग गरेका छन् । कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित दुईदिने प्रथम ‘आवधिक योजना आधारपत्र’ निर्माणसम्बन्धी पूर्वतयारी कार्यशाला गोष्ठीको समापनमा मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीको विकास मोडेल फरक स्वरुपमा तयार गर्न आग्रह गर्नुहोस्, पैसा नभएर कर्णालीको विकास नभएको होइन, दूरदृष्टि र सही सोचको आवश्यक छ ।’
पैसाभन्दा कानुन कर्णालीको विकासमा अवरोधक बनेको उनको भनाइ छ । ‘प्रदेश विकासको गति बढाउने र नयाँ कामको खोजी गरी कर्णालीलाई समुन्नत बनाउन सबैको सहयोग आवश्यक छ,’ उनले भने, ‘कर्णालीको विकासमा सांस्कृतिक क्रान्ति पनि त्यत्तिकै जरुरी छ ।’
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले क्षेत्रगत विशेषज्ञता प्राप्त गरेका व्यक्तिको सुझावले कर्णाली सरकारलाई अघि बढ्न सहयोग पुग्ने धारणा राखे । त्यस्तै, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले विज्ञबाट प्राप्त सल्लाह सुझावले यो प्रदेशको दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास उनको छ । विज्ञबाट प्रस्तुत कार्यपत्रले परियोजना बैंक निर्माणमा थप सहयोग पुग्ने उपाध्यक्ष डा. रेग्मीले बताए ।
दुईदिने कार्यशाला गोष्ठीमा सडक, खानेपानी, जलविद्युत्, कृषि, वन, वातावरण, पर्यटन, जडीबुटी, उद्योग, शिक्षा, स्वास्थ्य, खनिज सम्पदा, सूचना, प्रविधिलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित २७ कार्यपत्र प्रस्तुत भएका छन् । गोष्ठीमा आर्थिक विकास, सुशासन र समन्वय, भौतिक पूर्वाधार विकास, कृषि, सहकारी र भूमि व्यवस्था, उद्योग वाणिज्य, आपूर्ति, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र आन्तरिक तथा सूचना, सञ्चारको समूहगत छलफलबाट ‘आवधिक योजना आधारपत्र’ तयार भएको छ ।
आधारपत्रले माघ १४ र १५ गते हुने कर्णाली प्रदेशको समन्वय परिषद्को बैठकलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रकाशित समय ०९:२० बजे

















