गृहपृष्ठ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : एपीएफलाई हराउँदै आर्मी च्याम्पियन
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : एपीएफलाई हराउँदै आर्मी च्याम्पियन
चौंथो संस्करण प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो । उपाधिसँगै आर्मीले १० लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ५ लाखमा चित्त बुझायो ।
कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो । अन्तिम चार बलमा ३ विकेट गुमाएपछि एपीएफ उपाधिबाट बन्चित भएको हो ।
एपीएफका आसिफ शेखले ७१ बलमा ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । यस्तै शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बनाए । सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर सुन्य रनमा आउट भए । सन्दीप जोराले २९ रन जोड्दा भुवन कार्की ९ रनमा आउट भए । कमल ऐरी २, अमर रौटेला १ र अविनास बोहोरा सुन्य रनमा आउट भए । आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३/३ विकेट लिए । सुशन भारीले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले । राजेश पुलामीले २८ रन बनाउदा लोकेश बमले १५ रन बनाए । यस्तै शाहब आलम २५ रन जोड्दै अविजित रहे । मध्यम सुरुवात गरेका आर्मीका सुशन भारी र रोहित पौडेल समान १३/१३ रन जोड्दा आउट भए । त्यस्तै अनिल मण्डल र बिक्रम शोब समान ११/११ रनमा आउट हुँदा कप्तान विनोद भण्डारी ७ रन जोडेर पेभेलियन फर्किए । एपीएफका अविनास बोहोराले २ मेडनसहित २५ रन खर्चिएर ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १/१ विकेट लिए ।
प्रकाशित समय १८:३८ बजे

















