गृहपृष्ठ प्याराग्लाइडिङ वर्ल्ड कपमा कोरियाको वर्चश्व

प्याराग्लाइडिङ वर्ल्ड कपमा कोरियाको वर्चश्व

समूहतर्फ नेपाल तेस्रो

कोरियाले प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्याण्डिङ) वल्र्ड कप २०१८ को उपाधि जितेको छ । तीन दिनको खेलमा कोरियाले ६ राउन्ड पूरा गर्दा १२ अंकसहित उपाधि जित्न सफल भएको हो । खुला एकल तथा समूह चरणको खेलमा समेत वर्चश्व जमाउन सफल भएको कोरिया प्रतियोगितामा तीनवटा स्वर्ण पदक जित्न सफल भएको हो ।

स्याङ्जाको स्वरेक मैदान (भिरकोट) बाट उडान गरी वालिङको डौंवाफाँटमा अवतरण गरेका कोरियाका स्याङज्यू लिमले ६ राउण्डको खेलमा १२ अंक ल्याउदै खुल्लातर्फ उपाधि जितेका हुन् । पहिलो दिनको खेलमा उनी तेस्रो स्थानमा थिए भने दोस्रो दिनको खेलबाट लिड गर्न सफल भएका थिए ।

६ राउण्डको खेलमा कोरियाका खेलाडी जिहुन होले १५ अंक सहित दोश्रो भए भने कोरियन खेलाडी किम कि हेवन तेस्रो भए । हेवनको समान १५ अंक भए पनि एक राउण्डमा हेवनको भन्दा जीहुनको अंक कम रहेको थियो । पहिलो दिनको दुई राउण्डको खेलमा अग्र स्थानमा रहेका सोलोभानियाका प्रि–लोजुक रोक प्रतियोगितामा चौथो स्थान हासिल गरेका छन् । उनले १६ अंक ल्याए । एसियाली खेलकुदमा रजत पदक विजेता नेपाली खेलाडी यूकेस गुरुङ खुल्लातर्फको ईभेण्टमा ३३ अंकका साथमा ८ औं स्थानमा रहेका छन।

त्यसैगरी तीन दिन अर्थात ६ राउण्डको खेलमा महिलातर्फ पनि कोरियाले स्वर्ण पदक हात पार्न सफल भएको छ । कोरियाकी हुनही किमले ६ राउण्डको खेलमा ५९ अंक ल्याउँदै महिलातर्फ उपाधि हात पार्न सफल भईन् । त्यसैगरी कोरियाकै योनह्याङ चो ले ७४ अंकका साथ दोश्रो स्थानमा रहेकी हुन । उनी दोश्रो दिनसम्मको खेलमा भने प्रथम स्थानमा रहेकी थिइन।

इण्डोनेसियाकी गिता रेजकी गुण्टरी तेश्रो भइन् । उनले ६ राउण्डको खेलमा २ सय ११ अंक ल्याउन सफल भएकी हुन् । त्यस्तै पुरुष टिम तर्फ कोरिया प्रथम र दोश्रो उपाधि हात पार्दा नेपालले तेश्रो स्थानमा आउन सफल भएको छ । कोरियाले ९३ अंकका साथ स्वर्ण पदक हात पार्दा, दोश्रो तर्फ पनि कोरियाले १ सय ६४ अंकका साथ रजत र नेपालले २ सय ८४ अंकका साथ तेश्रो अर्थात कास्य पदक हात पार्न सफल भएको हो ।

नेपाली टिममा एसियन गेम्सका रजत पदक विजेता खेलाडी कप्तान विमल अधिकारी, यूकेस गुरुङ, विशाल थापा र विजय गौतम रहेका थिए । शुक्रबार २, शनिबार ३ र आईतबार एक राउण्डको खेल भएकोे प्रतियोगिताका अपिसियल बालकृष्ण बसेलले बताए ।

उक्त प्रतियोगितामा २१ देशका १ सय २० प्याराग्लाईडिङ पाइलटहरुले नाम दर्ता गराए पनि प्रतियोगितामा भने १८ देशका ७९ जना खेलाडीहरुले मात्र सहभागि जनाएको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताए । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरि ३ वटा स्वर्ण पदकका लागि उक्त प्रतियोगिता स्याङजामा पहिलो पटक प्याराग्लाईडिङको वल्र्ड कप भएको प्रतियोगिता मुल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङजाका
प्रमुख समेत रहेकी सिता कुमारी सुन्दासले बताइन् ।

विजेता खेलाडीहरुको टोलीलाई गरिबी निवारण तथा भूमि सुधार मन्त्री पद्मा अर्याल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, नेफाका अध्यक्ष रुपनारायण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका हुन।

प्रतियोगिताका बिजयी टिमतर्फ  प्रथम, दोस्रो र तोस्रो हुनेले क्रमश :१५ सय, १२ सय र ७ सय युरो प्राप्त गरे भने ब्यक्तिगत तर्फ पहिलो, दोस्रो र तोस्रो हुनेले क्रमश : १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गरेको प्रतियागिताका सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले बताए ।

प्रकाशित समय १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु