गृहपृष्ठ इंग्ल्यान्डलाई हराउँदै अमेरिका महिला विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई हराउँदै अमेरिका महिला विश्वकपको फाइनलमा

अमेरिकाले महिला विश्वकपको फाइनलमा स्थान बनाएको छ । इंग्ल्यान्डलाई २–१ गोलअन्तरले स्तब्ध पार्दै अमेरिका फाइनलमा प्रवेश गरेको हो । अन्तिम समयमा पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलबाटै बाहिरिनुपर्यो ।

मंगलबार राति भएको खेलमा सबै ३ गोल पहिलो हाफमा भएको थियो । खेलको १०औं मिनेटमा क्रिस्टियन प्रेसको गोलबाट अमेरिकाले अग्रता लियो । १९औं मिनेटमा इलेन ह्वाइटले गोल फर्काइन् । ३१औं मिनेटमा एलेक्स मोगार्नले गोल गर्दै अमेरिकालाई पुनः अग्रता दिलाईन् ।

दोस्रो हाफमा दुवै टोलीले गोलको मौका पाए पनि सदुपयोग गर्न सकेनन् । ६७औं मिनेटमा इंग्ल्यान्डले गरेको गोल भिएआरले मान्यता दिएन । ८४औं मिनेटमा इंग्ल्यान्डले बराबरी गोल गर्ने अर्को मौका खेर फाल्यो । प्राप्त पेनाल्टीलाई स्टेफनी होउटनले गोल गर्न सकिनन् । अमेरिकी गोलरक्षक अलयासा नेइहरले पेनाल्टी बचाइन् ।

दुई मिनेटपछि इंग्ल्यान्ड १० खेलाडीमा समेटियो । मिली ब्राइट दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिइन् । अर्काे सेमिफाइनलमा आज राति नेदरल्यान्डस् र स्वीडेनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित समय ०७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु