गृहपृष्ठ क्वारेन्टाइन व्यवस्थापनलाई प्राथमिकतामा राखेका छौं : पृथ्वी सुब्बा गुरुङ

क्वारेन्टाइन व्यवस्थापनलाई प्राथमिकतामा राखेका छौं : पृथ्वी सुब्बा गुरुङ

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण यतिबेला देशभर लकडाउन घोषणा गरिएको छ । महामारीबाट बच्न संघ, प्रदेश र स्थानीय सरकारको तर्फबाट विभिन्न पहलहरु भइरहेका छन् । गण्डकी प्रदेशमा पनि यस्ता पहलकदमी भइरहेको छ । अहिलेसम्म नेपालमा पाँच जनालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एकजना गण्डकी प्रदेशका हुन् । कोरोनाभाइरसको संक्रमणबाट नियन्त्रण र रोकथामका लागि सावधानीका के-कस्ता तयारी र पहलहरु भइरहेका छन् भन्ने विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग गण्डकी संयोजक महेश ढुंगानाले गरेको कुराकानी :

 

गण्डकी प्रदेशमा पनि कोरोनाभाइरसको एकजना संक्रमित भेटिएको छ । यसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले के पहल गरिरहेको छ ?

बागलुङमा कोरोनाको पोजेटिभ देखिएलगत्तै सो व्यक्तिलाई अहिले आइसोलेसनमा राखी उपचार गराइरहेका छौं । ती व्यक्तिको सम्पर्कमा आएका सबै व्यक्तिको पहिचान गरेर १४ दिन क्वारेन्टाइनमा राख्ने योजना छ । गण्डकी प्रदेशले ३२५८ जना क्षमताको १२३ वटा क्वारेनटाइन निर्माण गरेको छ । गण्डकी प्रदेशमा अहिलेसम्म विदेशबाट आउनेहरुको संख्या २७८३ जना रहेको तथ्यांक छ । तर विडम्बनाको कुरा क्वारेन्टाइनमा १२३ जना मात्र छन् । स्वघोषित क्वारेन्टाइनमा बसेकाहरु पनि कुनै मापदण्डभित्र बसेका छैनन् । ति सबैलाई क्वारेन्टाइनमा ल्याउन हाम्रो लागि चुनौती छ ।

गण्डकी प्रदेशमा क्वारेन्टाइनको यथेष्ट प्रबन्ध छ । प्रदेश अन्तर्गतका मनाङ र मुस्ताङबाहेक अरु जिल्लामा कम्तीमा पाँचवटा आइसोलेसन वार्ड निर्माण गर्न गण्डकी प्रदेश सरकारले १० लाख दिइसकेको छ । अहिलेसम्म पोखरामा मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल क्लेजले १५ बेड, चरक मेमोरियर हस्पिटलले ३० बेड, जीपी स्वासपस्वास उपचार केन्द्रले ३० बेड र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले १० बेड गरी १०० बेडको प्रबन्ध प्रदेश सरकारले गरेको छ ।

प्रदेश सरकारकै अनुरोधमा संघीय सरकारले गण्डकी क्षेत्रीय अस्पताललाई कोरोना विशेष अस्पताल स्वीकृति दियो । कोरोनाभाइरस परीक्षण पनि यहीबाट गर्ने तयारी कहाँ पुग्यो ? कहिलेबाट परीक्षण सुरु हुन्छ ?

यो निर्णय गरेकोमा संघीय सरकारलाई धन्यवाद दिन चाहन्छौं । पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नयाँ भवनहरु निर्माण कार्य जारी छ । हामीले पुरानो ठाउँमा होइन, नयाँ ठाउँमा (पश्चिमाञ्चल क्षेत्रीय अस्पतालनजिकै) ५० बेडको वैकल्पिक अस्पतालको रुपमा बेग्लै भवन निर्माण गर्दैछौं । एक हप्ताभित्र यसको निर्माण सकिन्छ । प्रदेश सरकारको तर्फबाट आइसोलेसन र आइसीयूका लागि बेडहरु तयारी भइइसकेका छन् । वैकल्पिक अस्पतालको रुपमा सामुदायिक सेवा हस्पिटल र चरक मेमोरियल हस्पिटलमा आइसोलेसनको वार्डका लागि सम्झौता गरेका छौं । विदेशबाट आउने अधिकांश व्यक्ति क्वारेन्टाइनमा नबसेको धेरै गुनासो रहिआएको छ । होम क्वारेन्टाइनको बहानामा घरमै बसिरहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्न समस्या भए पनि जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको टोलीले अनुगमन गरिरहेको छ ।

प्रदेशका अस्पतालहरुमा स्वास्थ्यकर्मीले नै स्वास्थ्य सामग्री पाइरहेका छैनन्, तर त्यसको व्यवस्थापन गर्नुभन्दा सरकार विदेशी पर्यटक उद्धार गर्नतर्फ लाग्यो भन्ने आरोप छ नि !

हामीहरुले भोगिरहेको चुनौती भनेको स्वास्थ्य सामग्री पर्याप्त नहुनु नै हो, पाउँदै नपाएको चाहिँ होइन । चीनबाट स्वास्थ्य सामग्री आइसकेको छ । अब त्यो समस्या पनि रहेन । स्वास्थ्यकर्मी र कर्मचारीहरु यो महानयुद्धमा खटिरहेको अवस्थामा संघीय सरकारले जति प्रोत्साहन भत्ता वा जोखिमबहन भत्ता भनेको छ, गण्डकी प्रदेश सरकारले त्यसमा २५ प्रतिशत थपेर दिने व्यवस्था गरेको छ । स्वस्थ्यकर्मी तथा कर्मचारीको प्रोत्साहनका लागि गण्डकी प्रदेश सरकारले यो निर्णय गरेको हो । हामीले जीवन बिमाको पनि व्यवस्था गर्नेछौं ।

प्रदेश सरकारले नै स्थापना गरेको क्वारेन्टाइनमा व्यवस्थापन फितलो भयो भन्ने गुनासो आइरहेको छ नि !

व्यवस्थापन फितलो भन्ने कुराहरु सुरुका दिनको मात्र हो । पहिलो दिन खानाको प्रवन्ध मिलेको थिएन । सशस्त्र प्रहरीसँग सहकार्य गरेर खाना खुवायौं तर धेरै मान्छेले खाना राम्रो भएन भने । त्यसपछि हामीले त्यसको व्यवस्थापन मिलाइसकेका छौं । अब खानाको विषयमा कसैको कुनै पनि प्रकारको गुनासो छैन ।

देशमा लकडाउन भएपछि दैनिक उपभोग्य वस्तुमा कालोबजारी बढ्यो, मूल्यवृद्धि भयो भन्ने जनगुनासो छ । यसमा प्रदेश सरकारले कसरी सहजीकरण गरिरहेको छ ?

कालोबजारी वा मूल्यवृद्धि प्रत्यक्ष रुपमा देखिएको छैन । बजार अनुगमन जारी छ । सबै जिल्लाका सीडीओहरुलाई मैले नै फोन गरेर त्यहाँका सुरक्षा निकायहरुसँग समन्वय गरी बजार अनुगमन गर्न भनिसकेको छु । यदि कसैले पनि कालोबजारी गर्छ भने त्यस्ता हर्कतका विरुद्ध हामी तत्काल कारबाही गर्छौं । सुरुका दिनदेखि नै कारबाही गर्दै आएका पनि छौं । बजारमा हल्ला आएजस्तो धेरै नै कालोबजारी, नाफाखोरी लगायतका बजार अनियमितता भएको चाहिँ होइन । लकडाउनको बेलामा आपूर्ति तल-माथि नहोस् भन्नेमा हामी सचेत छौं । बजार अनुगमन र नियन्त्रणका लागि प्रदेश सरकारले पर्यटन, उद्योग तथा आपूर्ति मन्त्रीको नेतृत्वमा आपूर्ति व्यवस्थापन समिति पनि गठन गरेको छ । त्यसले समग्र प्रदेशको आपूर्ति व्यवस्थालाई समन्वय गरिरहेको छ । त्यसकारण निरन्तर निरीक्षण र नियमन गरेर बजार चुस्त बनाउँदै लकडाउनलाई सफल पार्छौं ।

अहिलेको अवस्थामा गण्डकी प्रदेश सरकारले अब गर्ने कार्यहरु के–के हुन् ?

सबैभन्दा पहिले त अब गर्नुपर्ने काममा क्वारेन्टाइनको व्यवस्थापन नै हो । अटेरी गरेर घरमा बसेका व्यक्तिहरुले संक्रमण फैलाउन सक्छन्, तिनीहरुलाई सम्झाइबुझाई गरी तत्काल क्वारेन्टाइनमा नराखी हुन्न । संक्रमित भएको शंका भएमा वा लक्षण देखा परेमा तिनीहरुको ल्याब टेस्ट गराउने र रिपोर्ट पोजेटिभ देखिएमा तुरुन्त आइसोलेसनमा राख्ने अब हामीले नगरी नहुने मुख्य कामहरु हुन् । यसका लागि कर्मचारीको टिम तयारी अवस्थामा रहेको छ । अरु गृहकार्य पनि युद्धस्तरमै चलिरहेको छ ।

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु