गृहपृष्ठ विश्वकप क्रिकेट : इंग्ल्यान्ड शीर्षस्थानमा, मोर्गनको उत्कृष्ट ब्याटिङ
विश्वकप क्रिकेट : इंग्ल्यान्ड शीर्षस्थानमा, मोर्गनको उत्कृष्ट ब्याटिङ
एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई फराकिलो अन्तरले हराएको छ ।
मंगलबार राति सकिएको खेलमा अफगानिस्तानलाई इंग्ल्यान्डले १ सय ५० रनले पराजित गरेको हो । इंग्ल्यान्डले जारी विश्वकपमा अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४७ रन मात्र बनाउन सक्यो ।
अफगानिस्तानका लागि हशमतुल्लाह शाहिदिले सर्वाधिक ७६ रनको योगदान गरे पनि जित दिलाउन भने सकेनन् । रामत शाहले ४६ रन बनाए । अस्गर अफगानले ४४ रनको योगदान दिए । अफगानिस्तानका अन्य ब्याट्सम्यानको प्रदर्शन भने बिर्सनलायक रह्यो ।
कप्तान गुलबदीन नाइबले ३७ रनको योगदान दिए । मोहम्मद नाबी ९, नजिव हुल्लाह १५ र राशिद खान ८ रनमा आउट भए । इंग्ल्यान्डका लागि आदिल राशिद र जोफ्रा आर्चरले ३–३ विकेट हात पारे । मार्क उडले २ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ९७ रन बनाएको थियो । विश्वकपमा इंग्ल्यान्डले बनाएको यो उच्च योगफल हो । कप्तान इयान मोर्गनले उत्कृष्ट प्रर्दशन गरे । मोर्गनले मात्र ७१ बलमा १७ छक्का र ४ चौका सहित १ सय ४८ रनको योगदान गरे । योसँगै मोर्गन एकै खेलमा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् ।
जो रुटले ८८ रन बनाए । जोनी बेयरस्टोले ९० रनको योगदान दिए । ओपनर जेम्श भिन्स २६ रनमा आउट भए । बेन स्टोक्स र जस बटलरले समान २–२ रन बटुले । मोइन अली ३१ रनमा अविजित रहे । अफगानिस्तानका लागि कप्तान गुवदीन नाइब र दलावत जदरानले समान ३–३ विकेट लिए ।
जितसँगै इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । अष्ट्रेलिया समान ८ अंक भएपनि नेट रन रेटले पछि पर्दै दोस्रो स्थानमा छ । न्युजिल्यान्ड तेस्रो र भारत चौथोमा छन् ।
प्रकाशित समय ०७:३० बजे

















