गृहपृष्ठ रियल म्याड्रिडसँगको अंक दुरी छोट्याएपछि बार्सिलोनाको उपाधि सम्भावना जीवितै
रियल म्याड्रिडसँगको अंक दुरी छोट्याएपछि बार्सिलोनाको उपाधि सम्भावना जीवितै
एस्पान्योलमाथि १-० को कठिन जित निकालेपछि बार्सिलोनाले ला लिगाको उपाधि यात्रालाई जीवित बनेको छ । यो जितसँगै बार्सिलोनाले शिर्ष स्थानको रियल म्याड्रिडसँगको अंक दुरी १ मा छोट्याएको छ । जितसँगै बार्सिलोनाले ३५ खेलबाट ७६ अंक जोडेको छ ।
एक खेल कम खेलेको रियल म्याड्रिडको ७७ अंक छ । बार्सिलोनाको घरेलु मैदानमा बुधबार राति भएको खेलबाट नतिजा गुमाएसँगै एस्पान्योल २६ वर्षपछि दोस्रो डिभिजनमा झरेको छ । रेलिगेसनमा परेको एस्पान्योलको २४ अंक मात्र छ । बाँकी ३ खेल सबैमा जित हात पारे पनि एस्पान्योल रेलिगेसनबाट बच्ने छैन ।
५६औं मिनेटमा उरूग्वेली स्ट्राइकर लुइस स्वारेजले गरेको गोल बार्सिलोनाको जितका लागि पर्याप्त बन्यो । एन्टोइन ग्रिजमनको पासमा कप्तान लियोनेल मेस्सीको प्रहारलाई एस्पान्योलका गोलरक्षक डिएगो लोपेजले बचाए पनि राम्ररी नियन्त्रणमा लिन नसकेको बललाई स्वारेजले जाली चुमाए ।

दोस्रो हाफको सुरुमै दुवै टोली १० खेलाडीमा समेटिएको थियो । मैदान छिरेको चौथो मिनेटमै फर्नान्डो क्यालेरोलाई फउल गरेपछि बार्सिलोनाका अन्सु फाती रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसको तीन मिनेटपछि एस्पान्योल पनि १० खेलाडीमा समेटियो । जेरार्ड पिकेलाई फउल गरेका पानेल लोजानोलाई रेफ्रीले रातो कार्ड देखाउदै मैदानबाहिर पठाए ।
प्रकाशित समय १४:५६ बजे

















