गृहपृष्ठ एसिया कप छनोट : ओमानसँग नेपाल पराजित
एसिया कप छनोट : ओमानसँग नेपाल पराजित
एसिया कप छनोटको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले हारेको छ । बुधबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभरमा ओमनसामु नेपालले २२२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, ओमानले उक्त लक्ष्य ४८ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । । उसका लागि खावर अलीले अविजित ८४ रन जोडे । ६९ बलको सामना गरेका अलीले ६ चौका र ४ छक्का चड्काए । अलीले जिसन मक्सुदसँग ७७ रनको साझेदारी गरे । मक्सुदले नटआउट ४५ रन जोडे ।
यसैगरी वैभव श्रीधरले ४१ र जतिन्दर सिंहले ३० रन जोडे । नेपालका कप्तान पारस खड्काले एक विकेट लिए । ओमानका अन्य दुई खेलाडी रन आउट भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेख ३६, करण केसीले २६ रन बनाए । यस्तै दीपेन्द्र सिंह ऐरी ९, कप्तान पारस खड्का ८, सोमपाल कामी ५ र सुवास खकुरेलले ४ रन बनाए । बसन्त रेग्मी र रोहित कुमार पौडेल सुन्य रनमा पेभेलियन फर्किए ।
ओमानका बिलाल खान, मोहमद नादीम र अजय लालचेताले समान २–२ विकेट लिए । नेपालले बिहिबार युएईसँग खेल्नेछ । त्यसपछि नेपालले आयोजक मलेसियासँग शनिबार, सिंगापुरसँग आइतबार र अर्को मंगलबार नेपालले हङकङसँग खेल्ने छ । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउने छ । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ‘ए’ मा पर्नेछ ।
प्रकाशित समय १६:०८ बजे