गृहपृष्ठ फिर्मिनोका कारण ३ गोलले पाएन मान्यता, ब्राजिल बराबरीमा रोकियो
फिर्मिनोका कारण ३ गोलले पाएन मान्यता, ब्राजिल बराबरीमा रोकियो
कोपा अमेरिका फुटबलमा घरेलु टोली ब्राजिल भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ ।
ब्राजिलले तीन पटक पोस्टभित्र बल छिराएपनि मान्यता पाएन । ३९ औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गरेपनि डिफेन्डर भिलानुएभामाथि फल भएपछि रेफ्रीले मान्यता दिएनन् । ६० औं मिनेटमा फरवार्ड ग्यब्रिएल जेससले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई फिर्मिनोले रोक्दै रिबाउन्डमा जेससले नै गोल गरेका थिए । तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा रेफ्रीले फिर्मिनो अफसाइड रहेको निर्णय सुनाए ।
खेलको तीन मिनेट बाँकी रहँदा कोउटिन्होले गोल गरेपनि उक्त गोलले पनि मान्यता पाएन । एभरटनको पासमा कोउटिन्होले गोल गरेपनि रेफ्रीले भीएआरकै सहायतामा मान्यता दिएनन् । सो मुभमा पनि फिर्मिनो बाधक बने । उनको हातले बलमा छोएको भेनेजुएलाका खेलाडीहरुको अपिलमा भिएआरको सहायता लिइएको थियो ।
बराबरी खेले पनि ब्राजिल अंक तालिकामा १ खेलमा जित र १ बराबरीका साथ शीर्षस्थान कायमै छ ।
प्रकाशित समय ०८:५९ बजे

















