गृहपृष्ठ बम्जन आश्रमबाट पाँचजना बेपत्ता, प्रहरीको अनुसन्धान वाइबा केन्द्रित

बम्जन आश्रमबाट पाँचजना बेपत्ता, प्रहरीको अनुसन्धान वाइबा केन्द्रित

rambahadur-bamjan-newskarobar

तपस्वी भनिएका रामबहादुर बम्जनको आश्रममा प्रहरीले केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ । सिन्धुपाल्चोक बाँडेगाउँ, सिन्धुली र बाराको रतनपुर हलखोरियो जंगलका रहेका बम्जनका आश्रममा प्रहीले अनुसन्धान तीव्र बनाएको हो ।

बम्जनको आश्रमबाट बेपत्ता भएका मकवानपुरका सञ्चलाल वाइबामा केन्द्रित भएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । प्रहरीले बम्जनको आश्रमबाट हराएका व्यक्तिको खोजीका लागि तालिम प्राप्त कुकुर प्रयोग गरेको छ । केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलबाट ‘सर्च एन्ड रेस्क्यु’मा प्रयोग हुने कुकुर बम्जनको आश्रममा अनुसन्धानमा प्रयोग गरिएको छ । उनी सिन्धुपाल्चोक आश्रमबाटै हराएको भन्ने परिवारको दाबीपछि अनुसन्धान उनमै केन्द्रित गरिएको हो ।

‘तालिमप्राप्त कुकुर प्रयोग गरी प्राप्त गरेका प्रमाणबारे अनुसन्धान भइरहेको छ, भेटिएका वस्तुको थप परीक्षण भइरहेकाले यसलाई अहिले गोप्य नै राखिएको छ,’ केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक नीरजबहादुर शाहीले भने ।

विषेशगरी सिआईबी र प्रहरी टोली सिन्धुपाल्चोक सिन्धुलीस्थित बम्जनको आश्रममा केन्द्रित छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यक पर्दा केन्द्रीय अनुसन्धान ब्युरो र केन्द्रका अन्य प्रहरी युनिटले सिन्धुपाल्चोक र सिन्धुली प्रहरीलाई सहयोग गरिरहेका छन् । प्रहरीले अनुसन्धानका लागि डिएसपीको नेतृत्वमा अनुसन्धान टोली बनाएको छ ।

rambahadur-bamjan-newskarobar

प्रयोगशालामा के आयो रिपोर्ट ?
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले डिएसपीको कमान्डमा ४५ प्रहरीलाई खटाएर बम्जनको बाँडेगाउँमा रहेको आश्रममा छानबिन गरेको थियो । प्रहरीले ८० रोपनी क्षेत्रफलमा फैलिएको बाँडेगाउँ आश्रमका साथै आसपासका ५ सय मिटर क्षेत्रफलमा खोजी गरेको थियो । आश्रमबाट केही शंकास्पद वस्तु संकलन गरेर विधि विज्ञान प्रयोगशालामा पनि पठाएको थियो । तीन वस्तुको प्रयोगशालामा परीक्षण गरी त्यसबाट प्राप्त प्रमाणका आधारमा थप अनुसन्धान अगाडि बढाइएको छ ।

प्रहरीले धेरै समयपहिले भएको घटना र धेरै प्रमाणसमेत नष्ट भएको जनाउँदै अनुसन्धानको रिपोर्ट गोप्य राखेको छ । ‘बेपत्ता भएको भनेर उजुरी परेका व्यक्तिलाई आश्रममै हत्या गरेर शव गाडिएको र कंकाल जलाएको आशंका छ,’ एक प्रहरी अधिकारीले न्युज कारोबारसँग भने, ‘यो रहस्यमयी घटनाको गहिरोसँग अनुसन्धान भइरहेको छ ।’

आश्रममा रहेका अनुयायीको बयानमा समेत भिन्नता देखिएकोले बम्जन आश्रमभित्र व्यक्ति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । ठोस प्रमाण फेला नपरे पनि पक्राउ परेका दुई जनाको बयानबाट समेत प्रहरीले घटनाबारे धेरै प्रमाण पत्ता लगाएको जनाएको छ । ठोस प्रमाण फेला नपरेकाले हालसम्म प्रहरीले बम्जनसँग सोधपुछ नगरेको वा नियन्त्रणमा नलिइएको जनाएको छ ।

rambahadur-bamjan-newskarobar

बम्जनको आश्रमबाट पाँचजना बेपत्ता
बम्जनको आश्रमबाट पाँचजना बेपत्ता भएको उजुरी परेको छ । २०६९ देखि २०७२ सालको बीचमा चारजना अनुयायी हराएको निवेदनउपर अनुसन्धान भइरहेका बेला केही दिनअघि पाँचौं व्यक्ति पनि बेपत्ता भएको निवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय सोम्नी बोटेले आफ्नी २९ वर्षीय छोरी रिता बोटे खोजिदिन भन्दै गएको बुधबार निवेदन दिएकी छन् ।

यसअघि बारामा सुरेश आलेमगर, मकवानपुरमा सञ्चलाल वाइबा र फूलमाया रुम्बा (पासाङ) र नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाइने चिनिमायाँ तामाङ हराएको भन्दै खोजिदिन आफन्तले निवेदन दिएका थिए । बम्जन आश्रमबाट पाँचजना मात्र बेपत्ता भएको उजुरी परे पनि अझै अरु केही बेपत्ता भएका वा पीडित भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

हेटौंडा उपमहानगरपालिकाका सञ्चलाल वाइबा २०७१ चैत १४ देखि गायब छन् । छोरा महेन्द्रले दिएको निवेदनमा सञ्चलाल सिन्धुपाल्चोक आश्रमबाट हराएका हुन् । यस्तै, सिन्धुपाल्चोक आश्रमबाटै फूलमाया रुम्बासमेत हराएको भन्दै खोजिदिन भाइ विजयले निवेदन दिएका छन् । उनले दिदी सम्पर्कविहीन भएकाले खोजिदिन भन्दै निवेदन दिएका हुन् ।

rambahadur-bamjan-newskarobar

यस्तै, ३४ वर्षीय छोरा सुरेश आलेमगर हराएको भन्दै बारा प्रहरी र जिल्ला प्रशासनमा बुवा हस्तबहादुर आलेले निवेदन दिएका छन् । नुवाकोट मेघान गाउँपालिकाकी चिनिमायाँ तामाङ २०६९ सालमा घर आएकी थिइन् । चुल्मा र कर्मा भनेर बोलाइने उनी तपस्वी बम्जनको आश्रममा आनी थिइन् । नुवाकोटबाट सिन्धुली जान हिँडेकी उनी त्यसयता सम्पकविहीन छिन् ।

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु