गृहपृष्ठ चाकडीको पक्षमा सरकार छैन : प्रधानमन्त्री
चाकडीको पक्षमा सरकार छैन : प्रधानमन्त्री
सेलिब्रेटी स्वभावकाले अनुचित टिप्पणी गरे
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र सुशासनका लागि प्रहरीको महत्वपूर्ण भूमिका हुने बताएका छन् । प्रहरी निरीक्षक आधारभूत तालीमको १७८ औं समूहको दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दीक्षित प्रहरी निरीक्षकलाई अनुशासनमा बस्न र मातहतकालाई अनुशासनमा राख्न आग्रह गरे ।
सानालाई दलाउने र माथिकाको दलाली गर्ने काम बन्द गर्न प्रधानमन्त्रीको सुझाव थियो । प्रहरी दलालीका लागि होइन स्वाभिमानपूर्ण कर्तव्यपरायण देखाएर सेवा गर्नका लागि हो भन्दै उनले बढुवा हुनका लागि कसैलाई रिझाउनु र कसैकहाँ धाउनु नपर्ने बताए ।
‘प्रहरी सङ्गठनका जिम्मेवार अधिकारीलाई म भन्न चाहन्छु,’ उनले भने, ‘कार्यसम्पादनका मूल्याङ्कन वा बढुवाका लागि न्यायोचित प्रणाली स्थापना गर्नुहोस, कुनै पनि तरिकाको पक्षपात, भेदभाव, कोसेली, चाकडीको पक्षमा सरकार छैन ।’
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जको ठाउँ साँघुरो भएकाले सबै क्रियाकलाप एकै ठाउँमा गर्न फराकिलो स्थानमा प्रहरी स्थानान्तरण गर्ने तयारी गरिएको प्रधानमन्त्रीले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘धेरै वर्ष अगाडिदेखि यो ठाउँ साँघुरो भयो भन्ने वास्तविक आभास थियो, यहाँबाट पनौती लाने भनेर जमीन खरीद गरिएको र दशौं वर्षअघि भारतले समेत एकेडेमी बनाउने भनेको थियो, अहिले यसमा कतिपय हल्ला गर्न रुचाउने सेलेब्रेटी स्वभावले अनुचित खालका टिप्पणी गरे ।’
कतिपयले राष्ट्रपतिले यहाँबाट प्रहरीलाई लखेट्न खोज्या हो कि जस्तो गरेर गलत प्रचार गरेको आरोप लगाए । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जको ठाउँ साँघुरो भएकाले सबै क्रियाकलाप एकै ठाउँमा गर्न फराकिलो स्थानमा प्रहरी स्थानान्तरण गर्ने तयारी गरिएको उनको भनाई थियो ।
प्रकाशित समय १८:२५ बजे

















