गृहपृष्ठ मुआब्जा माग्दै नुवाकोट जिल्ला बन्द

मुआब्जा माग्दै नुवाकोट जिल्ला बन्द

nuwakot_district-newskarobar

राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी– त्रिशूली– मैलुङ– स्याफ्रुबेँसी– रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुंगेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै नुवाकोट बन्द आह्वान गरेका छन् । आयोजनाअन्तर्गत पीपलटार–ढुंगे करिब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा निर्धारण २०३४ को राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने जनाएपछि प्रभावित बासिन्दाले संघर्षको कार्यक्रमअन्तर्गत आइतबार जिल्ला बन्द गराएका हुन् ।

मुआब्जापीडित संघर्ष समितिको आयोजनामा भएको बन्दले नुवाकोट र रसुवामा सञ्चालित छोटो तथा लामो दूरीका यातायातका साधन ठप्प हुँदा यात्रुले सास्ती पाएका छन् । बन्दले बजार क्षेत्र, शैक्षिक संस्था, उद्योग तथा कलकारखानासमेत प्रभावित भएका छन् । बन्दकर्ता बिहानैदेखि सडकमा शान्तिपूर्ण रूपमा विरोध जनाइरहेका छन् ।

चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत बन्द आह्वान गरेको र मागको सुनुवाइ नभए थप संघर्षका कार्यक्रम ल्याउन आफूहरु बाध्य हुने समितिका संयोजक लीलानाथ न्यौपानेले बताए । त्रिशूली– ककनी–बालाजु खण्डमा पर्ने पासाङल्हामु राजमार्ग क्षेत्रको दायाँबायाँ जग्गाको सीमा निर्धारण २०३४ मा सडक विस्तारको क्रममा सडकको पहुँचमा आइसकेको भनेर आयोजनाले मुआब्जा दिन नमल्निे योजना प्रमुख सुवोधकुमार देवकोटाले बताए । उनका अनुसार कानुन अभावमा पीपलटारदेखि ढुंगेसम्मको जग्गाको मुआब्जा दिन नसक्ने अवस्था छ ।

पीपलटार–ढुंगे सडकखण्ड नुवाकोटको सदरमुकामसहित मुख्य–मुख्य बजार क्षेत्रमा पर्छ । ‘गल्छी– रसुवागढी’ सडकको पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट– त्रिशूली– रसुवाको मैलुङ– स्याफ्रुबेँसी– रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने सडक निर्माणको काम भइरहेको छ । आयोजनाको समग्र काम हाल ३५ प्रतिशत सम्पन्न भएको छ । उक्त सडक ८२ किमी दूरीको छ । (रासस)

प्रकाशित समय ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु