गृहपृष्ठ ज्येष्ठ नागरिक भन्छन्- दिवा सेवामा नआए दिन काट्नै मुस्किल
ज्येष्ठ नागरिक भन्छन्- दिवा सेवामा नआए दिन काट्नै मुस्किल
‘दिवा सेवा केन्द्र हाम्रा लागि खुसी साट्ने र दुःख भुलाउने थलो भएको छ’
वीरेन्द्रनगर नगरपालिका-८ आवासक्षेत्रका ७२ वर्षीय गंगाराम भट्टराई हरेक दिन बृद्ध सेवा केन्द्रमा आउँछन् । उनी जेष्ठ नगारिक दिवा सेवा केन्द्रका संयोजक पनि हुन् ।
विगत आठ वर्षदेखि दिवा सेवा केन्द्रमा आउँदै गरेका गंगारामलाई शनिबार भने सेवा केन्द्रमा अन्य दिन भन्दा नरमाईलो लाग्छ ।
उनलाई शनिबार पनि दिवा सेवा केन्द्र सञ्चालनमा आएको भए हुन्थ्यो झैं लाग्छ । दिनभर साथीहरुसँग भजन-कीर्तन, नाँचगान, पुजापाठ, गरेर मनको अशान्तिलाई पखाल्ने काम दिवा सेवामा हुने गरेको गंगाराम बताउँछन् ।
‘हाम्रा लागि यो एउटा खुसी साट्ने र दुःख भुलाउने थलो भएको छ,’ ७२ वर्षय गंगारामले न्युज कारोबारसँग भने, ‘दिनभर भगवानको नाममा भजन-कीर्तन गरी साथीहरुसँग दुःख सुखका कुरा साटासाट गरिन्छ ।’
विहान घरमा खाना खाइसकेपछि दिनभर यहि दिवा सेवा केन्द्रमा आएर दिउँसो ३ बजेसम्म बस्दै गरेको पनि ८ वर्ष भइसकेको उनले बताए ।
‘यहाँ आइएन भने दिन कसरी बिताउने होला ? भन्ने चिन्ता लाग्छ,’ उनले भने, ‘यो हामी वृद्धहरुका लागि खुसी साट्ने थलो बनेको छ ।’
गंगारामकै जस्तो कथा छ, वीरेन्द्रनगर-७ की कौशिला सुवेदीको पनि । सुवेदी पनि दिवा सेवा केन्द्र स्थापना भएदेखि नै केन्द्रमा आउन थालेकी हुन् । उनलाई पनि दिवा सेवा केन्द्रमा आउन पाएन भने दिनभरी नरमाईलो लाग्छ ।
७४ वर्षीय सुवेदीका परिवारमा विवाहित छोरीबाहेक अरु कोहि नभएकोले पनि उनलाई दिन बिताउने र मन भुलाउने गतिलो ठाउँ बनेको छ- ज्येष्ठ नागरिक दिवासेवा केन्द्र ।
‘हामीजस्ता वृद्ध वृद्धाका लागि यस्ता खालका दिवासेवा केन्द्र स्थापना भएका छन्,’ सुवेदीले न्युज कारोबारसँग भनिन्, ‘यस्ता दिवा सेवा केन्द्र हरेक गाउँगाउँमा जानुपर्छ, जसले गर्दा वृद्ध वृद्धाहरुलाई शान्ति मिल्छ ।’

गंगाराम र कौशिला त प्रतिनिधि पात्र मात्र हुन् । दिवा सेवा केन्द्रमा आउने र मन बहलाउने ज्येष्ठ नागरिकहरू सबै नै केन्द्रमा आउन पाउँदा रमाइलो मान्छन् र नपाउँदा दिन कटाउँनै गाह्रो भएको महसुस गर्छन् ।
वीरेन्द्रनगर नगरपालिकाका करिब पचास जना भन्दा बढी जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा आउने गर्दछन् । वि.सं. २०६६ सालमा वृद्ध सेवा केन्द्र समिती गठन गरी जेष्ठ नागरिक दिवा सेवा सञ्चालनमा आएको समितिकी अध्यक्ष डम्मर आचार्यले बताईन् ।
वीरेन्द्रनगर-८ आवास क्षेत्रमा रहेको यो केन्द्र सञ्चालनका लागि वीरेन्द्रनगर नगरपालिकाले सहमति दिएको उनले बताइन् ।
‘हामीले नगरपालिकाको सहमतिमा वीरेन्द्रनगर नगरपालिकाको भवनमा दिवा सेवा सञ्चालन गरेका हौं । उपत्यका नगर विकासले नगरको वडाका लागि दिएको भवन नगरले जेष्ठ नागरिक दिवा सेवा सञ्चालनका लागि सहमती दिएको छ । तर हाम्रो आफ्नै भवन र जग्गा छैन,’ समितिकी अध्यक्ष आचार्यले न्युज कारोबारसँग भनिन् ।
दिवा सेवामा शनिबारबाहेक हप्ताका ६ दिन दिनको १० बजेदेखि ३ बजेसम्म ज्येष्ठ नागरिकहरु आउने गर्दछन् । चिया खाजाको लागि केही संघसंस्थाहरुले र नगरपालिकाले समेत सहयोग गर्दै आएको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका संयोजक गंगाराम भट्टराईले बताए ।
भजन-कीर्तन गर्ने, गीता रामायणका किताब पढ्ने, सुखदुखका कुरा गरेर दिन बिताउन यो सेवा केन्द्र उत्तम भएको ८३ वर्षीय लिलावती बाँस्कोटाले बताइन् । केन्द्रमा वीरेन्द्रनगरका बांगेसिमल, धुलीयाबिट, लाटिकोईली लगाएतका ठाउँबाट जेष्ठनागरिकहरु आउने गरेका छन् ।
प्रकाशित समय १३:४२ बजे
















