गृहपृष्ठ बिच भलिबलको ड्रेस अलि ‘भिन्न’ हुन्छ, अन्यथा नलिनुहोला : राखेप सदस्य

बिच भलिबलको ड्रेस अलि ‘भिन्न’ हुन्छ, अन्यथा नलिनुहोला : राखेप सदस्य

१३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत बिच भलिबल प्रतियोगिता हुने पोखरा- ६, लेकसाइडका स्थानीयवासीहरुसँग राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेश गुरुङले छलफल गरेका छन् । छलफलको क्रममा बिच भलिबल नेपालको लागि नौलो खेल भएकाले खेलाडीले लगाउने ड्रेससमेत अन्य खेलमा भन्दा फरक हुने हुँदा त्यसलाई अन्यथा नलिन पनि गुरुङले आग्रह गरे ।

पोखरा पर्यटकीय सहर भएकैकारण समेत फेवाताल किनारमा उक्त प्रतियोगिता गर्न लागेको उनले बताए । बिच भलिबल सम्पन्न गर्नको लागि अंग्रेजी वर्षमा भन्दा पनि भव्य रुपमा लेकसाइडलाई सजाउन उनले स्थानीयहरुसँग आग्रह गरे ।

‘यो राष्ट्रिय गौरवको मात्र कुरा होइन, गण्डकी प्रदेश र फेवातालको समेत गौरवको विषयको कुरा हो । यो सफल बनाउनु अब लेकसाइडवासीको जिम्मेवारी हो,’ गुरुङले भने । पोखरा रंगशाला निमार्णको लागि सरकारले एक अर्ब २८ करोड रकम विनियोजन गरेको र बिच भलिबलका लागि ५० लाख रुपैयाँ छुट्टिएको उनले सुनाए । लेकसाइडलाई सके सहिदचोकदेखि जरेवरसम्म नसके बैदामदेखि हल्लनचोकसम्म राष्ट्रिय झण्डा राखी झकिझकाउ बनाउन लेकसाइडवासी तथा व्यवसायीलाई उनले आग्रह गरे ।

लेकसाइडमा पर्यटकको बसाइ लम्बाउने योजनासमेत रहेको कारणले नै प्रतियोगिता गर्न लागिएको उनले बताए । मंसिर १६ गते हुने उद्घाटन समारोहमा समेत आफ्नो सांस्कृतिक वेषभूषासहित सहभागी हुन उनले आग्रह गरे । राष्ट्रिय झण्डासहित स्वागतद्वार निमार्ण गरे खेलाडीको मनोबल बढ्नुको साथै आफ्नो राष्ट्रप्रति गौरवसमेत बढ्ने उनले सुनाए ।

गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले बिच भलिबल सम्पन्न गर्न लेकसाइडवासी प्रतिबद्ध रहेको बताए । लेकसाइड सजाउनको लागि आफूले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्नेसमेत उनले प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, वडा ६ का अध्यक्ष जगत पहारीले लेकसाइडमा खेलाडी तथा अतिथि स्वागतको लागि वडामा रहेको आमा समूह, क्लब तथा संघसंस्थाहरुलाई आवश्यक समन्वय गरी प्रतियोगिता सफल बनाउने बताए । लेकसाइडलाई सागमय बनाउनको लागि मंसिर १३ गते वृहत सरसफाइ कार्यक्रमसमेत आयोजना गर्नको लागि कामदार समेत वडाको तर्फबाट खटाउने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा लेकसाइडमा मंसिर १९ देखि २२ गतेसम्म बिच भलिबल सञ्चालन हुने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।

प्रकाशित समय १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु