गृहपृष्ठ फेवातालबाट ३५ हजार घनमिटर माटो निकालियो

फेवातालबाट ३५ हजार घनमिटर माटो निकालियो

पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको बंगलादी क्षेत्रबाट पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिएको छ ।

फेवाताल संरक्षणको अभियानअन्तर्गत करिब दुई साताअघि फेवातालको माटो निकाल्ने कार्य सुरु गरेको पोखरा महानगरपालिकाले पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालेको हो ।

तालको भागमा खहरेखोलाले ल्याएको ढुंगा, माटो स्थानीय र प्रदेश सरकारको पहलमा निकालिएको हो । उक्त ढुंगा, माटो क्याम्पिङचोक र केदारेश्वर मन्दिरको क्षेत्रमा व्यवस्थापन गरिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले जानकारी दिए ।

पोखरा महानगरपालिका फेवाताल संरक्षण आयोजना प्रमुख इन्जिनियर महेन्द्र गोदारले फेवातालमा करिब ८ हजार ५ सय रोपनी क्षेत्रफल पानीको भाग रहेको बताए । महानगरले यस वर्ष फेवाताल संरक्षणको लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेकोले तालसंरक्षण अभियान अन्तर्गत तालको माटो निकाल्ने, चेक ड्याम बनाउने, फोहोर बस्तु तालमा मिसावट हुने कार्यलाई नियन्त्रण गर्ने लगायतका काम गर्नेछ ।

फेवातालको करिब २० हजार रोपनी क्षेत्रफलबाट हाल १२ हजार रोपनी क्षेत्रफलमा खुम्चिन पुगेको पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले बताए ।

प्रकाशित समय ११:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु