गृहपृष्ठ आधुनिक खोरमा बस्न नजुरेका अभागी बाख्रा

आधुनिक खोरमा बस्न नजुरेका अभागी बाख्रा

निकै लामो समय, प्रयास, परिश्रम र लगानी गरेर २०७० सालबाट ‘नगरकोट बाख्रापालन तथा अनुसन्धान केन्द्र’को नाममा काठमाडौंनजिकै नगरकोटमा व्यावसायिक बाख्रापालन सञ्चालनमा ल्याएँ । मैले व्यावसायिक बाख्रापालनको कुरा उठाउँदा मेरा पूर्व परिचित बाख्रापालन व्यवसायी मित्रले भनेका थिए, ‘काम गर्ने मानिस पाइने/नपाइने निश्चित गरेर मात्र सुरू गर्नुपर्छ नि ! काम गर्ने मानिसको खडेरी लागेको छ आजकल । यसै पनि खेतीपाती र पशुपालन पेसालाई हेयको दृष्टिले हेरिन्छ । मेरा भाञ्जा पर्नेलाई नौ हजार रूपैयाँ मासिक तलब दिन्छु, बाख्रा फार्ममा काम गर भन्दा उनलाई आफ्नै गाउँको नौ हजार आँखै लागेन । काठमाडौँ आएर के के न खालो सार्छु भनेर दिनको २० किमी टाढा पुरानो साइकल खटट पार्दै सात हजार रुपैयाँमा एक जना मारवाडीको घरमा दिनरात खटेका छन् ।’

व्यावसायिक बाख्रापालनमा काम गर्न सकिने गाउँलेहरूबाट आश्वासन पाएपछि दिल खोलेरै पूर्वाधार विकासमा लगानी गर्ने सोच आयो । तीन वर्षको अवधिमा नेपालका विभिन्न स्रोतकेन्द्रहरूबाट ल्याएर पाँच हजारभन्दा बढी विभिन्न प्रजातिका डाले घाँसका बिरूवा रोप्यौँ । हाम्रो अत्याधुनिक पक्की बाख्राखोरलाई केन्द्रका विज्ञसम्मले बाख्रा होइन, हात्ती नै पाल्न सकिने ठहर गरे । बाख्रा फार्मवरपर चितुवाको बिगबिगी भएकाले बारबन्देजमा पनि राम्रै लगानी गरेका थियौँ । बाख्रा फार्ममा शुद्ध खानेपानी व्यवस्थाका लागि मात्र पनि दुई लाखभन्दा माथि लगानी गरियो ।

बाख्रा फार्ममा शुद्ध खानेपानी व्यवस्थाका लागि मात्र पनि दुई लाखभन्दा माथि लगानी गरियो ।

२०६९ सालबाटै व्यावसायिक बाख्रापालन गर्ने भूत चढेपछि २०७२ सालसम्म आइपुग्दा समय र लगानी मात्र होइन, अन्य सयौँ हन्डर पनि खाएँ । यसबीचमा धेरै सरकारी कार्यालय र बाख्रा व्यवसायीबाट हुनसक्ने सहयोग र अनुभव आदानप्रदान पनि भयो । त्यो अवधिमा कुनै‑कुनै कार्यालयमा त ५० पटकसम्म पनि धाएँ होला । फार्म सञ्चालनमा आएमा सहयोग पाइने आश्वासन नपाएको पनि होइन तर नेपालको ब्युरोक्रेसीको संरचनामा यति बेथिति छ कि सर्वसाधारणले भन्दा मुसे प्रवृत्तिकाले पाएको आश्वासनले मात्रै काम गर्दोरहेछ ।

केन्द्रले तोकेको सहयोग र अनुदानको संख्या र रकम जिल्लाले आफूअनकूल र धेरैजना भएको देखाउने गरी कनिका छरेझैँ छर्ने प्रचलन रहेछ । खास कृषकलाई आएको सरकारी अनुदानमा कर्मचारीले आँखा गाड्ने रहेछन् । कनिका छरेझैँ गरेर धेरैलाई पुर्‍याउनुको भित्री स्वार्थ बेग्लै रहेछ ।

कृषकलाई आफ्नो नाममा आएको सहयोग र अनुदानमा आफ्नो पूर्ण अधिकार रहन्छ भन्ने ज्ञानको अभाव छ भने दिने निकायले अधिकारले भन्दा निगाहाले मात्र पाइने माहोल सिर्जना गराएको पाइयो । फलस्वरूप खासै काम नगर्ने कृषकहरुले तिर्नु नपर्ने अनुदानको आधासम्म कर्मचारी आफैँले राखेर बाँकी हिस्सामात्र दिए पनि फरक नपर्ने वातावरण बनिसकेको रहेछ । कर्मचारीमा पनि मेहनती र राम्रा कृषकभन्दा मुसे प्रवृत्तिकालाई दिँदा आफूहरूलाई घुमाउरो पारामा आर्थिक फाइदा हुन्छ भन्ने मानसिकताले जरो गाडिसकेको रहेछ । कृषकले पाउने सुविधा तथा अनुदानको बेथिति केन्द्रसम्मै उत्तिकै रूपमा हुनसक्छ ।

हाम्रो बाख्रा फार्मलाई त्यस क्षेत्रकै स्थानीय खरी जातका बाख्राको स्रोतकेन्द्रको रूपमा विकसित गर्ने र वरपरका बाख्रापालक कृषकलाई पनि सहयोगमात्र होइन, सहभागीसमेत गराएर स्थानीय खरी जातका बाख्रामा नश्ल सुधारका लागि अनुसन्धानका गतिविधि पनि सञ्चालन गर्ने सोच बनाएँ । तर, अनुसन्धानको अनुदानका लागि म जस्ताले पनि कागजी प्रक्रिया पुर्‍याउन सकिन । कस्तो विडम्बना, म कृषककै छोरो, कृषिकै पढाइ‑लेखाइ र पिएचडी गरेर पुनः कृषि व्यवसाय नै सञ्चालन गर्न खोज्ने व्यक्ति थिएँ । मैले सरकारी सहयोगका लागि तयार पारिने कागजी प्रक्रिया र प्रपोजल तयार गर्न अप्रत्यासित मोटो रकम एकमुष्ट पहिल्यै र सहयोग तथा अनुदान आएमा पुनः केही प्रतिशत बुझाउने सर्त मान्न तत्पर हुनुपर्ने रहेछ । एक्सपर्टले लेखिदिएको प्रपोजलमा ५०‑६० प्रतिशत थपघट गर्न रातदिन लगाएर म आफैँले घुँडा धसेँ । यसबीचमा विभिन्न संघसंस्थामा कति दगुरेँ, त्यसको त कुनै लेखाजोखा नै छैन । सुनेको थिएँ, ‘राम्रै प्रपोजल तयार गरे पनि २५ देखि ३० प्रतिशतसम्म कमिसन दिनुपर्ने र त्यो पनि आधा रकम अग्रिम बुझाए मात्र अनुदानको भागिदार बन्न सकिन्छ ।’ तर, दुःख गरेअनुसार फलचाहिँ मिल्यो । बिनासर्त स्थानीय खरी जातका बाख्रामा अनुसन्धान गर्न ३० लाख रुपैयाँ स्वीकृत भयो । सम्झौता गरेँ । कागजी प्रक्रिया र प्रपोजललाई सहज र सुलभ गर्ने मात्र होइन, आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै कार्यान्वयन पक्षमा हदैसम्मको कडाइ गरेमा प्रतिफलको प्रभावकारिता बढ्न सक्छ । तर, हाम्रो ब्युरोक्रेसी त्यसतर्फ ध्यान दिन जरुरी ठान्दैन रहेछ ।

सरकारी सहयोग र अनुदान लिन कम्पनी रजिष्ट्रारको कार्यालयमा र सम्बन्धित जिल्लाको कर कार्यालयसमेतमा अनिवार्य दर्ता गराउनुपर्ने बाध्यात्मक व्यवस्था छ । कम्पनी दर्ता गर्नु/ गराउनुलाई म सकारात्मक मान्छु तर ‘श्राद्ध गर्नुभन्दा सिदा पुर्‍याउन गाह्रो’ भनेझैँ कहीँकतै सरकारी कार्यालयको बेथिति कतिसम्म छ भनेर थाहा पाउन कम्पनी रजिष्ट्रार कार्यालयमा रमिता हेर्न गए पुग्छ । यति जटिलता छ कि कहीँ न कहीँ खोट देखाएर घुमाइफिराइ धूप हाल्नैपर्ने बनाउँछन् । यसरी दर्ता भएपछि कमाऊ वा नकमाऊ वर्षैपिच्छे रिन्यु गर्न तोकिएको मोटो रकम बुझाउनैपर्छ ।

कतिपय सरकारी कार्यालयमा सेवाग्राहीको सबलभन्दा निर्बल र कमजोर पक्ष खोजीखोजी दुःख दिने गरिन्छ । नबुझ्ने र दुःख नसहनेहरूबाट बाध्य बनाई झारझुर पारेरै छाडिन्छ । त्यस्तै बेथिति बाख्रा फार्मको जग्गापास गर्न जाँदा मालपोत कार्यालयमा पनि व्यहोरेँ । थपथाप रकम नझर्ने अवस्था आयो भने अफिसभरि एकअर्कामा यति चाँडो खबर प्रवाह हुन्छ कि कुर्सीमा बसिराखेका हाकिम साहेब समय गुजार्न अन्तै सुइँकुच्चा ठोक्छन् । तर, पैसा आउने भयो भने फाँटवालाकैमा आएर पनि सहीछाप धस्काइदिन्छन् ।

म आफैँ कृषि विज्ञ भए पनि तत्कालीन स्वास्थ्यमन्त्री एवं वर्तमान सांसद गगन थापाको बाख्रापालन र शुद्ध तथा स्वस्थकर खसीको मासुपसलको बारेमा पत्रपत्रिकामार्फत बजारमा धेरै चर्चा आएकाले बेलायतमा हुँदैदेखि नै बाख्रापालनमा रूची थियो । यसबीचमा व्यावसायिक कृषिमा प्राविधिक सहयोग र सरकारी अनुदानका कुरा पनि सुन्नमा आए । भाँति पुर्‍याउन सक्दा त एउटै व्यवसायमा पनि धेरै ठाउँबाट धेरथोर अनुदान मिल्नसक्ने रहेछ । सञ्चारमाध्यममा आएको समाचारका आधारमा थापाले नुवाकोटमा सञ्चालन गरेको बाख्रा फार्म हेर्न गएँ । तर, त्यहाँ कहिल्यै बाख्राले पनि नदेखेको खोरसम्म चाहिँ देखेँ । बाख्राचाहिँ नवलपरासीमा छन्, भनियो । नवलपरासी गएको भए, नुवाकोटमा छन्, भनिन्थ्यो होला भन्ने पनि लाग्यो ।

सञ्चारमाध्यममा आएको समाचारका आधारमा थापाले नुवाकोटमा सञ्चालन गरेको बाख्रा फार्म हेर्न गएँ । तर, त्यहाँ कहिल्यै बाख्राले पनि नदेखेको खोरसम्म चाहिँ देखेँ ।

पूर्वाधार निर्माण तथा विकाससहित कोठाभित्रै दिनरात डाले घाँस खुवाउन मिल्ने आधुनिक टाट्नोसहितको अत्याधुनिक पक्का घरभित्र खोर, खोरबाहिर दानापानी खुवाउनका लागि आधुनिक भाँडाकुँडा र डाले घाँस खुवाउने फलामका टाट्नाको प्रबन्ध गरेर कर्मचारी आवाससहितको व्यवस्था गरियो । शुद्ध खानेपानीको सुविधासहित १० रोपनीभन्दा बढी जग्गामा डालेघाँस रोपियो । मनोरञ्जनात्मक गार्डेनसहितको अफिस, दाना भण्डार, बिरामी र भर्खर ब्याएका माउबाख्रा राख्ने बेग्लाबेग्लै टहरा र व्यवस्थापकसहित तीनजना कर्मचारी व्यवस्था गरेर २०७० साल भदौबाट बाख्रापालन सुरु गर्‍यौँ ।

२०७२ वैशाखसम्मको २० महिने अवधिमा पाँचपटक त गोठाला परिवर्तन गर्नुपर्ने बाध्यात्मक अवस्था आइलाग्यो । माउ बाख्रा, खसीबोका, पाठापाठी गरेर दुःख‑सुख ६३ वटा पुगेका थिए । भविष्यमा ५०० वटासम्म बाख्रा व्यवस्थापन गर्न सकिने हिसाबले पूर्वाधारमा जुटेका थियौँ । त्यसैगरी २०७२ साउनबाट सञ्चालनमा ल्याउन भनेर तत्कालका लागि करिब ५ लाख रुपैयाँबराबरका थप आधुनिक मेसिन खरिदका लागि सम्झौता पनि गरिसकेका थियौँ । फार्मका सामान ओसारपसारका लागि सवारीसाधन (पिकअप) आवश्यक भएकाले खरिद गर्न पहल गर्नेसम्मको काम अगाडि बढिसकेको थियो । पूर्वाधार विकास र व्यावसायिक बाख्रापालनको सम्भाव्यता र काठमाडौंबाट नजिक रहेको भन्दै फार्म भ्रमणमा गएका बाजेको सेकुवा पसलका सञ्चालक तथा व्यवस्थापकले नियमित मासु आपूर्ति गर्न सक्न भए आफूहरू पनि लगानी गर्न तयार रहेको बताएकी थिइन् । मेरा धैरै सहपाठी मित्रहरूले पनि फार्ममा सहकार्य गर्न उत्सुकता देखाएका थिए । बाख्रापालन व्यवसायको भविष्य निकै राम्रो रहेको महसुस भयो ।

आखिर भइदियो अर्कै । एकातिर मेरा मित्रले भनेजस्तै गोठालाको समस्या त छँदै नै थियो, त्यसमाथि खनियो कहीँ कसैले नसोचेको महाप्रलयकारी भूकम्प । आफू पुरै नखट्दासम्म केही पनि काम हुँदैनथ्यो । त्यो दिन पनि सदाझैँ बाख्रा फार्ममा बिहानभरिको रेखदेख र अह्राइपह्राइ गरेँ । एकछिन आराम गर्नुपर्‍यो भनेर आवास गृहमा आएर बेडमा ढल्केको मात्र के थिएँ, पुरै घर हल्लिन थालिहाल्यो ।

२०४५ सालको भूकम्प आउँदा पीडित भएको अनुभवका आधारमा यो पनि भूकम्प नै हो भन्ने ठानेर सुरक्षित रहन खाटमुनि छिर्ने वा ढोका पछाडि बस्ने कष्ट गर्नुको सट्टा हतासमै उठेर भागेँ । धन्य ! बाँचियो । म सुत्ने कोठाको अढाइफिटे गाह्रो ढल्यो । खाट माझैमा भाँचिएछ । खाटमाथि ढुंगा र माटोको थुप्रो लागेको थियो । हामी बस्ने गरेको दुईतले घर मेरा मित्रले गाउँकै भए पनि १०‑१५ वर्ष पहिला करिब ५०‑६० फिट लामो साढे दुई फिट चौडा गाह्रो लगाएर बनाएका थिए । गाउँलेहरू बेला‑बेलामा भुइँचालाको बाउले पनि छुन नसक्ने खालको दरिलो घर छ भनेर प्रशंसा गर्थे । कथंकदाचित भुइँचालो आइहाल्यो भने हामी गाउँलेहरू पनि यहीँ आएर सुरक्षित हुनुपर्छ समेत भन्थे । हुन पनि ढुंगामाटोको भए पनि त्यो गाउँमा मात्र होइन, वरपर पनि दरिलो घर भनेर नाम कमाएको रहेछ, हाम्रो फार्मको आवास गृहले ।

म बस्ने कोठा माथिल्लो तलाको एउटा कुनामा थियो भने तल झर्ने भर्‍याङ अर्को कुनामा । जब घर हल्लिन थाल्यो, ‘भुइँचालो, भुइँचालो’ भन्दै भर्‍याङतिर दगुरेँ । भर्‍याङबाट ओर्लेपछि पनि घरबाहिर आउन अर्को कुनाको ढोकामा पुग्नुपर्थ्यो । यसरी माथिल्लो र तल्लो तला गरेर करिब १२० फिट दगुरेर जसोतसो बाहिर निस्किएँ । तल्लो तलामा ड्रममा राखेको पानी छचल्किएर पोखिएछ । एक त भूकम्पको कम्पनले ज्यान हल्लिरहेको, त्यसमाथि पोखिएको पानीमा चिप्लेर एक बल्ड्याङ पनि खाइहालेँ । तर, हतपत उठेर बाहिर निस्केर करिब ४०‑५० फिट पर मात्र के पुगेको थिएँ, मोटो गाह्रोको दरिलो घर भनेको त आफ्नै आँखाअगाडि गर्ल्यामगुर्लुम ढल्यो । माथिल्लो तलाको बरण्डामा बसेकी कर्मचारी पनि म अतालिएर भागेको देखेर के हो, के हो भन्दै पछि‑पछि लाग्ने हुँदा सुरक्षित नै बाहिरिन भ्याइन् ।

माथिल्लो तलाको बरण्डामा बसेकी कर्मचारी पनि म अतालिएर भागेको देखेर के हो, के हो भन्दै पछि‑पछि लाग्ने हुँदा सुरक्षित नै बाहिरिन भ्याइन् ।

अब पो सुरु भयो, दर्दनाक अवस्था । जमिन हल्लिराखेकै थियो । हातखुट्टा लल्याकलुलुक थिए । जीउ धामीको जस्तै थर्थर काम्दै थियो । श्वासप्रश्वासको गति उच्च थियो । वाक्य बन्द थियो ।

पहाडको डाँडो परेको ठाउँ भएकाले टाढाटाढा, वारिपारि, वरपर, जताततै धूलैधूलोको मुस्लो देखिन थाल्यो । वारिपारि र वरपरबाट मानिसको चिच्याहट र ‘बचाऊ‑बचाऊ’ कानमा गुन्जिन थाल्यो । लाग्थ्यो, अब कहीँ केही बाँकी रहेन ।

सधैँ दिउँसोको १२‑१ बजेको घाममा टाढैबाट टलक्क टल्कने सिन्धुपलाञ्चोकको सदरमुकाम चौतारा कालो न कालो बाक्लो कुहिरो जस्तो धूलो र धूवाँको मुस्लोमा पुरियो । ‘यस्तो भयानक प्रलयमा साँच्चै म जिउँदै त छु’ भन्दै दुई‑चार पटक आफ्नै जीउका विभिन्न भागमा चिमोटेँ पनि ।

यत्तिकैमा पर गाउँबाट एउटा आवाज आयो‑ ‘बस्नेत सर ! त्यो ठूलो रूखमुनि नबस्नुस्, पर भाग्नुस् ।’ यो शब्दले कता‑कता आश जाग्यो । यस्तो प्रलयबाट कोही पनि बचेनन् होला भन्ने लागेका बेलामा मेरोसमेत खोजिनिन्दा हुँदा धेरैजना बाँचेकै छौँ कि जस्तो भयो । भुइँचालोपछि पनि पटक‑पटक आएका ‘पराकम्पन’ले होसहवास उडेको थियो । लालाबाला च्यापेर बारीका पाटामा एकैठाउँमा भेला भएर बसेका गाउँलेहरू बिलौना गर्न थाले । ठाडो र सिङ्गो घर कसैको पनि थिएन । बेलुकाबाटै कहाँ बस्ने, के खाने टुंगो थिएन । घरगोठमा किचिएका चौपायाको उद्धार गर्ने सामर्थ्य कसैमा थिएन । फोनले काम नगरेकाले कहाँ‑कहाँ के‑कति क्षति पुग्यो थाहा हुन सकेको थिएन । त्यसमा पनि मेरो मोबाइल बेडमै छुटेको थियो ।

गाउँलेका बिलौना सुन्दै र भोग्दै गर्दा बारीका पाटामा करिब दुई घण्टा बितिसकेपछि बाख्राखोरको याद आयो । बाख्राको खोर हामी बसेको ठाउँबाट अलि तल डिलमुनि भएकाले सिधै देखिँदैनथ्यो । भुइँचालो आउनुअघि गोठालालाई बाख्रा चराउन पठाएर २१ वटा पाठापाठी म आफैंले थुनेर आएको थिएँ । गोठालाहरू पनि बाख्रा लिएर आएका थिएनन् । गोठालाले तल खोलाछेउमा बाख्रा चराउन लगेकाले जमिन हल्लिएको थाहा पाएछन् तर माथिका गाउँघरमा त्यही हल्लिएको जमिनले बितण्डा मच्चाएको थाहा पाएनछन् । पछि बाख्रा चराएर फर्केपछि पो ‘लौ न मेरो घर, छोराछोरी के भए होलान् ?’ भन्दै रुँदै‑कराउँदै दुई घण्टाजति टाढाको आफ्नो गाउँतिर हान्निए ।

अब म र केही गाउँलेहरू पाठापाठी थुनेका अत्याधुनिक खोरतिर झर्‍यौँ । बाफ रे बाफ ! पक्का आधुनिक बाख्रा खोरको हालत त चौपटै थियो ।

गोठको चारैतिरको भित्तो उछिट्टिएर टिनको छानो जमिनमै थ्याच्च बसेछ । पिल्लरहरू भने ठाडै थिए । यति हुँदा कोठाभित्र थुनेका पाठापाठी स्वाहा हुने नै भए । म पाठापाठीको बिजोक हेर्न सक्दिनँ होला भन्ने लागेर खुट्टा कमाउँदै डिलमाथि ठिङ्ग उभिएँ । एकजना गाउँले भग्नावशेषले थिचिएर सबै पाठापाठी एकै चिहान भए होलान् भन्दै नियाल्न लागे । उनी कराए, ‘होइन, बस्नेत सर ! यहाँ त केही पनि पो छैन त !’

हामी सबै छक्क पर्‍यौँ । मसँगै उभिएका अर्का गाउँलेले पनि भने, ‘होइन, तेरा आँखाले काम त गरेको छ ?’

कोठाको साँचो झुन्डिएको ढोका १० फिट पर उछिट्टिएको थियो ।

‘लौ न, के भो ? कोठामा एउटै पाठापाठी देखिँदैनन् त ! डोकाले छोपेको एउटा पाठोचाहिँ जिउँदै जस्तो देखिँदै छ है ।’ उनले भने ।

सबैभन्दा सानो पाठोलाई मैले ‘साँढेको जुधाइ, बाच्छाको मिचाइ’ होला भन्ठानेर डोकाले बेग्लै छोपेको थिएँ । अचम्म ! त्यतिका पाठापाठी खोइ ?

यति बेलासम्ममा अरू गाउँले पनि थपिएर ८‑१० जना भेला भइसकेका थियौँ । सबै भएर भग्नावशेषभित्र भर्खर ब्याएका र साँझ‑बिहान भएर चरनमा नगएका पाँचवटा माउ बाख्रा मृत अवस्थामा भेटिए । पाठापाठीको अत्तोपत्तो थिएन ।

यत्तिकैमा गाउँकै पहिला फार्ममा काम गरेको गोठालो आएर ‘के खोज्दै हुनुहुन्छ सरहरु यहाँ ? पाठापाठी त ऊ पर शिरीषका फेदमा मस्तले शीतल तापेर बसिराखेका छन्’ भनिन् । सबैजना चकित भयौँ । यो कसरी सम्भव छ ? मेरो पहिलादेखिकै बानी, म अलि सूक्ष्म तरिकाले नियाल्न थालेँ । भएको के हुनसक्छ भने‑ भूकम्पको पहिलो झड्कामै एक साइडको गाह्रो ढलेर बाहिर उछिट्टियो होला । त्यही मौकामा बन्द ढोका खुल्यो भन्ठानेर पाठापाठी बाहिर निस्किए । तीन साइडको गाह्रो ढलिसक्दा पाठापाठीले कुलेलम ठोकिसकेकाले बचेका हुनुपर्छ ।

भूकम्प गएकै साँझदेखि मानिसको बास कहाँ भन्ने त छँदै थियो, अब बाख्रा कहाँ थुन्ने भन्ने अर्को समस्या पनि आइलाग्यो । गोठालाहरू घरपरिवार के भयो होला भनेर घरतिर लागिहाले । गाउँलेहरू सबैको हालत उही हो । कसले कसलाई सहयोग गर्ने ? भएका सबै संरचना कसैका पनि ठाडो र सिङ्गो थिएनन् । खुला ठाउँमा बाख्राको बास अफ्ठ्यारै छ । चितुवाको बिगबिगी उत्तिकै । २० महिनाको अवधिमा मध्य‑दिउँसो चरनबाटै तीनवटा माउ बाख्रा र दुईवटा खसी चितुवाले घुयेंत्रो हानिसकेको थियो । परेन फसाद ?

हामीसँगै बस्ने स्वाथ्यचौकीका अहेब, भूपू गोठालो र म भएर घाँसपराल र दाउरा छोप्ने पाल जसोतसो बारीको ठूलो पाटामा टाँगेर एकछेउमा हामी र बाँकी ठाउँमा बाख्रा थन्क्याउने व्यवस्था मिलायौँ । यसरी अत्याधुनिक पक्का गोठमा बस्न भाग्यले नजुराएका बाख्रा अन्ततः पालभित्र आइपुगे । ठूलै धनराशि खर्चिएर सञ्चालनमा ल्याउन थालेको व्यावसायिक बाख्रापालनलाई फेरि करिब त्यति नै थप लगानी गरेर पुनः सञ्चालनमा ल्याउनुको सट्टा हाललाई हात झिक्नु नै सर्वोत्तम उपाय ठानियो । बाख्रा अनुसन्धानका लागि स्वीकृत ३० लाखमध्ये पहिलो किस्तास्वरूप ११ लाख रुपैयाँ भुक्तानी लिन बोलाएकै दिन अनुसन्धानका गतिविधि अगाडि बढाउन नसकिने र स्वीकृत भई सम्झौता भएको सम्पूर्ण रकम नलिने जानकारी दिँदै फार्मलाई पनि ‘बाइ बाइ’ गरिदिएँ ।

(डा. बस्नेत कृषि तथा जेन्डर विशेषज्ञ हुन् ।)

प्रकाशित समय १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु