गृहपृष्ठ महिला ह्याण्डबलमा बंगलादेशलाई कास्य, स्वर्णको लागि नेपाल र भारत खेल्दै
महिला ह्याण्डबलमा बंगलादेशलाई कास्य, स्वर्णको लागि नेपाल र भारत खेल्दै
१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला ह्याण्डबलमा बंगलादेशले कास्य पदक जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा पाकिस्तानमाथि ३१-१५ फराकिलो नतिजा निकाल्दै बंगलादेशले कास्य जितेको हो ।
भारतको गुहावटीमा भएको १२औं सागको उपविजेता बंगलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । १२औं सागमा पाकिस्तानले कास्य जितेको थियो ।
पहिलो हाफमा १७-५ ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल थप्यो ।
बंगलादेशका लागि मोसम्मत रुबिना बेगमले सर्वाधिक ९ गोलको योगदान दिइन् । त्यसपछि, अल्पोना अख्तरले टोलीका लागि ६ गोल थपिन् । खाडिजा खातुन र सुमी बेगमले समान ५/५ गोलको योगदान गरिन् । सिल्पी अख्तरले ४ गोल जोडिन् । खालेदा सुल्तानाले २ गोल थपिन् ।
पाकिस्तानका लागि नुसरत बानोले सर्वाधिक ५, खालिदा रमजानले ४ तथा आस्मा आल्ताफ र साइका रियाजले समान २/२ गोल गरिन् । साडिया बासिर र नाजिस मक्सुद दुवैले १/१ गोलको योगदान गरे । बंगलादेशकी मोसम्मत रुबिना बेगमले पहेंलो कार्ड पाएका थिए ।
नेपालले स्वर्ण पदकको लागि भारतसँग आज दिउँसो ४ बजे पछि फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।
प्रकाशित समय ११:४९ बजे

















