गृहपृष्ठ कसले जित्ला प्रथम बेलका हरियाली गोल्डकपको उपाधि ?
कसले जित्ला प्रथम बेलका हरियाली गोल्डकपको उपाधि ?
मोरङको बिन्दबासीनी क्लब र उदयपुरको गाइघाट फुटबल क्लबबीच प्रतिस्पर्धा हुुने
उदयपुरमा जारी ‘प्रथम बेलका हरियाली गोल्डकप २०७५’ को उपाधिका लागि मोरङको बिन्दबासीनी क्लब र उदयपुरको गाइघाट फुटबल क्लबबीच प्रतिस्पर्धा हुुने भएको छ । बेलका नगरपालिका–२ स्थित भागलपुर रंगाशालामा शनिबार दिउँसो १ बजे फाइनल खेल सुरु हुने छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुलीले फागुन १८ मा उद्घाटन गरेको गोल्डकपको समापनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट उपाध्यक्ष पिताम्बर तिमल्सिना बेलका जाँदैछन् ।
उपाधिका लागि मैदान उत्रन लागेका दुबै टोलीको यसअघिको प्रदर्शनले फाइनल भिडन्त रोचक हुने निश्चित छ । डिफेन्स राम्रो भए पनि फिनिसिङमा कमजोर देखिएको गाइघाटलाई हराउने दाउमा बिन्दबासिनी हुने छ भने गाइघाट पनि यसअघिका कमजोरी सुधार्दै बिन्दबासिनीलाई पराजित गर्ने मौकालाई गुमाउने पक्षमा छैन ।
बिन्दबासिनी क्लबले आफ्नो पहिलो खेलमा महाकाली युवा क्लब, सर्लाहीलाई ३–१ र दोस्रो खेलमा राष्ट्रिय जाग्रिती क्लब, सुनसरीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरी उपाधि यात्रा तय गरेको हो । यता, गाइघाट फुटबल क्लबले पनि पहिलो खेलमा न्यु त्रियुगा फुटबल क्लब, सप्तरीलाई ३–१ र दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ पूर्वाञ्चललाई १–० ले हराएर फाइनल भिडन्त सुनिश्चित गरेको हो ।
प्रतियोगिताको विजेताले २ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले १ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक बेलका नगरपालिका युवा तथा खेलकुद समितिकी अध्यक्ष सीता राईले जानकारी दिईन् ।
नगरको हरियाली खेल मैदानलाई संरक्षण र प्रबर्द्धन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले ‘हरियाली’ जोडेर आयोजना गरिएको गोल्डकपले बेलकामा खेल क्षेत्रका नवप्रतिभाको पहिचान गरी उनीहरुको क्षमता अभिवृद्धि गर्ने, युवाहरुलाई लागू औषध, कुलतमा फँस्नबाट रोक्ने र व्यावसायिक खेलाडी विकासमा मद्दत पुर्याउने आयोजकको विश्वास छ ।
प्रकाशित समय १६:२७ बजे

















