गृहपृष्ठ मदिराका कारण हुन्छ मानव अधिकारको उल्लंघन
मदिराका कारण हुन्छ मानव अधिकारको उल्लंघन
कर्णालीमा तीन सय ५३ महिला र एक सय ४९ पुरूष ज्यादतीबाट पीडित
भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले मानव अधिकार उल्लंघनको मुख्य कारण मदिरा रहेको भन्दै यसको नियन्त्रणको लागि पहल गर्नुपर्ने बताएकी छन् ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा अनौपचारिक सेवा केन्द्र कर्णाली प्रदेशले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उनले यस्तो बताएकी हुन् । मदिराकै कारण महिलामाथि हिंसाका घटना हुनुको साथै बालिकाहरु बलात्कारको सिकारमा हुनुपरेको उनले बताईन् ।
‘मानव अधिकारको बाधक नै मदिरा हो,’ मन्त्री केसीले भनिन्, ‘यसले गर्दा हिंसाको अवस्था विकराल भएको छ ।’
नेपालले मानव अधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धीहरुमा हस्ताक्षर गरे पनि यसको कार्यान्वयन हुन नसक्दा यस्ता ज्यादतीका घटनाहरु घटेको उनले बताईन् ।
कर्णालीमा चार सय बढी ज्यादती
एक वर्षको अवधिमा कर्णाली प्रदेशमा चार सय बढी मानव अधिकार उल्लघन र ज्यादतीका घटना घटेका छन् । राज्य पक्ष र अन्य पक्षबाट गरी पछिल्लो एक वर्षको अवधिमा चार सय ५३ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु घटेका छन् ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै इन्सेकले यस्ता घटनामा बढी महिलाहरु प्रभावित भएको जनाएको छ । घटनाबाट तीन सय ५३ जना महिला पीडित भएका छन् भने पुरुषको संख्या एक सय ४९ जना रहेको छ ।
ईन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले एक वर्षको अवधिमा सबैभन्दा बढी महिला अधिकार सम्बन्धीका घटनाहरु रहेको जानकारी दिए । उनका अनुसार महिला अधिकार सम्बन्धी दुई सय ५७, बाल अधिकार सम्बन्धी ८७, कुटपिटका ४७ वटा घटनाहरु घटेका छन् ।
त्यसै गरी घटनाबाट घाइते ६ जना, अमानवीय व्यवहारबाट चार जना पीडित, जातीय विभेदबाट १४, धम्कीबाट १० जना पीडित भएका छन् भने २७ जनाको हत्या भएको छ ।
प्रकाशित समय १३:११ बजे

















