गृहपृष्ठ सन्दीपले बिग बासमा शनिबार पहिलो खेल खेल्ने

सन्दीपले बिग बासमा शनिबार पहिलो खेल खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् । लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको संक्रमणका कारण यस यामका सुरुआतका छ खेल गुमाएका थिए ।

नेपालमै छँदै कोरोनाबाट संक्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित हुनु परेको व्यवस्थापक शिवाकोटीले जानकारी दिए । उनी बुधबार क्वारेन्टाइनमुक्त भएका हुन् । उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिग बासको तेस्रो स्थानमा रहेको छ ।

बिग बास खेल्न लामिछाने गत मंसिर ३० गते अष्ट्रेलिया गएका हुन् । क्वारेन्टाइन अवधि सकिएपछि उनी नियमित अभयासमा जुटेको व्यवस्थापक शिवाकोटीले बताए । लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरू हुने बताइएको छ । उनले तेस्रोपटक बिग बास लिग खेल्न लागेका हुन् । लामिछानेले यसअघि दुई यामको बिग बास मेलवर्न स्टार्सबाट खेलेका थिए  । ती दुई याममा उनले कुल २० खेल खेल्दै २६ विकेट लिएका थिए । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट संक्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र उनी अष्ट्रेलिया प्रस्थान गरेका थिए ।

प्रकाशित समय १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु