गृहपृष्ठ मागेको पोशाकले सिकेको कराँते, जसले स्वर्णपदक चुम्यो
मागेको पोशाकले सिकेको कराँते, जसले स्वर्णपदक चुम्यो
कराँतेमा स्वर्ण विजेता खेलाडीहरू ।
साथीले दिएको पोसाक लगाएर कराँते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, ‘स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौँ, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरुले आफ्ना पुराना पोसाक दिए, त्यही लगाएर कराते सिक्न सुरु ग¥यौँ ।’
तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक चुम्दा नवीनले तिनै संघर्षपूर्ण दिनहरु सम्झे । काठमाडौँको बालाजु कराते–डो प्रतिष्ठान र गुरु धु्रवविक्रम मल्लको नाम मनमनै लिए । बागलुङ, तमानखोला गाउँपालिका–२ बाट काठमाडौँ झरेकै वर्षदेखि शुरु भएको थियो, उनको कराँते यात्रा ।
रसाइली परिवारभित्र २४ वर्षीय नवीनले मात्र करातेलाई लक्ष्य बनाएका छैनन् । २६ वर्षीय दाइ राजकुमारले पनि आफ्ना ऊर्जाशील १२ वर्ष करातेलाई दिइसकेका छन् । ‘बुबाआमासहित काठमाडौँ गएदेखि नै कराते खेल्न सुरु ग¥यौँ,’ उनले भने, ‘दुई भाइले सँगै सिक्यौँ, अहिले खेल्दैछौँ ।’ तेह्रौँ सागमा पनि दुवैले भाग लिए ।
नवीनले स्वर्ण र राजकुमारले कास्य पदक चुमे । ‘सागमा स्वर्ण जित्नु नै मेरो अहिलेसम्मकै ठूलो उपलब्धि हो,’ नवीनले भने, ‘जुन मिहिनेत र समर्पणका साथ करातेमा लागेँ त्यसको प्रतिफल पाएँजस्तो लाग्छ ।’ करातेमा लाग्दाका कठिन र चुनौतीपूर्ण दिनलाई नै रसाइली दाजुभाइले सफलताको जग मान्छन् ।
बागलुङको सदूर गाउँबाट काठमाडौँ छिर्दा उमेर सानै थियो । कुनै ठूलो सपना थिएन । खेलमा भविष्य देख्नु त झन् टाढैको कुरा । तत्कालको उद्देश्य पढ्नु नै थियो । विद्यालय भर्ना भए । खुरुखुरु पढाइमा जान थाले । सँगैका साथीहरु बालाजु कराते–डो प्रतिष्ठानमा कराते सिक्थे । उनीहरु खेल हेर्न जान्थे । त्यही प्रतिष्ठान हो जहाँ रसाइली दाजुभाइले साथीको पोसाक लगाएर कराते सिकेका थिए ।
करातेमा लागेपछि उनीहरु पछाडि फर्कनु परेन । एकपछि अर्को सफलताले पछ्याइरह्यो । खेल प्रतिभाको कदर गर्दै बालाजुको ज्ञानमन्दिर माविले राजकुमारलाई कक्षा ९ र १० छात्रवृत्तिमा पढायो । गोल्डेन गेट कलेजले कक्षा ११–१२ मा ५० प्रतिशत छुट दियो ।
नवीनले भने एसएलसी ब्राइट हेभन स्कुलबाट गरे । दुवै भाइले पढाइसँगै खेल जीवनलाई अघि बढाए । ‘अहिले पनि बिहान २ र बेलुकी २ घण्टा प्रशिक्षणमै हुन्छौँ,’ राजकुमारले भने, ‘करातेमा हामीलाई यहाँसम्म ल्याउने बालाजु कराते–डो प्रतिष्ठान र गुरु धु्रवविक्रम मल्ल हुनुहुन्छ, उहाँ नेपाली करातेको ‘गडफादर’ नै हो ।’ एक दशकभन्दा बढीको खेल जीवनमा रसाइली दाजुभाइले कैयन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
नेपालका लागि खेल्न दर्जनभन्दा बढी देश पुगेका छन् । पदकमा तुलनात्मक रुपमा नवीन अगाडि छन् । उनले सन् २०१४, २०१६ मा भारत र २०१७ मा श्रीलंकामा भएको साउथ एसियन च्याम्पियनशिपमा लगातार स्वर्ण जितेर ह्याट्रिक गरेका थिए ।
राजकुमारले गत वर्ष बंगलादेशमा भएको सोही खेलमा रजत पदक हात पारेका थिए । उनले सन् २०१८ मा भएको कोरिया ओपन कराते च्याम्पियनशिपमा स्वर्ण जितेका थिए । सन् २०१० देखि नै व्यावसायिक रुपमा कराते खेल्न थालेको राजकुमारको भनाइ छ । ‘सन् २०१३ मा राष्ट्रिय खेलकुदमा भाग लिएँ, खेल्नकै लागि भारत, मलेसिया, कोरिया, जापान, थाइल्यान्डलगायत देश पुगेको छु,’ राजकुमारले भने ।
उनले सातौँमा कास्य र यही वर्ष भएको आठौँ राष्ट्रिय खेलकूदमा रजत पदक जितेका थिए । नवीनले भने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि स्वर्ण पदक हात पारेका थिए । नवीन यही वर्ष जापानमा हुने ओलम्पिकमा समेत नेपालका तर्फबाट भाग लिन प्रयासरत् छन् ।
ओलम्पिक छनोटका वल्र्ड सिरिज, प्रिमियर लिग, एसियाली खेलकुद र एसियन कराते च्याम्पियनशिप खेल्नुपर्ने मापदण्ड छ । ‘ओलम्पिकको लक्ष्य लिएर केही सिरिज र लिग खेल्दैछु, विश्वभरका एक सय खेलाडीको ‘¥याङ्किङ्’मा मेरो नाम ९९ मा छ, मापदण्ड पूरा गरेर अन्तिम ३२ मा परेँ भने ओलम्पिक खेल्न पाउँछु,’ नवीनले भने । आउँदो ओलम्पिकमा पहिलोपटक कराते समावेश हुँदैछ । ओलम्पिक खेल्न पाउनु नै नवीनका लागि जीवनकै ठूलो सफलता हुनेछ ।
‘खेलले इज्जत दिएको छ, देशको गौरवका लागि खेल्न पाएका छौँ,’ रसाइली दाजुभाइ भन्छन्, ‘राज्यले पनि खेल क्षेत्र र खेलाडीलाई हेरोस् ।’
राजकुमारले अहिलेसम्म परिवारको सहयोगमा खेलमा लागे पनि अब परिवारलाई सहयोग गर्ने बेला आएको बताए । ‘हामीमा पनि परिवारको जिम्मेवारी थपिँदैछ, खेलाडीलाई आर्थिक सहायता, रोजगारी जस्ता कार्यक्रम सरकारले ल्याउनुपर्छ,’ उनले भने । अझै दश वर्ष सक्रिय रुपमा करातेमा बिताउने योजना रसाइली दाजुभाइको छ । तेह्रौँ सागमा पदक जितेपछि गृहजिल्लावासीले उनीहरुलाई सम्झे । जिल्ला र देशकै गौरव बढाएका खुशी साटासाट गरे ।
बागलुङ नगरपालिका, नेपाल कराते संघ बागलुङ, मालिका सेवा समाज बागलुङलगायत थुप्रै सङ्घसंस्थाले नगदसहित सम्मानित गरे । एकाघरका दाजुभाइले खेलमा देखाएको समर्पण र पाएको सफलता खेलाडी एवं खेलप्रेमीमाझ प्रेरणा बनेका छन् । (रासस)
प्रकाशित समय ०८:३३ बजे

















