गृहपृष्ठ फिफा वर्ल्ड कप, १९३० देखि २०१८
फिफा वर्ल्ड कप, १९३० देखि २०१८
रुसमा विश्वकप फुटबलकाे २१ अाैं संस्करण संचलन भइरहेको छ । सम्भवतः खेल जगतमा विश्वकप फुटबल सबैभन्दा बढी चर्चित र चासो व्यक्त गरिने खेल हो । र, यो उत्तिकै महंगो पनि छ । फिफा विश्वकपको आयोजना गर्दै प्रतिश्पर्धीहरुलाई आफ्नो देशमा स्वागत गर्नु चानचुने कुरा होइन ।
कुरा यस पटकको
यस पटक विश्वकप कसले जित्छ ? यो प्रश्न विश्वभरका फुटबल प्रेमीहरुको मनमा उठेको जिज्ञासा हो । भलै उनीहरुमध्ये कसैले यसको सोधखोजसहित निश्कर्ष निकालेका हुन्छन्, कसैले आपसमा छलफल गरेका हुन सक्छन् भने कसै–कसैले आँफैसंग सोधेका पनि हुन सक्छन् । तर, उनीहरुको प्रश्नको उत्तर फाइनल खेलको अन्तिम सेकेण्ड बाँकी रहँदासमेत नआउन पनि सक्छ ।
आउला ‘छुपा रुस्तम’ ?
जर्मनी, ब्राजिल, स्पेन, पोर्चुगल, अर्जेन्टिना जस्ता टिम जसलाई उपाधिको दाबेदार मानिन्थ्यो उनीहरुले समर्थकलाई उत्साही बनाउन सकेनन् । भलै ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, स्पेन बराबरीमा रोकिएका हुन् । तर, समूह चरणको खेलमा उपाधिका दाबेदार टोलीको कमजोर भनिएको प्रदर्शनलाई लिएर उनीहरुका समर्थकले ‘लक्षण राम्रो देखिएन’ भन्न थालिसकेका छन् । फुटबलका समर्थकहरु कुनै पनि प्रकारको कमी मनपराउँदैनन्, त्यो चाहे आयोजकको मामलामा होस् या सहभागीको मामलामा नै किन नहोस् ।
सन् १९९८ यताका ५ वटा वल्र्डकपको ट्रफी दोहोर्याएर जित्न कुनै पनि राष्ट्र सफल भएका छैनन् । सन् १९९८ मा फ्रान्स, २००२ मा ब्राजिलले उपाधि चुमेका थिए । त्यसपछिका तिन विश्वकपले तिन विजेता पायो । सन् २००६ मा इटाली, २०१० मा स्पेन र २०१४ मा जर्मनीले उपाधी चुमेका थिए ।
आइतबारको जर्मनीको खेललाई लिएर समीक्षकहरु यसपटक पनि नयाँ टिमले विश्वकप जित्ने पूर्वानुमान गर्ने स्थितिमा पुगेका छन् ।
के हो फिफा विश्वकप ?
फिफा विश्वकप एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । सन् १९३० मा पहिलो पटक विश्वकप खेलाईएको थियो । यो सफल भएपछि प्रत्येक ४ वर्षमा विश्वकपको आयोजना हुँदै आएको छ । सन् १९३० देखि सुरु भएको विश्वकप दोस्रो विश्वयुद्धको समयमा सन् १९४२ र १९४६ बाहेक रोकिएको छैन ।
विश्वकप एक महिनासम्म चल्छ भने अहिलेको अवस्था अनुसार जम्मा ६४ स्पर्धाहरु हुन्छन् । विश्वकप खेल्ने राष्ट्रको संख्या बढाउने निर्णय फिफाले गरिसकेको छ । तर, यसपटक भने ३२ राष्ट्रहरु सभागी छन् ।
जसले जिते विश्वकप
अहिलेसम्म विश्वकप फुटबलका २० संस्करण पुरा भइसकेका छन् भने २१ औं संस्करण चालु अवस्थामा छ । यी २० संस्करणमा सबैभन्दा धेरै ब्राजिलले ५ पटक विश्वकप जितेको छ । त्यस्तै जर्मनी र इटालीले समान ४÷४ पटक उपाधि चुमेका छन् । अर्जेन्टिना र उरुग्बेले २÷२ पटक वल्र्डकप ट्रफी भित्र्याउँदा इंग्ल्यान्ड, फ्रान्स तथा स्पेन १÷१ पटक ट्रफी जित्न सफल भएका छन् । कुन विश्वकप कसले जित्यो ? त्यसको विवरण निम्नानुसार छ ।
सन् १९३० को विश्वकप जित्न उरुग्बे सफल भयो । त्यसै गरी सन् १९३४ मा इटाली, १९३८ मा इटाली, १९५० मा उरुग्बे, १९५४ मा जर्मनी, १९५८ मा ब्राजिल, १९६२ मा ब्राजिल, १९६६ मा इंग्ल्यान्ड, १९७० मा ब्राजिल, १९७४ मा जर्मनी, १९७८ मा अर्जेन्टिना, १९८२ मा इटाली, १९८६ मा अर्जेन्टिना, १९९० मा ब्राजिल विश्वविजेता बन्न सफल भए ।
स्वीस कानुनद्वारा संचालित
फुटबलको विश्व संस्था फिफाको मुख्य कार्यालय स्वीट्जरल्याण्डको ज्युरिखमा रहेको छ । यो स्वीस कानुनद्वारा संचालित छ । सदस्यहरु २११ छन् भने फिफा विश्वकप यसले आयोजना गर्न सबैभन्दा ठूलो प्रतियोगिता हो ।
प्रकाशित समय १४:१० बजे

















