गृहपृष्ठ च्याम्पियन्स लिगमा रियाल मड्रिड पराजित, युभेन्टसका डिबलाको ह्याट्रिक

च्याम्पियन्स लिगमा रियाल मड्रिड पराजित, युभेन्टसका डिबलाको ह्याट्रिक

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएका खेलमा युभेन्टस, सीएसकेए मस्को र म्यान्चेस्टर सिटी विजयी भएका छन् । साविक विजेता रियाल मड्रिडले भने हार ब्यहोरेको छ ।

स्पेनिस जाइन्ट रियाल मड्रिड सीएसकेए मस्कोसँग १–० गोलले पराजित भएको थियो । रुसको मस्कोमा भएको खेलमा निकोला भ्लासिचले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेका थिए । सोही गोल अन्तिमसम्म पर्याप्त बन्यो । रियालले ७५ बल पोसेसन आफ्नो पक्षमा राखे पनि गोल गर्नबाट भने चुक्यो ।

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड भने अर्को स्पेनिस क्लब भ्यालेन्सियासँग अंक बाड्न बाध्य भएको छ । घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको गोल गर्न सकेन र खेल गोलरहित बराबरीमा टुंगियो ।

म्यान्चेष्टर सिटीले भने समूह चरणको यो खेलमा जीत हात पारेको छ । सिटीले होफेनहेमलाई २–१ ले हरायो । होफेनहेमले पहिलो मिनेटमै अग्रता लिएको थियो । इशाक बेल्फोडिलले पहिलो मिनेटमा बनाएको अग्रता जोगाउन नसक्दा होफेनहेमले दुई गोल खान पुग्यो । सातौ मिनेटमा सर्जियो अग्युरोले सिटीका लागि बराबरी गोल फर्काएका थिए । ८७औं मिनेटमा डेभिड सिल्भाले गोल गर्दै सिटीलाई जीत दिलाए ।

इटालियन क्लब युभेन्टसले भने स्वीट्जरल्याण्डको योङ ब्वाइजलाई पराजित गरेको छ । पाउलो डिबलाकोे ह्याट्रिकको मद्दतमा युभेन्टसले योङ ब्वाइजलाई सहजै हराएको हो । युभेन्टसको मैदान एलिनाज स्टेडियममा भएको खेलमा डिबालाले पाँचौं, ३३औं र ६९औं मिनेटमा गोल गरेका थिए ।

प्रकाशित समय ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु