गृहपृष्ठ रियललाई हराउँदै बार्सिलोना कोपा डेल रेको फाइनलमा
रियललाई हराउँदै बार्सिलोना कोपा डेल रेको फाइनलमा
बार्सिलोनाले स्पेनिस कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ । रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा सानदार जित दर्ता गर्दै बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो ।
बुधबार भएको दोस्रो लेगमा लुइस सुआरेजको दुई गोलमा बार्सिलोनाले तीन–शून्यको जित निकालेको हो । यससँगै समग्रमा बार्सिलोना ४–१ को जितसँगै प्रतियोगिताको फाइनलमा पुगेको छ । यसअघि क्याम्प नोउमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
खेलको ५० औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए दिलाएका थिए । ६९ औं मिनेटमा राफेल भारानेले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो । नेल्सन सेमेडोको क्रस सुआरेजसम्म पुग्नु अघि भारानेले क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो ।
७३ औं मिनेटमा क्यासेमिरोले सुआरेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा सुआरेजले गोल गर्न सफल भए । थप समयमा गोल हुन सकेन र बार्सिलोना फाइनल प्रवेश गर्न सफल भयो ।
बार्सिलोना लगातार छैटौंपटक फाइनल यात्रा तय गरेको हो । चार सिजन लगातार उपाधि जित्दै आएको बार्सिलोना लगातार पाँचौ उपाधि जित्ने दाउमा छ । फाइनलमा बार्सिलोनाले भ्यालेन्सिया र रियल बेटिसको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित समय ०७:१४ बजे

















