गृहपृष्ठ मालिक बन्न नसकेका सेयर लगानीकर्ता

मालिक बन्न नसकेका सेयर लगानीकर्ता

rabindra-newskarobar

स्टेडियम मानिसले खचाखच छ । तर, त्यहाँ कुनै कन्सर्ट हुन गइराखेको हुँदैन । युरोपियन फुटबल क्लबको खेल सुरु हुन लागेको पनि होइन । कलाकारको उपस्थिति र खेलमा हो, सबैभन्दा बढी मानिसको सहभागिता हुने । यसो सोचौं त अमिताभ बच्चन र भारतकै धनी मुकेश अम्बानी फरक समयमा नेपाल आए भने को आउँदा धेरै मानिस भेला होलान् ? अवश्य पनि अमिताभ बच्चन । मुकेश कहिले र कतिखेर आए भन्ने पत्तै हुँदैन । व्यवसाय गर्ने र मनोरञ्जन दिनेको भिन्नता र तिनका शुभचिन्तकको एउटा रमाइलो उदाहरण पनि हो यो ।

तर, यो स्टेडियममा भीड अलिक फरक र अचम्म लाग्दो हुने गर्छ । हरेक वर्ष तीसौं हजार मानिस हजारौं माइलको यात्रा पूरा गरेर आउने गर्छन् । मानिसको यत्रो उत्साह र सहभागिता देखेर एक पत्रकारले वारेन बफेटलाई सोधे– वर्कसायर हाथवेको साधारण सभामा हजारौं माइलको यात्रा गरेर किन यति धेरै मानिस आउने गर्छन् ?
जवाफमा बफेटले भनेका थिए– किनकि उनीहरुलाई हामीले वास्तविक मालिक भएको अनुभूति दिलाएका छौं ।

जति कित्ता सेयर बोके पनि साधारण सेयर हुने व्यक्ति वा संस्था कम्पनीको मालिक बन्छ र साधारण सभामा भाग लिई व्यवस्थापनसमक्ष जिज्ञासा राख्न पाउने उसको अधिकार हुन्छ ।

ती मानिस कुनै कन्सर्टमा सहभागी हुन वा रोमाञ्चक खेल हेर्न आएका नभई वर्कसायर हाथवे कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुन आएका सेयरधनी थिए । हरेक वर्ष हाथवेका सेयरधनी साधारण सभामा सहभागी भई बफेटका कुरा सुन्न यसरी ओइरिने गर्छन् । सन् २०१५ को साधारणसभामा ४४ हजार मानिस सहभागी थिए । सन् २००६ मा १० हजार सहभागी थिए भने सन् १९८० मा मात्र १५ जना ।

हाथवेका सेयरधनीमात्र नभई विश्वभरका लगानीकर्ता बफेटका कुरा सुन्न लालायित हुन्छन् । संसारकै सफल सेयर लगानीकर्ता वफेटले व्यवस्थापन गरेको हाथवे कम्पनीको प्रतिसेयर बजार मूल्य ३ लाख २४ हजार ७०० डलर (मंसिर १३ गते) छ । दुईपटक सम्म संसारकै धनी बनेका ८८ वर्षे बफेटको कुल सम्पत्ति ८१ अर्ब डलर छ । ११ वर्षको उमेरमा ३८ डलरबाट सेयरमा लगानी सुरु गरेका बफेटको यत्तिका सम्पत्ति बन्न ७७ वर्ष लाग्यो ।

हामी कहाँ पनि कम्पनीको वार्षिक साधारण सभाको समय सुरु भएको छ । कानुनतः आर्थिक वर्ष समाप्त भएको ६ महिना अर्थात् पुस मसान्तभित्र कम्पनीले वार्षिक साधारण सभा सक्नुपर्ने हुन्छ । तर, लाखौं सेयरधनी भएका कम्पनीको साधारण सभामा उपस्थिति हेर्यो भने बढीमा १ सय १ जना सेयरधनी हुन सक्ने प्राइभेट लिमिटेड जस्तो देखिन्छ । सय जना उपस्थित हुन पनि मुस्किल ।

उपस्थित हुनेमा पनि पहिल्यै भुक्तानी गरेर भाडामा ल्याइएका केही स्थायी वक्ता सेयरधनीहरु हरेक वर्ष सभामा उपस्थित हुने गर्छन् र तिनीहरुले केही समय कम्पनीको गुणगान र भजन गाएपछि साधारण सभा सकिन्छ । यो भजन मण्डली एकैदिन तीनवटा कम्पनीको साधारण सभामा पुग्न पनि भ्याउँछ, जसरी सहकारी विभागका कर्मचारीले भ्याउने गर्छन् । सहकारीको साधारण सभामा सहकारी विभागका कर्मचारी दक्षिणाका रुपमा सहकारीबाट खाममा पैसा बुझ्दै सोह्रश्राद्धमा व्राह्मण दौडिए जसरी एकैदिन दर्जन सहकारीको साधारण सभामा दौडिरहेका हुन्छन् ।

सहकारीको होस् या कम्पनीको साधारण सभा, हामीकहाँ मालिक (सेयरधनी)को उपस्थिति अत्यन्तै न्यून हुने गरेको छ । जसको मुख्य कारण सेयरधनीले आफू पनि कम्पनीको मालिक भएको महसुस गर्न नसक्नु र कम्पनीका सञ्चालक तथा त्यसको व्यवस्थापनले उनीहरुलाई मालिक भएको अनुभूति गराउन नसक्नु नै हो ।

हामी कहाँ सेयरधनी ५ लाख भए पनि ५ हजार भए पनि साधारण सभामा सय जना उपस्थित हुन मुस्किल छ । सभामा धेरै सेयरधनी उपस्थित भएर कम्पनीको प्रगतिका बारेमा जिज्ञासा राख्ने वातावरण बनाउन पहिला सेयरधनीलाई मालिक भएको अनुभूति गराउन सक्नुपर्छ । तर, त्यसो हुन सकेन र सहभागी हुनेको संख्या हरेक वर्ष घट्दै गयो ।

साधारण सभाकै बारेमा केही वर्षअघि एक शासकले रमाइलो जवाफ दिएका थिए । नेपाल टेलिकमको सेयर धेरैभन्दा धेरै सर्वसाधारणले पाउने गरी किन बिक्री नगरेको भन्ने पत्रकारको प्रश्नमा तत्कालनी अर्थ सचिव रामेश्वर खनालले भनेका थिए– धेरै सेयरधनी बनाएर टेलिकमको साधारण सभा टुँडिखेलमा गर्नु ? यो उत्तर शासकले सत्ताको टुप्पोमा बसेर फेदको वास्तविकता थाहा नपाउँदाको राम्रो उदाहरण थियो । धेरै सेयरधनी हुँदैमा साधारण सभामा धेरै सहभागी हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन, जबसम्म उनीहरुलाई वास्तविक मालिक भएको अनुभूति दिन सकिँदैन ।

(त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर गरेका सेयर विश्लेषक भट्टराईले क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् ।)

यो पनि पढ्नुहोस्

कुतर्कमा अडिएका सेयर ब्रोकर

 

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु