गृहपृष्ठ लकडाउनमा विद्यार्थी जीवनको सम्झना
लकडाउनमा विद्यार्थी जीवनको सम्झना
कुनै मानिसलाई उसको जीवनको स्वर्णीम पल केलाई लिनुहुन्छ भन्ने प्रश्नको उत्तरमा अधिकांशको जवाफ यही हुने गर्छ‑ बाल्यकाल । हुन त उमेरले २३‑२४ उमेरको युवकले बाल्यकालको चर्चा गर्नु कतिको उपयुक्त होला थाहा भएन तर यसमार्फत अहिले विद्यार्थी जीवनमा रहेका बालबालिकाका निम्ति लकडाउनको यो समय ज्ञानवृद्घिका साथै यो समयलाई उपयोगी बनाउन मद्दत पुग्ने अपेक्षाले कलम चलाउँदै छु ।
कुरा म ८ कक्षा पढ्दाको हो । म गाउँकै सरकारी विद्यालयमा पढ्थेँ । विद्यालय घरबाट आधा घण्टाको दूरीमा थियो । कच्ची मोटर गुड्ने बाटोबाट आउजाउ गर्नुपर्नेखालको । मोटर अत्यन्तै कम संख्यामा गुड्ने हुनाले विद्यालय हिँडेरै जाने‑आउने गरिन्थ्यो । कहिलेकाहीँ काठमाडौँ जाने र आउने बसको छतमा चढेर विद्यालय र घर गर्न पाउँदा खुसीले मन नै फुरुङ्ग हुन्थ्यो । शैक्षिक हिसाबले पहिला औसतखालको विद्यार्थी हो म । अघिल्लो कक्षाबाट प्रथम भएपछि एकखाले दबाब पर्दोरहेछ, जसले मलाई थप पढ्नैपर्ने अवस्थामा पुर्यायो । कक्षाको प्रथम हुनाले मैले शैक्षिक वातावरणमै प्राथमिकता दिनुपर्नेभयो । पढ्नमा मेरो रुचिको विषय गणित थियो ।
विद्यार्थी कालको समयको लगभग ९० प्रतिशत समय मैले गणितका जोड, घटाउ, गुणन, भाग, लस, मस लगायतमा खर्च गरे जस्तो लाग्छ । अरु विषयहरु घोक्ने खालका थिए तथापि आफ्नो मातृभाषा नेपालीमै पढ्नुपर्ने हुँदा मैले नेपाली, सामाजिक, जनसङ्ख्यालगायतमा खासै समय दिनुपर्दैनथ्यो । विज्ञान विषय उत्सुकता र रुचिको विषय थियो नै । लेखाचाहिँ केही हदसम्म घोक्नुपर्थ्यो तर त्यसमा पनि हिसाब हुने हुँदा तनाव कम हुन्थ्यो । म त्यतिबेला मुना मासिक बालपत्रिकाको नियमित पाठक थिएँ । त्यसबेला धेरैपटक रचना, विचारहरु प्रकाशित हुने गर्थ्यो । शीर्षक के हो, अंकजाल लगायतमा धेरै भाग लिन्थेँ भने केहीमा विजेतासमेत भएको थिए ।
कुरा ९ कक्षाको बर्से बिदाको हो । राजधानी काठमाडौँमा दोस्रो पटक घुमघामको मेसोमा जाँदा मुना मासिक बालपत्रिका प्रकाशक गोर्खापत्रबाट विजेता भएबापत ६०० रुपैयाँ प्राप्त गरेँ । त्यसरी ठूलो रकम प्राप्त गर्दा ममा कुनै हिमाल आरोहीलाई शिखर चुमेपछि जस्तो संवेदना आउला, त्यस्तै खाले संवेदना छायो । त्यो पैसामध्ये केही पैसाले मैले र दिदीले डल्लोमा डल्लो, सेतो बेरेको कुरा खायौँ । पहिलो पटक खाएको बन्दा, प्याजको स्वादको त्यो कुरा बडो मिठो लाग्यो । पछि दिदीले भन्नुभएपछि थाहा भयो, त्यो मःम भन्ने नेवारी परिकार रहेछ ।
त्यसपछि धेरै मःम खाइयो तर पहिलोपटकको जस्तो मज्जा लागेन । हामीले मुना पत्रिकाको कार्यालय धर्मपथबाट निस्केर आसपास कतै खाएका थियौँ । सायद भूकम्पपछि हाल भग्नावशेषमात्र बाँकी रहेको धरहरा छेउका साना पसलहरु थिए होला । त्यतिबेला मैले विभिन्न बालप्रत्रिकामा प्रकाशित लेखहरुको केही प्रति मसँग अझै सुरक्षित छन् । आफ्नै मोबाइल थिएन, त्यसैले मोबाइलले अनावश्यक समय खर्च गराउने सम्भावना थिएन । कक्षा १० मा आएपछि नोकियाको टुकटुक मोबाइले चलाउँथे । फुर्सदको समयमा मनोरञ्जनको रुपमा टुकटुके मोबाइलमा सर्पवाला गेम खेल्नुको मज्जा नै बेग्लै हुन्थ्यो ।
कक्षा ८‑९ तिर पढ्दा फिल्मचाहिँ खुब हेरिन्थ्यो । तुलनात्मक रुपमा हिन्दीभन्दा नेपाली फिल्म धेरै हेरिन्थ्यो । त्यतिबेलाका चलेका नायकहरु राजेश, निखिल, विराज, दिलिप, रमित आदि थिए भने नायिकाहरुमा रेखा, अरुणिमा आदि थिए । साथीहरुबीच सिडी साटासाट हुन्थ्यो । कक्षामा ल्याउने र झोलामा लुकाएर सिडी साँटासाट गरिन्थ्यो । यसरी सिडी धेरै जनामा साटासाँट हुँदा पछि त कोरिएर फिल्म अड्केका अड्क्यै हुन्थ्यो । त्यो कोरिएको हटाउन कहिले पानी, कहिले तेल, कहिले क्रिम लगाइन्थ्यो । मैले दिदीको क्रिम चोरेर धेरैपटक सिडी सफा गरेको याद छ । एकातिर फिल्म हेर्ने लगाव अनि अर्कोतिर सिडी झोलामा भेट्टियो भने के होला भन्ने डर सधैँ हुन्थ्यो ।
खुसीको कुरा के भने त्यो सिडी साँटासाटको सरमिसले कहिल्यै फेला पार्नुभएन । पछि घरमा कम्प्युटर ल्याएपछि यो समस्या पनि भएन भने १० कक्षा पुगेपछि पढाइमै बढी ध्यान दिनुपर्ने भयो । आजको यी दिनमा त सरकारी विद्यालयको अवस्था नाजुक नै छ भने १०‑११ वर्षअघि कस्तो थियो होला सजिलै अनुमान लगाउन सकिन्छ । तुलनात्मक हिसाबले सरकारी नै भए पनि राम्रो नै पढाइ हुन्थ्यो । त्यतिबेला मैले पढेको विद्यालय जिल्लाको उत्कृष्ट थियो भने अहिले प्रदेशकै नमुना विद्यालय बनेको छ ।
त्यतिबेला मैले पढेको विद्यालय जिल्लाको उत्कृष्ट थियो भने अहिले प्रदेशकै नमुना विद्यालय बनेको छ ।
विद्यालय समयबाहेक विदाहरु बर्से, हिउँदे र दसैँतिहारमा हुने गर्थ्यो । यी विदाहरुमा गोठालो जाने, सलाखुमा बेलामौकामा पौडी खेल्ने, तास खेल्न, लुँडो खेल्ने आदि गरेर बित्थ्यो । त्यतिबेला गाउँघरमा खुब चलेको खेल क्यारम थियो, जसमा जोगी बनेपछि हार्ने म धेरै खेल्थेँ । अहिले त गाउँघरमा कामको चाप कमै हुन्छ तर कृषक वर्गमा भने प्रायः कामको काम नै हुन्छ । मकै रोप्ने, गोड्ने, कोदो, धान, तोरी, गहुँ आदिको कामले कृषकलाई सधैँ व्यस्त बनाउँछ । वैशाख‑जेठताका मकै सखाप पार्ने गरी बाँदर लाग्ने हुँदा बिहानैबाट मकै कुर्न जानुपर्थो । त्यसरी बस्दा साथीहरु जम्मा भएर गट्टा, बाघचाल, गुच्चा खेलिन्थ्यो । त्यसरी मकै कुरेको भर्पाइमा मिठोमा मिठो हरिया मकै खान पाइन्थ्यो । कक्षा १० पुगेपछि भने एसएलसीको तयारसँगै पढाइमै बढी समय दिइयो । आज त्यसरी प्राप्त अंकभन्दा बाल्यकालसँग जोडिएका अन्य पक्षले महत्वपूर्ण प्रभाव पार्दो रहेछ ।
यतिबेला कोरोनाको विश्वव्यापी प्रभावसँगै हाम्रा सम्पूर्ण पक्ष प्रभावित छन् । बालबालिकाको अध्ययन प्रभावित नहोस् भनेर अनलाइन कक्षा सुरु भए पनि यसको सफलता के‑कति हुन्छ हेर्न बाँकी नै छ । ग्रामीण क्षेत्र इन्टरनेटको पहुँचभन्दा टाढा रहेको हुँदा यो अवस्थामा अनलाइन शिक्षा चुनौतीको विषय हो ।
ड्याडी ! चिउराको बोट कस्तो हुन्छ ? दूध डेरीबाट आउँछ हो ? ब्ल्याकजति सबै बफेल्लो हुन् ? अनि अरु कलरका काउ ! भन्ने बुझाइका यो पुस्ताको आवश्यकता प्रयोगात्मक शिक्षा हो । त्यसैले, यो अवस्थामा विद्यालय, परिवार, समुदायले बालबालिकालाई प्रयोगात्मक, सिर्जनात्मक र व्यवहार उपयोगी शिक्षा प्रदान गर्न सहयोग गर्नुपर्छ ।
प्रकाशित समय ११:४९ बजे

















