गृहपृष्ठ बुटवलमा पत्ता लाग्यो ‘मदरथान’

बुटवलमा पत्ता लाग्यो ‘मदरथान’

हिन्दू र मुस्लिमको साझा स्थल बनाउने योजना

बुटवलको मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास भएको मणिमुकुन्द सेन उद्यान (फुलबारी) बुटवल–२ बगैँचादेखि केही मिटर माथि एउटा पुरानो मन्दिर आकारको जीर्णसंरचना रहेको छ । पार्कमा जाने आन्तरिक वा वाह्यक पर्यटकहरुको लगि यो अनौठो लाग्न सक्छ । जीर्णसंरचना रहेको उक्त भवनका प्रायः भागहरुमा युगल जोडीहरुको नाम कोरिएका छन् । जुन कसैले जानकारी नै नपाएर कोरेका हुन् भने कतिपयले युगौं युग सम्म रहने बाचासहित मनकामना पूरा गर्न नाम कोरेका बताउँछन् ।

मुस्लिम धर्मगुरु मदरबाले तपस्या गरेको स्थानको रुपमा मदरथान स्थापना गरिएको जो कोहीलाई ज्ञान नहुन सक्छ । मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र बनेको नवलपरासीको दुम्किबासमा रहेको मदरबाबा मन्दिर जस्तै उक्त स्थानमा पनि ‘मिनी मदरबाबा’को रुपमा विकास गर्ने योजना अगाडि बढाइएको छ ।

नवलपरासीको मदरबाबा मन्दिरमा बर्षेनी हजारौं हिन्दू तथा मुस्लिम समुदायका व्यक्तिहरुले मेला भर्दछन् । त्यस्तै मुस्लिम धर्म गुरु मदरबाबाले नै तपस्या गरी ज्ञान प्राप्त गरको बुटवलको उक्त स्थानलाई पनि सोही अनुसार विकास गर्ने योजना बढाइएको हो ।

अहिले पनि उक्त स्थानमा हिन्दू र मुस्लिम समुदायका व्याक्तिहरु गएर भाकल गर्ने र भाकल पूरा भएपछि आफ्नो बाचा अनुसारका विभिन्न बस्त्र तथा भेटी चढाउने गरेको पाइएको छ । पर्यटकीय दृष्टिकोणबाट पनि महत्वपूर्ण मानिएको उक्त मदरथान जीर्णबन्दै गएपछि त्यसको जगर्नाको लागि चासो देखाइएको हो ।

मदिना मदरसा प्रबन्ध परिषद् बुटवलका सचिव जमिल खान ले त्यसको रङ्ग रोगन देखि लिएर संरक्षणको लागि आफूहरले चासो देखाएको बताए । हाल मणिमुकुन्द सेन उद्यान परिषदभित्र रहेको उक्त स्थान परिषद्कै स्वामित्वमा रहने र त्ययमा मुस्लिम समुदायका व्याक्तिहरुले संरक्षण गर्ने गरी आफूहरुको योजना रहेको उनले जानकारी दिए ।

‘हामीलाई त्यसको कुनै पनि स्वामित्व चाहिएको होइन,’ सचिव खानले भने, ‘जीर्णअवस्थामा रहेको उक्त मदरथानलाई जिर्णेद्वार गरी मुस्लिम समुदायको लागि पनि प्रमुख गन्तव्यको रुपमा बनाउने योजना छ ।’

मुस्लिम धर्मका अगुवा मदरबाबाले बुटवलमा आएर तपस्या गरको र त्यहाँबाट उनले ज्ञान आर्जन गरेको ईतिहासमा पाइएपछि धेरै वर्ष पहिले त्याहाँ मदरथान बनाइएको थियो ।

मदरथानकै नजिकै हिन्दू समुदायले पनि आस्थापूर्वक पूजा–आज गर्ने विवाह मण्डप समेत बनाइएको छ । नवलपरासीमा रहेको मदरबाबा मन्दिर जस्तै हिन्दू र मुस्लिम समुदायको साझा स्थानको रुपमा विकास गर्ने योजना रहेको मुस्लिम अगुवा मनिउल्लाह मियाँ बताउँछन् । उनका अनुसार साझा त्यस स्थानलाई हिन्दू र मुस्लिमको साझा मन्दिरको रुपमा विकास गर्नु आवश्यक छ । उनले यसमा मणिमुकुन्द सेन उद्यान परिषद्ले गुरुयोजना भित्र राखेकाले पनि यसको उत्थान हुने बताए ।

यता, मणिमुकुन्द सेन उद्यान परिषद् बुटवल–२ फुलबारीका कार्यालय प्रमुख त्रिविक्रम बस्यालले लामो समयदेखि जीर्णअवस्थामा रहेको मदरथान उत्थान, रङ्गरोगन र संरक्षण गर्नको लागि मुस्लिम समुदायबा चासो देखाउनु स्वागतयोग्य भएको बताए । उनले यसमा मणिमुकुन्द सेन परिषद् सकारत्मक रहेको भन्दै मुस्लिम समुदायका व्याक्तिहरुसँग छलफल गरेर अघि बढ्ने बताए ।

प्रकाशित समय १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु