गृहपृष्ठ मोरङको जहदाका सुकुम्बासीलाई सोलार बत्ती
मोरङको जहदाका सुकुम्बासीलाई सोलार बत्ती
प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिकासँगै जोडिएर पनि विद्युत नपुग्दा अँध्यारोमा जीवनयापन गर्दै आएका मोरङको जहदा गाउँपालिकाको सुकुम्बासी बस्तीमा सोलार मिनिग्रीड सञ्चालनमा ल्याइएको छ ।
मिनिग्रिड सञ्चालनमा आएपछि ८० सुकुम्वासी परिवारले आफूहरुको जीवनमा उज्यालो आएको महसुस गरेका छन् । मोरङको जहदा गाउँपालिकाको वडानम्बर २ र ७ मा सोलार मिनीग्रिड सञ्चालनमा आएपछि ती क्षेत्रका सुकुम्बासी सन्थाल परिवारमा खुसी छाएको छ ।
बिजुली बत्तीको अभावमा अँध्यारोमा कष्टपूर्ण जीवन व्यतीत गर्दै आएका उनीहरुको घरघरमा यतिखेर परियोजनाबाट उत्पादित सोलार बत्ती जडान भएको छ । संघीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि रेनो मायरले परियोजनाको औपचारिक शुभारम्भ गरेका हुन् ।
सो ठाउँमा जहदा गाउँपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रमार्फत निर्मित सौर्य ऊर्जा मिनिग्रिड परियोजना सञ्चालनमा ल्याइएको हो ।
८० लाखको लगानीमा वडानम्बर २ मा ५ किलोवाट र वडानम्बर ७ मा ८ किलोवाटको मिनिग्रिड संचालनमा ल्याइएको छ । परियोजना संचालनमा आएपछि जहदा गाउँपालिका २ बीरपुरका ५० घर र जहदा ७ सिर्सियाका ३० घरसमेत गरेर ८० सन्थाल परिवार लाभान्वित भएका छन् । १ हजार रुपैयाँ धरौटी राखेपछि ती परिवारहरुले सोलारबाट उत्पादन हुने विद्युत उपभोग गर्न पाएका हुन् ।
सोलारबाट लाइन जडान गरेका सुकुम्बासी परिवारले प्रतिपरिवार ४ वटा बल र एउटा पंखा चलाउनका साथै रेडियो तथा अन्य विद्युतीय उपकरणसमेत चलाउन पाउने भएका छन् । त्यसबापत उनीहरुले २० युनिटको एकसय रुपैयाँ भुक्तान गर्नुपर्नेछ ।
प्रकाशित समय १२:५७ बजे

















