गृहपृष्ठ अब प्रदेश राजधानी विराटनगरबाटै श्रम स्वीकृति
अब प्रदेश राजधानी विराटनगरबाटै श्रम स्वीकृति
श्रम स्वीकृति लिँदै चौबिसेका विजय खड्काले भने– आज मलाई गाउँमै सरकार भएको अनुभूति भयो
बुधबारबाट औपचारिक रुपमा प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाटै श्रम स्वीकृति दिन थालिएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुधबार आयोजित वैदेशिक रोजगार डेस्कको उद्घाटन कार्यक्रममा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले धनकुटाको चौबिसे गाउँपालिका–५ का विजय खड्कालाई पहिलोपटक श्रम स्वीकृति दिँदै शुभारम्भ गरे ।
कार्यक्रममा मन्त्री घिमिरेले गाउँमै सरकारको अनुभूति दिलाउन काठमाडौंमा मात्र केन्द्रित रहेको श्रम स्वीकृति विराटनरबाट पनि सुरु गरिएको बताए । यसले सेवाग्राहीको समय र पैसा दुवैको बचत भएको उनको भनाइ छ । ‘काठमाडौंबाट मात्र श्रम स्वीकृतिको व्यवस्था हुँदा सेवाग्राहीले विभिन्न झन्झट व्यहोर्दै आउनुपरेको थियो,’ उनले भने, ‘बुधबारबाट औपचारिक रुपमा श्रम स्वीकृति विराटनगरबाटै प्रदान हुन थालेपछि सेवाग्राहीले अब झन्झटरहित सेवा पाउनेछन् ।’
वैदेशिक रोजगारीमा जाँदा सीप र भाषाको ज्ञान हुनुपर्ने भन्दै उनले प्रदेश सरकारले प्रदेशभरका ९ हजार युवायुवतीका लागि चाँडै सीपमूलक तालिम आयोजना गर्न लागेको जानकारी दिए । तालिम वैदेशिक रोजगारीमा जान चाहने तथा बेरोजगारका लागि उपयुक्त रहेकाले उत्साहजनक सहभागिता जनाउन उनले आग्रह पनि गरे ।

कार्यक्रममा पहिलो पटक विराटनगरबाट श्रम स्वीकृति पाएका धनकुटाको चौविसे गाउँपालिका–५ का विजय खड्काले आफ्नै राजधानीबाट पहिलोपटक श्रम स्वीकृति लिन पाउँदा निकै खुसी लागेको बताए । उनले काठमाडौंको झन्झटिलो प्रक्रिया सम्झँदा आफ्नै ठाउँबाट श्रम स्वीकृति लिन सहज तथा समय र पैसाको बचत भएको बताए । ‘आज मलाई वास्तवमा गाउँमै सरकार भएको अनुभूति भएको छ, निकै हर्षित छु,’ उनले भने ।
कार्यक्रममा श्रम कार्यालय विराटनगरका प्रमुख सविता दाहालले आजबाट प्रदान गर्न थालिएको श्रम स्वीकृति पहिलो चरणमा विदेश गएर विदामा आएकाहरुका लागि हुने जानकारी दिइन् । उनले पहिलो चरणमा विराटनगर कार्यालयबाट विदेश गएर बिदा मनाउन आएकाहरुका लागि पुनः सोही मुलुक र काम गर्ने सोही कम्पनीमा जानका लागि श्रम स्वीकृति दिइने जानकारी दिइन् । उनले भनिन्, ‘पहिलो चरणमा हामीलाई दिइएको अधिकारअनुसार हामी विदेश गएर बिदामा आएकालाई त्यही देश र कामका लागि स्वीकृति दिनेछौँ । संघीय सरकारको तयारीअनुसार नयाँ स्वीकृतिका सम्पूर्ण काम पनि केही समयपछि यहीँबाट हुनेछ ।’
प्रकाशित समय १३:०३ बजे

















