गृहपृष्ठ पानीजहाज कार्यालय खुल्यो
पानीजहाज कार्यालय खुल्यो
दोस्रोपटक प्रधानमन्त्री भएको बर्ष दिन पुगेको अवसरमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । नेपालमा पानीजहाज आउने र नेपालको झण्डा भएको पानीजहाज समुद्रमा चल्ने टुंगो नभए पनि कार्यालय भने खोलिएको हो । एकान्तकुनामा पानीजहाज कार्यालयको स्थापना गरिएको छ ।
पानीजहाज सञ्चालनका लागि सरकारले २०७७ सालको चैत मसान्तसम्मका लागि कार्ययोजना बनाएको छ । बिहीबार पानीजहाज कार्यालय स्थापना गरे पनि २०७७ चैत मसान्तसम्म कार्यदल बनाएर नेपाल जलयातायात प्राधिकरण स्थापना गर्ने, जल यातायात प्राधिकरण ऐन र नियमावली तर्जुमा गर्ने कार्ययोजना बनाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहने कार्यालयमा सहसचिव नेतृत्वमा १६ कर्मचारीको दरबन्दी छ । पानीजहाज चलाउनुअघि आवश्यक गृहकार्य गर्नुपर्ने भएकाले कार्यालय स्थापना र कर्मचारी खटाउने काम भएको सरकारको भनाइ छ । अहिले कार्यालय राख्ने, कर्मचारी खटाउने, आवश्यक गृहकार्य गर्नेसहितको कामको प्रक्रिया अगाडि बढाउनको लागि कार्यालयको स्थापना गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषदको पुस ३० गते बसेको बैठकले पानीजहाज कार्यालय खोल्ने निर्णय गरेको थियो । सोही अनुसार कर्मचारीको दरबन्दी सिर्जना ग्रिएको हो ।
पानीजहाज सञ्चालनबारे योजना बनाउन संलग्न जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेका अनुसार भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगानदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउन थालेको छ । नेपालले पनि नारायणी नदीमा केन्द्रित भएर योजना बनाइरहेको छ । भारतले आफ्नो सीमाभित्रमा एक वर्षमा पूर्वाधार बनाउने र नेपालले त्यसकै सहयोगले पानीजहाज चलाउने सरकारको योजना छ ।
गंगा नदीबाट नारायणी नदी हुँदै नेपालसम्म आइपुग्ने गरी पानीजहाज चलाउने तयारी हो । यो पानीजहाजलाई नारायणी नदीको दासढुंगासम्मनै ल्याउन सकिने अध्ययन टोलीको ठहर छ । पहिलो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका राष्ट्रिय झण्डासहितका पानीजहाज महासागरमा चलाउने घोषणा गरेका थिए ।
प्रकाशित समय १२:१९ बजे

















