गृहपृष्ठ आर्चरीमा पाकिस्तान सहभागी नहुने, खेल भोलिदेखि सुरू हुँदै

आर्चरीमा पाकिस्तान सहभागी नहुने, खेल भोलिदेखि सुरू हुँदै

आर्चरी

पाकिस्तान अन्तिम समयमा आएर आर्चरीमा सहभागी नहुने भएको छ । पाकिस्तानले बुधबार मात्र यसबारे जानकारी गराएको छ । आर्चरीका खेलहरू बिहीबारदेखि सुरू हुँदैछ ।

पाकिस्तानले आन्तरिक कारण देखाउँदै सहभागी नहुने जानकारी गराएको नेपाल आर्चरी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए । उनका अनुसार अब नेपालसहित भुटान, श्रीलंका र बंगलादेश मात्र प्रतियोगितामा सहभागी हुनेछन् । विश्व आर्चरी महासंघले प्रतिबन्ध लगाएको भारत भने १३औं सागमा सहभागी नहुने भएको छ । अन्तिम समयमा दर्ता भएको भारतको आर्चरी टिमलाई साउथ एसियन ओलम्पिक काउन्सिलले सागमा सहभागी नगराउने निर्णय गरेको हो ।

भुटानका ९ जना खेलाडी प्रतियोगितामा सहभागी हुँदैछन् भने अन्य तीन देशका १६/१६ जना खेलाडीले आर्चरीमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको बिहीबार बिहान उद्घाटनपछि ‘र्‍याङिकङ राउण्ड’ सुरु हुने उपाध्यक्ष थकालीले बताए ।

उनका अनुसार टिम रिकर्भ (७० मिटर) महिला तथा पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । त्यसैगरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ गरी ५ स्वर्णसहित आर्चरीमा जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडी प्रतिस्पर्धामा उत्रँदैछन् ।

प्रतियोगितामा सहभागी खेलाडीहरुको विश्व आर्चरी महासंघले र्‍याङिकङ गर्ने भएको छ ।

प्रकाशित समय १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु