गृहपृष्ठ निर्मलाको हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिएका छौं : कांग्रेस प्रवक्ता
निर्मलाको हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिएका छौं : कांग्रेस प्रवक्ता
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बालिका निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिइरहेको बताएका छन् । सोमबार भीमदत्त नगरपालिका-२ मा रहेको निर्मलाको घर पुगेका प्रवक्ता शर्माले निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन कांग्रेसले लगातार दबाब दिइरहेको बताएका हुन् ।
निर्मला हत्याको विषयमा कांग्रेसले सडकदेखि सदनसम्म कुरा उठाउँदै आएको बताए । ‘निर्मला प्रकरणको अनुसन्धान गर्न कांग्रेस सदन र सडकबाटै सशक्त रूपमा अघि बढ्छ,’ उनले भने, ‘घटनास्थलबाटै भएका कमी कमजोरी वा लापरर्बाहीबाट अनुसन्धान थाल्नुपर्छ भन्नेमा हाम्रो जोड छ ।’
निर्मलाकी आमा दुर्गादेवीले सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता लगाउन पहल गरिदिन कांग्रेस प्रवक्ता शर्मासँग आग्रह गरेकी थिइन् ।
‘सरकार जनजीविकामा गम्भीर देखिएन‘
प्रवक्ता शर्माले वर्तमान सरकार जनजीविकासँग गम्भीर नभएको आरोप लगाए । नेपाल प्रेस युनियन कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुईतिहाइ बहुमतको सरकारका पालामा देशमा अशान्ति, महँगी र भ्रष्टाचार निकै बढेको बताए । ‘जनताका दैनिक उपभोग्यका वस्तुको मूल्य अकासिँदासमेत सरकार त्यसतर्फ उदासीन बनिरहेको छ,’ उनले भने, ‘देशमा हत्या, हिंसा तथा बलात्कारका घटना दिनप्रतिदिन घट्नुको सट्टा बढिरहेको छ ।’
प्रवक्ता शर्माले डा. गोविन्द केसीको आन्दोलनका सम्बन्धमा सरकारले आफैँले गरेको सम्झौता लत्याएको आरोप लगाए ।
प्रकाशित समय १४:४६ बजे

















