गृहपृष्ठ गणेशमान फुटसल उपाधि काठमाडौ‌ ब्वाइजलाई

गणेशमान फुटसल उपाधि काठमाडौ‌ ब्वाइजलाई

वीर गणेशमान दोस्रो स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उपाधि काठमाडौं ब्वाइज क्लबले जितेको छ । नेपाल तरुण दल काठमाडौं महानगरपालिका–२६ ले आयोजना गरेको उक्त प्रतियोगितामा ढुकु फुटसल क्लबलाई ५–३ गोलअन्तरले पराजित गरी काठमाडौं ब्वाइज क्लबले प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।

प्रथम हुने काठमाडौं ब्वाइज क्लबले दुई लाख, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने ढुकु फुटसल क्लबले एक लाख, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी तेस्रो हुने गंगटा युवा क्लबले तीस हजार र प्रमाणपत्र, चौथो हुने रेड फुटसल टिमले २० हजार र प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।

विजेता खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र वितरण गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले युवाहरुलाई एकीकृत गर्न फुटसल प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।

‘पछिल्लो समय शहरी क्षेत्रका युवाहरुलाई फुटसलले आकर्षित गरेको छ, यसलाई देशव्यापी फैलाउनु जरुरी छ,’ उनले भने ।

पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आन्दोलनबाट ल्याएको अधिकारलाई संस्थागत गर्नका लागि कांग्रेस एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रदेशसभा सदस्य जीवन डङ्गोलले लौहपुरुषको सम्झनामा तरुण दल वडाले ठूलो नगदराशीसहित फुटसलको आयोजना गरेर राम्रो कामको थालनी गरेको बताए । तरुण दल काठमाडौंका अध्यक्ष कृष्णजी खड्का, पूर्वसांसद कौशर शाह, काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीलगायतले युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंंहको स्मृतिमा प्रतियोगिताको आयोजना गरेर उदाहरणीय कामको शुरुवात भएको बताए ।

असोज १९ देखि सञ्चालन भएको उक्त प्रतियोगितामा काठमाडौं उपत्यकाभित्रका २२ समूहको सहभागीता थियो । गत वर्षदेखि शुरु भएको उक्त प्रतियोगिता आगामी वर्षमा रनिङ सिल्डका रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको तरुण दल–२६ का अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए । रासस ।

प्रकाशित समय १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु