गृहपृष्ठ तीन तहका सरकारबीच कुनै समन्वय छैन : शैलेशकुमार शाह

तीन तहका सरकारबीच कुनै समन्वय छैन : शैलेशकुमार शाह

विश्वभर फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमितको वृद्धिदर नेपालसँग सीमा, संस्कृति, परिवेश, रहनसहन, भाषालगायत धेरै कुराले जोडिएको छिमेकी मुलुक भारतमा उच्च भएसँगै नेपालीहरुमा त्रास बढ्न थालेको छ । एक महिनाअघि इटाली जुन अवस्थामा थियो, भारत अहिले त्यही अवस्थामा रहेको तथ्यांक सार्वजनिक भएसँगै स्थिति भयावह हुने त होइन भन्ने चिन्ता बढेको छ । भारतसँग रोजगारी, व्यापार र रोटीबेटीको सम्बन्ध जोडिएका सीमा क्षेत्र त्यसमा पनि प्रदेश २ का स्थानीय तह अझै बढी जोखिममा छन् । यसै सन्दर्भमा सप्तरीकै सबैभन्दा ठूलो हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार शाहसँग डीआर आचार्यले गरेको टेलिफोन कुराकानी :

तपाईंको नगरपालिकामा कोरोनाभाइरसको त्रास कस्तो छ ?

नगरपालिका क्षेत्रमा सुरु सुरुमा निकै त्रास थियो । केन्द्र सरकारले गरेको लकडाउनको कारण नबुझेर पनि नागरिक अलि बढी सन्त्रस्त देखिए । हामीले बुझायौँ । जनचेतना अभवृद्धि गर्‍यौँ । अहिले सहरी क्षेत्रमा १० प्रतिशत जतिले लकडाउन उल्लंघन गरेका होलान् । अरु अनुशासित देखिएका छन् । त्राससँगै सजग पनि भएका छन् ।

नगर क्षेत्रमा कोरोनाभाइरस संक्रमण फैलिन नदिन के‑के गरिरहनुभएको छ ?

हामीले मूलतः जनचेतना अभिवृद्धिमा जोड दिएका छौँ । सहरी क्षेत्रमा धारा जोडेका बाल्टीमा पानी र साबुन राख्यौँ । बेला‑बेलामा  साबुनपानीले हात मिचिमिची धुन सिकायौँ । १० हजार मेडिकेटेड मास्क र ३० हजार कपडाका मास्क निःशुल्क बाँड्यौँ । २४ हजार वटा साबुन बाँड्यौँ । हनुमाननगर कंकालिनी नगरपालिका भूगोलको हिसाबले जिल्लाकै ठूलो स्थानीय तह हो । १४ वटा वडा रहेको यो नगरपालिकाका ६ वटा वडा भारतसँग जोडिएका छन् । हामीले सबै ११ हजार ७ सयभन्दा बढी घरधुरीमा पुगेर जनचेतना अभिवृद्धि गरेका छौँ । शुक्रबारदेखि विपन्न परिवारलाई राहत वितरण गर्दै छौँ ।

विपन्न परिवार छुट्याउने मापदण्ड के छ ? अब पहिचान गर्ने कि पहिल्यै तथ्यांक लिइसक्नुभएको छ ?

हामीसँग सबै तथ्यांक छ । नियमित आम्दानी नभएका, छोराछोरी अन्यत्रै बसेपछि वृद्धवृद्धामात्र बस्न बाध्य भएका, कमाउन नसक्ने र ज्याला मजदुरी गरेर दैनिकी टार्ने ४ हजार ५ सय परिवारलाई राहत वितरण गर्छौं । शुक्रबारदेखि तीन दिनभित्रमा राहत वितरण गरिसक्ने गरी तयारी गरेका छौं ।

राहत वितरणका लागि कहाँबाट सहयोग पाउनुभयो ? कि नगरपालिकाकै रकम हो ?

हामीलाई प्रदेश सरकारले १५ लाख रूपैयाँ सहयोग उपलब्ध गराएको छ । त्यही रकमबाट राहत बाँड्दै छौँ ।

केन्द्रबाट सहयोग पाउनुभएको छैन ?

हालसम्म कुनै सहयोग पाएको छैन ।

के‑के बाँड्नुहुन्छ ? कसरी बाँड्नुहुन्छ ?

हामी १५ किलो चामल, दुई किलो दाल, नुन, तेललगायतका खाद्य सामग्री बाँड्छौँ । वडा स्तरमा वडा सदस्यहरु, प्रहरीका प्रतिनिधि र स्थानीय राजनीतिक दलका प्रतिनिधिसहितको टिम बनाएका छौँ । नगरपालिकाको गाडीमा राखेर त्यो टिमले विपन्न नागरिकको घर‑घर पुगेर राहत सामग्री प्रदान गर्नेछ ।

बाहिरबाट भित्रिने नागरिकलाई राख्ने व्यवस्था कस्तो छ ?

हामीले दुईवटा क्वारेन्टाइन बनाएका छौँ । जसको क्षमता ६० जनाबराबरको छ । हालसम्म नगरपालिका क्षेत्रमा भित्रिएका १४ जनालाई १४ दिन क्वारेन्टाइनमा राखेर पठाइसकेका छौँ । अहिले १२ जना क्वारेन्टाइनमै छन् । बाहिरबाट कोही आएको जानकारी पाउनेवित्तिकै क्वारेन्टाइनमा राख्ने गरेका छौँ । अहिले बाहिरबाट कोही भित्रिएको जानकारी पाएका छनौँ ।

स्वास्थ्य संस्थामा सामान्य स्वास्थ्य सुविधा उपलब्ध छ ?

हामीकहाँ तीन जना डाक्टरको दरबन्दी छ । डाक्टर पनि छन् । सबै स्वास्थ्य संस्थामा औषधी पर्याप्त छ । सरकारले तोकेका औषधी निःशुल्क दिइरहेका छौ । नगरपालिका क्षेत्रमा १५ शय्याको भारदह अस्पताल छ । नगरभित्रको ठूलो अस्पताल यही यो । यसबाट अधिक सेवा प्रभाव गर्ने व्यवस्था मिलाएका छौँ ।

नगर क्षेत्रमा खाद्यान्न आपूर्ति व्यवस्था कसरी मिलाउनुभएको छ ?

सोसल डिस्टेन्स मेन्टेन गरेर बिहान‑बेलुका प्रहरीसमेतको उपस्थितिमा खाद्यान्नका स्टोरहरु खोल्ने गरेका छौँ । त्यस्तो समस्या छैन । अधिकांश खाद्यान्न स्थानीय रुपमै उपलब्ध हुन्छ । नपुगेको केही हिस्सा बाहिरबाट निर्वाध आइरहेको छ । गाउँमा सहजै भित्रिरहेको छ । आपूर्ति व्यवस्थामा कुनै गुनासो मैले सुनेको छैन ।

सोसल डिस्टेन्स मेन्टेन गरेर बिहान‑बेलुका प्रहरीसमेतको उपस्थितिमा खाद्यान्नका स्टोरहरु खोल्ने गरेका छौँ । खाद्यान्न आपूर्तिमा कुनै समस्या छैन ।

तरकारीको उत्पादन तथा सहज वितरण व्यवस्थाका लागि के गर्नुभएको छ ?

ग्रामीण क्षेत्रमा अधिकांशले आफैं तरकारी उत्पादन गर्छन् । आफैँ खपत हुन्छ । हामीले व्यावसायिक कृषक र तरकारी व्यवसायीलाई बोलाएर बैठक गरेर तरकारी बिक्री‑वितरणको व्यवस्था मिलाएका छौँ । व्यापारीले स्थानीय उत्पादनलाई अनिवार्य पहिलो प्राथमिकता दिनुपर्नेछ । अपुग तरकारीलगायतका उत्पादनमात्र बाहिरबाट आयात तथा बिक्री‑वितरण गर्न पाइनेछ । होटल बन्द भएकाले दूध खपत भने हुन सकेको छैन । गोबलघाडा टापुमा ७० घरधुरी छन् । तीमध्ये ९० प्रतिशत कृषक दुग्ध उत्पादक पशुपालक छन् । त्यहाँको दूध खपत नभएको भन्ने गुनासो आएको छ । त्यसलाई कसरी व्यवस्थित गर्ने भनेर छलफलमा छौँ । अन्य व्यावसायिक दुग्ध उत्पादक कृषकलाई पनि निरुत्साहित हुन नदिन के गर्ने छिट्टै टुंगोमा पुग्छौँ ।

विपत व्यवस्थापनका लागि तीन तहका सरकारबीच समन्वयको स्थिति कस्तो छ ?

मैले देखेको सबैभन्दा ठूलो समस्या नै यही हो । तीन तहका सरकारबीच कुनै समन्वय छैन । केन्द्र, प्रदेश र स्थानीय सरकारले आफूलाई जे ठिक लाग्छ त्यही गरिरहेका छन् । अरुबेला त नभए पनि जसोतसो चलिरहेकै थियो, विपतको समयमा पनि समन्वय नहुँदा निकै समस्या भइरहेको छ । यही कोरोनाविरुद्ध लड्नका लागि पनि निर्देशिका बनेका छन् । तर, केन्द्रको छुट्टै छ, प्रदेश सरकारको छुट्टै छ । यस्तो हुँदा स्थानीय सरकारलाई निकै अफ्ठ्यारो भइरहेको छ ।

सतर्कताका बावजुद नगर क्षेत्रमा कोरोनाभाइरस संक्रमण फैलिन सक्ने खतरा कति देख्नुहुन्छ ?

हामीले उच्च सतर्कता अपनाइरहेका छौँ । भारतमा तीव्रगतिमा फैलिएको कोरोना संक्रमणको प्रभावबाट बच्न अझ थप सतर्कता अपनाउनुपर्ने स्थिति आएको छ । भारत या अरु देशबाट फर्किएकाहरु गाउँ आइपुग्दा कतिपयले लुकाएको पाएका छौँ । तिनलाई सम्झाइबुझाइ पनि गरिरहेका छौँ । तपाईं एक जनाको गल्तीले तपाईंको सिंगो परिवारलाई किन जोखिममा पार्नुहुन्छ भनेर बुझाइरहेका छौँ । तर पनि कतिपयले लुक्ने काम गरिरहेको पाइएको छ । यसले गर्दा कोरोना संक्रमणको जोखिम कम छैन । म भन्छु‑ कृपया ! तपाईंको सानो गल्तीले परिवार, गाउँ, समाज र सिंगो देश कोरोना संक्रमणको दलदलमा फस्न सक्छ । गल्ती नगर्नुहोला ।

प्रकाशित समय १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु