गृहपृष्ठ बार्सिलोना बराबरीमा रोकिँदा रियल म्याड्रिडलाई फाइदा
बार्सिलोना बराबरीमा रोकिँदा रियल म्याड्रिडलाई फाइदा
स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार रातिको खेलमा शिर्ष स्थानको बार्सिलोना सेभिल्लाको घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएको छ । बराबरीसँगै साविक विजेता बार्सिलोनाले ३० खेलमा ६५ अंक बनाएको छ ।
बार्साको पछिल्लो नतिजाले दोस्रो स्थानको रियल म्याड्रिडलाई भने फाइदा पुगेको छ । दोस्रो स्थानको रियल म्याड्रिडको २९ खेलमा ६२ अंक रहेको छ । रियल म्याड्रिडले आइतबार रियल सोसीडाडविरुद्ध जित हासिल गरे अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।
सेभिल्ला ३० खेलमा ५२ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा छ । खेलको १२औं मिनेटमै सेभिल्लाले अग्रता लिन राम्रो अवसर पाएको थियो । फ्रिकिकमा रिबाउन्ड भएको बललाई जुलेस कोउन्डेले गरेको प्रहार गोलरक्षकलाई बिट गर्दै पोस्टभन्दा थोरैले बाहिरियो । २१औं मिनेटमा कोउन्डेले नै मेस्सीको फ्रिकिकलाई गोललाइन अगाडिबाट हेडरमार्फत क्लियर गरे । २५ औं मिनेटमा बार्सिलोनाका मिडफिल्डर इभान राकिटिचले गरेको प्रहार पोस्टनजिकबाट बाहिरियो ।
६०औं मिनेटमा अनमार्क रहेका सेभिल्लाका लुकास ओकाम्पसको प्रहारले पोस्टको दिशा लिन सकेन । ७२औं मिनेटमा मेस्सीले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकलाई सेभिल्लाका गोलरक्षक भाच्लिकले विफल पारे । ८८औं मिनेटमा जोर्डी अल्बाको क्रसमा अनमार्क रहेका लुइस सुआरेजले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा गरेको प्रहार आकासियो । बार्सिलोनाको पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका सर्जियो रेगुइलोनले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार सिधै गोलरक्षक टेर स्टेगनको हातमा पुगेको थियो ।
इन्ज्युरी समयमा कोउन्डेले सुआरेजलाई फल गरेपछि खेलाडीबीच विवाद भएको थियो । रेफ्रीले बार्सिलोनाका सर्जियो बुस्केट्स र सेभिल्लाका फर्नान्डोलाई हात हालेपछि दुवैलाई पहेंलो कार्ड दिएका थिए ।


प्रकाशित समय १३:५७ बजे

















