गृहपृष्ठ ‘बंगलादेशमा नेपाली छात्रा समस्यामा छन् भन्ने मेरो आशय हो’
‘बंगलादेशमा नेपाली छात्रा समस्यामा छन् भन्ने मेरो आशय हो’
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । आइतबार राजधानीको एक कार्यक्रममा मन्तव्य दिने क्रममा उनले डा. गोविन्द केसीको अनसन र मेडिकल शिक्षाको प्रशंग जोड्दै बंगलादेशमा अध्ययन गर्न जाने नेपाली छात्राहरु शरिर बेच्न बाध्य रहेको बताएका थिए । यही अभिव्यक्तिबाट चर्को आलोचनामा परेका मन्त्री तामाङसँग न्युज कारोबारले गरेको कुराकानी :

मेडिकल शिक्षा अध्ययनका लागि बंगलादेश पुग्ने विद्यार्थीका थुप्रै समस्या छन् । तीमध्ये कतिपय समस्या हल गर्न नीतिगत रुपमै सुधारको खाँचो छ । म देशको कानुनमन्त्री हुँ । कानूनी रुपमै कतिपय गलत कुरालाई सही ट्रयाकमा ल्याउनु मेरो कर्तव्य हो । मसँग अहिले पनि कतिपय अविभावक आफ्ना छोराछोरी विभिन्न बाध्यतामा फसेको भन्दै गुनासो गर्ने गरेका छन् ।
विभिन्न प्रलोभन र सर्तमा घटना भएको प्रमाण हाम्रासामु जगजायर छ । केही समय पहिले अध्ययन गर्दै गरेकी एक छात्राले बंगलादेशमा आत्महत्या गरिन् । हो, यस्ता घटनाले बंगलादेशमा बेथिति छ भन्ने आशय मेरो हो । मेरो अभिव्यक्तिबाट कसैलाई ठेस लागेको भए सार्वजनिक रुपमा माफी समेत मागिसकेको छु ।
मैले सबैलाई सामान्यीकरण गर्न खोजेको होइन । बंगलादेशमा नेपाली छात्राहरुको समस्यालाई नीतिगत रुपमै समाधान गर्नुपर्छ भनेर म लागेको छ । केही काम पनि अघि बढाउँदैछ । र अहिले पनि के कुरामा अडिग छु भने डक्टरको सर्टिफिकेट लिन जाने विद्यार्थीहरु बंगलादेशमा ठूलो समस्यामा छन् । यसलाई समाधान गर्न म लागिपरेको छु र समाधान नभएसम्म लागिरहनेछु ।
प्रकाशित समय ०९:३७ बजे

















