गृहपृष्ठ उपयुक्त विकल्प नआए सरकार आफैले निजगढ विमानस्थल बनाउने

उपयुक्त विकल्प नआए सरकार आफैले निजगढ विमानस्थल बनाउने

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ विमानस्थलको निर्माण मोडालिटीबारे छलफल र बहस जारी रहेका बेला उपयुक्त विकल्प नआए सरकार आफैले आयोजना अघि बढाउने भएको छ ।

नेपाल इञ्जिनयिर्स एसोसिएसनले आयोजना गरेको ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान आवश्यकता र औचित्य’ विषयक अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय दाताको खोजी भइरहे पनि विश्वासिलो आधार नभए सरकार आफैले काम अघि बढाउने उल्लेख गरेका हुन् ।

मन्त्री अधिकारीले निजगढ विमानस्थल निर्माणको मोडालिटीबारे चरणबद्ध छलफल चलिरहेको भन्दै आगामी तीन महीनाभित्र निर्माणको टुंगो लाग्ने जानकारी दिए । मुख्य पूर्वाधार रोकेर देशअगाडि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री अधिकारीले वातावरणकै विषयको विवादले विमानस्थल निर्माणलाई अवरोध गर्न नहुने धारणा राखे ।

‘निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले निजगढ विमानस्थलको आवश्यकता पूरा हँुदैन’, अधिकारीले भने, ‘निजगढ विमानस्थल नै सबैभन्दा बढी प्राथमिकताको आयोजना हो अरू आयोजना अघि बढेसँगै प्रगति पनि हासिल गरेका छन् तर महत्वपूर्ण प्राथमिकताको आयोजना नै गति नलिनुले गम्भीर बनाएको छ ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर जगदीशचन्द्र पोखरेलले विकास र आर्थिक समृद्धिका हिसाबले निजगढ विमानस्थल उपयुक्त विकल्प भएकाले कमभन्दा कम वातावरणीय क्षति हुने गरी आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिए ।

पूर्वाधारविद् डाक्टर सूर्यराज आचार्यले दीर्घकालीन महत्वको आयोजना हतारमा निजी क्षेत्रलाई दिन नहुने भन्दै आयोजना निर्माण अघि बढाउन रणनीतिक वातावरणीय प्रभाव मूल्यांकन गरिनुपर्ने बताए ।(रासस)

प्रकाशित समय ०७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु