गृहपृष्ठ लकडाउन कसका लागि ?

लकडाउन कसका लागि ?

सोमबार बिहान लामबद्ध रुपमा हिँडिरहेको ५‑६ जनाको समूह नयाँ बानेश्वरको थापागाउँ एरियामा देखियो । त्यो समूहका चार जना त एक‑अर्काको हात समाउँदै, गफिँदै हिँडिरहेका थिए, स्वास्थ्य सामग्रीको प्रयोगबिना नै ।

नजिकैको पसलेले चिनजानको आधारमा एक जनालाई सोध्यो, ‘कता जान लाग्नुभएको ?’

जवाफ थियो, ‘मर्निङ वाक’ ।

‘घरमा बस्दा बस्दा दिक्क लागेर व्यायामका लागि हिँडेको’ भन्ने पसलेसँग गरिरहेको कुराकानी सुनिन्थ्यो । लगत्तै एक‑दुई जना गर्दै पाँच जना पसलेकहाँ सामान किन्न थाले । सुरुमा आएका दुई जनाले मास्क नै लगाएका थिएनन् ।

एक जनाले त ‘आफूलाई कोरोना‑सोरोनाले छुनै नसक्ने’ भन्दै गफ दिँदै थिए । पसलमा आएकाहरु पनि सामान किन्न सबै टाँसिएका जस्तै थिए । दूरी कायम गर्नुसँग उनीहरुलाई चासो नै थिएन ।

काठमाडौँ महानगरपालिकाले बिहान ९ बजेसम्म मात्र पसल खोल्ने अनुमति दिएको हुँदा त्यो किराना पसलमा त्यसरी सामान किनबेच गर्ने क्रम चलिरहन्छ । सोमबार मात्रै होइन, हरेक बिहान घुइँचै हुन्छ । यो लापर्बाहीले के देखिन्छ भने नागरिकले कोरोनाभाइरसबारे सुनेका छन् तर जिम्मेवार भने कत्ति नै छैनन् ।

म पनि त्यही किराना पसलनजिकै बस्छु । मान्छेको हुल मध्याह्नतिर मात्रै घटछ । नजिकै दुइटा पसल मात्र भएको हुँदा बिहान घुइँचो हुन्छ । एक जना पसले दाइलाई धेरै पटक आग्रह पनि गरेको छु, लापर्बाही नगर्नुस् भनेर । तर, उल्टै ‘यो एरियामा कोरोना छैन । पसलमा आउनेहरु यतैका लोकल हुन्’ भनेर ठूला कुरा गर्न खोज्छन् । एक‑दुई दिन त पसले दाइकै अगाडिबाट प्रहरीलाई फोन गरेँ । हत्तपत्त पसल बन्द गरेर लुके । प्रहरीको भ्यान आएर पनि पटक‑पटक सम्झाइरहेका छन् । तर त्यो मनैदेखि पसले दाइहरुले नसोच्दासम्म कसैको केही नलाग्ने रहेछ । ती पसले एउटा प्रतिनिधि पात्रमात्र हुन् । यो क्षेत्रमा यस्ता अधिकांश व्यापारी उस्तै छन् ।

एक‑दुई दिन त पसले दाइकै अगाडिबाट प्रहरीलाई फोन गरेँ । हत्तपत्त पसल बन्द गरेर लुके ।

अहिले नेपालमा कोरोनाभाइरसका कारण दुई जनाको ज्यान गइसकेको छ भने साढे तीन सयभन्दा बढी संक्रमित देखिएका छन् । परीक्षणको दायरा फराकिला नगर्दा सिन्धुपाल्चोक स्थायी घर भएकी सुत्केरी महिलाको ज्यान गइसकेपछि मात्र उनलाई कोभिड संक्रमण भएको पुष्टि भयो । त्यस्तै दुई हप्ता लगाएर भारतबाट हिँडेर आएपछि क्वारेन्टाइनमा बसेका एक युवकको नेपालगन्जमा सामान्य उपचार पनि नपाएर ज्यान गयो । मृतकको अवस्था हेर्दा जनताभन्दा पनि राज्य नै संवेदनशील छैन भन्ने देखिन्छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्न निर्विकल्प लकडाउन कार्यान्वयन पालना गर्नुपर्ने सुझाव दिएपछि विश्वभर नै लकडाउन भयो । त्यसैअनुसार नेपालले पनि चैत ११ गतेदेखि नेपालमा लकडाउन घोषणा गर्‍यो । लामो समय भएको भन्दै गत हप्ता केही दिन सुस्तगतिमा खुकुलो पारेको लकडाउन काठमाडौंलगायतका क्षेत्रमा धेरै बिथालियो ।

गएको बुधबार मात्रै नयाँ बानेश्वरमा चोकमा थुप्रै साना‑ठूला सवारी साधन गुडिरहेका थिए । त्यसै संख्यामा पैदल यात्रु पनि । त्यसबेला कुनै संक्रमित पनि त्यसरी नै हिँडिरहेका थिए भने कति जनालाई भाइरस सर्‍यो होला ! कल्पनासम्म गर्न सकिन्न । करिब एक मिनेटकै अन्तरमा सयभन्दा बढी सवारीसाधन गुडिरहेको भिडियो हामीले कैद गरेका थियौं । खुकुलो पारेको लकडाउनले हजारौंमा भित्रभित्रै कोरोना फैलिएको हुनसक्ने पनि आंकलन यतिबेला भइरहेको छ ।

बुधबार नै माइतीघर मण्डलामा त लकडाउन कार्यान्वयनका लागि खटिएका सुरक्षाकर्मी पनि थकित देखिन्थे । ट्राफिक प्रहरी त झनै सवारीको जाम भएको भन्दै बीच‑बीचमा सिटी फुकिरहेका थिए । सुरक्षाकर्मीलाई देख्दा त लकडाउनबारे उनीहरु अनभिज्ञ नै रहेछन् भन्ने लाग्यो । हुन त केही समयअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल त सुरक्षामा खटिएका सबै प्रहरीले आवश्यक स्वास्थ्य सुरक्षाका साथ ड्युटीमा खटिरहेको दाबी गरेका थिए । तर, उनले भनेभन्दा ठीक उल्टो मास्क र पञ्जाबिना नै प्रहरी ड्युटीमा थिए ।

सामान्य रुपमा ‘लकडाउन’ भनेको घरबन्दी हो, यसबारेमा सबैले बुझ्न र पालना गर्न जरुरी छ । विश्वभर कोरोनाभाइरसको कुनै उपचारको विधि नभएको हुँदा लकडाउनले संक्रमित भएकाबाट थप संक्रमण नहोस् भन्नका लागि लकडाउन प्रयोग गरिएको हो । तर, आज लकडाउनको ५६ दिन बित्दा पनि नागरिक जिम्मेवार बनेका छैनन् । गृह मन्त्रालयको निर्देशनमा प्रशासनले अनुमति दिएका सवारी मात्र होइनन्, सर्वसाधारण पनि विभिन्न बहाना बनाउँदै अहिले पनि सडकमा गुडिरहेका देखिन्छन् । यो बेवास्ता र लापर्बाही अरुलाई मात्र होइन, स्वयंलाई अनि असर पार्ने हो ।

कोरोनाभाइरस सजिलै एकबाट अर्कोमा फैलने भन्दै सरकारले धेरै निकायलाई सचेतना फैलाउन निर्देशन दिइरहेको छ । एक‑अर्कामा फैलन नदिनका लागि ‘जो जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुस्’ भनेर पनि सरकारका निकायहरु लामो समयदेखिकै फुकिरहेकै छन् । तर, केही समययता भने न सरकार सचेत भएको छ न प्रहरी न त नागरिक नै ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा फैलिएको भाइरसबारे लकडाउन कार्यान्वयन गर्न अपिल गरेको लामो समय भइसक्यो । यति लामो समय हुँदा पनि कतिपयले ‘लकडाउन’को सामान्य नियम नै नबुझे जसरी धज्जी उडाइरहेका छन् । राहतको नाममा सयौंको भीडभाड, कसैको विरोधमा सयौंको संख्यामा नाराबाजी, अड्डा अदालतमा उस्तै भीड, न्याय माग्ने नाममा उस्तै भीड । सरकारको विरोध गर्नेहरुले पनि ‘विरोधी शैली’ परिवर्तन गर्न सकेका छैनन् ।

कोरोनाभाइरसको उत्पत्ति भएर विश्वभर फैलिएको चीनका कतिपय नागरिक त झनै गैरजिम्मेवार देखिए । केही दिनअघि सिंहदरबार अगाडि नै जुलुस निकाल्दै नेपाल प्रहरीमाथि नै जाइलागे । स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन पुगेका चिनियाँ नागरिकले निषेधित क्षेत्र तोडेर ढुंगामुढा प्रहार गर्दै महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतसहित केही सुरक्षाकर्मीलाई घाइते नै बनाएका थिए । राजदूतलाई आग्रह गर्नुपर्नेमा उल्टै नेपाल प्रहरीमाथि उत्रिएर दमनको शैलीमा क्रुरता प्रदर्शन गरेका थिए ।

भारतले लिपुलेकमा सडक उद्घाटन गरेपछि राजधानीमा भएको प्रदर्शन पनि सोच्न लायक थियो । भारत र नेपाल सरकारसमेतको विरोधमा सयौंको संख्यामा बिनास्वास्थ्य सुरक्षाका साथ मानिसहरू प्रदर्शनमा उत्रिए । कोरोनाको संकटमा आन्दोलनमा उत्रनु व्यक्तिगत स्वास्थ्यका दृष्टिले मात्र होइन, देशलाई नै गम्भीर अवस्थातर्फ घिसार्नु जस्तै हो भन्ने उनीहरुले बुझेनन् । आन्दोलन गर्नुको सट्टा बौद्धिक र कूटनीतिक लडाइँले पनि जित्न सकिन्छ भन्ने चेतना उनीहरूमा देखिएन ।

यो विषम परिस्थितिमा सबै नागरिक संवेदनशील नहुनु भनेको अत्यन्तै गैरजिम्मेवारी हो । सबैलाई निसानामा पार्नु हो । गत हप्ता एक‑दुई दिनमा मात्रै खुकुलो पार्दा केही स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकारहरुमा समेत संक्रमण भएको पुष्टि भइसकेको छ । थप लापर्बाही गरेमा इटाली, स्पेनको जस्तो भयावह अवस्था नआउला भन्न सकिन्न ।

माघमा चीनबाट आएका एक पुरुषमा भाइरस देखिएर निको भइसकेपछि शान्त बनेको नेपाललाई दोस्रो संक्रमितले धेरै झस्काएको थियो । करिब दुई महिनापछि चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै आएकी युवतीमा कोरोना देखिएपछि सरकारले कडाइका साथ चैत ११ गते नै लकडाउन घोषणा गर्‍यो । ती युवती आएको विमानमा आएका सबैको खोजी गर्दै परीक्षण गर्दा केही व्यक्तिमा कोरोना देखिएको थियो ।

भाइरस फैलनुमा कहाँ चुक्यो सरकार ?

नेपालमा पहिलो संक्रमित देखिएपछि सरकारले परीक्षणको दायरा बढाउनुपर्नेमा ‘भगवानको भरोसा’ झैँ भावुकता देखाउँदै गयो । सबैभन्दा ठूलो कमजोरी सरकारको यहीँ देखिन्छ । पर्याप्त समय हुँदाहुँदै स्वास्थ्य सामग्री जोहो नगर्नु अर्को कमजोरी थियो ।

दोस्रो संक्रमितपछि तराईका केही जिल्लामा बाहेक अन्य ठाउँमा संक्रमण देखिएको थिएन । काठमाडौंमा वैशाख १ गते पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बेलायतबाट आएका तीन जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) पोजिटिभ देखिएपछि सनसिटी अपार्टमेन्ट नै सिल गरेको थियो । त्यसबेलामा उपत्यकामा त्रास फैलिँदै गयो ।

उपत्यकामा संक्रमण देखिएकाहरु पनि केही समयमै डिस्चार्ज भइसकेपछि पनि संक्रमित भएकाहरुको सम्पर्कमा आएका सबै ठाउँमा परीक्षणको दायरा बढाउनुपर्थ्यो । त्यसमा पनि सरकार निकै पछाडि पर्‍यो । सीमा नाकामा सुरक्षाकर्मी बढी परिचालन गर्नुपर्नेमा खासै चासो देखाएन, जसले गर्दा भारतबाट भागेर आउनेहरु नै नेपालमा कोरोनाका संक्रमितको सूचीमा थपिन थाले ।

अर्को ठूलो गम्भीर सरकारको कमजोरी हो, संवेदनशील नहुनु । देशका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी नै नेपालमा कोरोना संक्रमणको स्थिति न्यून देखिनुलाई सरकारको सफलता भन्दै सतही टिप्पणी गर्न थाले । जसले गर्दा परीक्षणको दायरा नै खुम्चिन पुग्यो ।

राष्ट्रको जिम्मेवारी व्यक्ति नै यस्ता सन्देश दिन्छन् भने जनताले कोरोनालाई सामान्य रुपमा लिनु ठूलो कुरा भएन ।

प्रधानमन्त्री र राष्ट्रपतिले ‘कम परीक्षण गर्दा कमै संक्रमण देखिएको’ हुनसक्ने अनुमान लगाएनन् । यति मात्र होइन, प्रधानमन्त्री त आफैँ चिकित्सक बन्न थाले । तातोपानी पिउने, आइसक्रिम नखाने, ताजा खाना खाने, पोसिलो कुरा खानेजस्ता उपाय (भद्दा मजाक) सुझाउन थाले ।

राष्ट्रको जिम्मेवारी व्यक्ति नै यस्ता सन्देश दिन्छन् भने जनताले कोरोनालाई सामान्य रुपमा लिनु ठूलो कुरा भएन । सरकारको यो सन्देशले आशंका गरिएका व्यक्तिको पनि परीक्षणमा चासो दिइएन ।

सरकारले अहिले गरेको लकडाउन न खुकुलो छ न त कार्यान्वयन नै । न स्वास्थ्य सामग्री प्रर्याप्त छ न त परीक्षण नै सन्तोषजनक । अहिले दैनिक पचासौं जना नयाँ संक्रमित देखिन थालेका छन् । ‘परीक्षण नै नगरी कोरोना छैन’ भन्ने सन्देश छरेको तेस्रो दिनमै संक्रमितको संख्या ह्वात्तै बढेको थियो । बढ्ने क्रम घटेको छैन । अहिले कहाँबाट कति जना नेपाल भित्रिए भन्ने पनि यकिन तथ्यांक सरकारसँग छैन । कोरोनाभाइरसलाई जित्नका लागि निर्विकल्प मुख्य हतियार ‘लकडाउन र परीक्षणको दायरा बढाउनु’ हो । सरकारले यसतर्फ सोचेन ।

अहिलेसम्म जे जस्तो भए पनि अब सरकारले पूर्णरुपमा लकडाउन कार्यान्वयन नै गर्नुपर्छ । उल्लंघन गर्नेलाई सम्झाइबुझाइ गर्ने, भएन भने बल प्रयोग गर्नुपरे पनि पछि हट्नु हुँदैन । आफूले पनि जिम्मेवार र सुरक्षाका उपाय अपनाउनुपर्छ । राज्यका हरेक निकायलाई सुरक्षित तरिकाले स्वयंसेवकको रुपमा पनि परिचालन गर्नुपर्छ । नागरिकलाई भोको पनि नराख्ने, सुरक्षित पनि राख्ने सरकारको कर्तव्य हो ।

काठमाडौंमा मात्रै साँझपख गल्लीगल्लीमा, खोलानालाका किनारामा भेला हुने, टाँस्सिएर हिँड्नेहरु त झनै सयौंको संख्यामा देखिन्छन् अहिले पनि । मुख्य सडकहरुमा प्रहरीले कडाइ गरेको भन्दै साँझ‑बिहान भित्री सडकहरुमा हिँड्नेहरुलाई किनारा नलगाउने हो भने काठमाडौंमा भयावह स्थिति सिर्जना हुनसक्छ । काठमाडौंमा मात्र होइन, देशभरको अवस्था नै यस्तै छ । समयमै सोचुन् ।

प्रकाशित समय १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु