गृहपृष्ठ नयाँ मुलुकी संहिताले साइबर अपराध घटाउँछ : नरेन्द्र उप्रेती

नयाँ मुलुकी संहिताले साइबर अपराध घटाउँछ : नरेन्द्र उप्रेती

narendra-newskarobar

 

सूचना प्रविधिको अहिलेको युगमा हरेकले यसको भरपूर उपयोग गरिरहेका छन् । सोही माध्यमबाट आफूलाई चलायमान बनाइराखेका छन् । सूचना र प्रविधिलाई अँगाल्नुपर्ने बाध्यकारी अवस्थामा यसैको व्यापक दुरुपयोगसमेत भएको पाइन्छ । जसबाट दिनप्रदिन धेरै व्यक्ति प्रताडित बन्दै आएका छन् । परम्परागत रूपमा हुँदै आएका अपराधका तुलनामा सूचना प्रविधिसँग सम्बन्धित अपराध बढी खतरापूर्ण र जटिल समेत देखिन्छन् । जसको नियन्त्रणमा चुनौतिपूर्ण छ । यसै सेरोफेरोमा महानगरीय अपराध महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीसँग श्यामसुन्दर पुडासैनीले गरेको कुराकानी :

 

साइबर क्राइम के हो ? यसको क्षेत्रमा के–के पर्छन् ?
विद्युतीय उपकरणहरु कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने अपराधिक कार्य साइबर क्राइमभित्र पर्छ । इन्टरनेटको प्रयोगमार्फत गरिने गाली बेइज्जत, चरित्र हत्या, हिंसा फैलाउने, यौनजन्य हिंसा, अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोग जस्ता अपराध नेपालमा धेरै हुँदै आएका घटना हुन् । साथै क्रेडिट कार्ड, एकाउण्ट आदिको चोरी गरी गरिने बैकिङ कसुर र विद्युतीय उपकरण तथा नेटवर्कमा क्षती पुर्याउने घटनालाई साइबर क्राइम अन्तर्गत लिइन्छ, जसलाई विद्युतीय अपराध पनि भनिन्छ ।

 

महानगरीय अपराध महाशाखामा आउने साइबर क्राइमका उजुरी कस्ता कस्ता प्रकृतिका छन् ?
अधिकांश अपराध घटना सामाजिक संञ्जाल, फेसबुक, ट्वीटर, भाईबर, स्काइप, ह्वाट्एसप, इन्स्टाग्राम, इमो, युटुबबाट हुने गरेका छन् । यसमा पनि नक्कली फेसबुक एकाउन्ट बनाएर गाली गलौज, धम्की, चरित्र हत्या गर्ने गतिविधि धेरै छन् । अधिकांश घटनामा महिला, नेता, कलाकार र प्रहरी स्वयम् नै परेका छन् । उनीहरुलाई गाली, मानहानी वा चरित्र हत्याका पोस्ट भएको भन्दै उजुरी पर्छन् ।

 

सरदर मासिक कति उजुरी आउँछन् ?
पछिल्लो समयमा महाशाखामा आएको उजुरी मूल्यांकन गर्ने हो भने सबैभन्दा बढी उजुरी साईबर क्राईमकै छन् । दैनिक ४–५ वटा उजुरी गरी मासिक करिब एक सय ५० हाराहारीमा उजुरी आउँछन् ।

 

उजुरीको चाप बढ्दो छ, समाधान गर्न कत्तिको चुनौति छ ?
देशभरका साइबर अपराधका घटना महानगरीय अपराध महाशाखाले मात्र हेर्ने हुँदा चाप बढेको छ । उजुरी आउने क्रम दिन प्रतिदिन बढ्दो छ । इन्टरनेटको सञ्जाल गाउँ–गाउँसम्म पुगेको र अधिकांश मानिसहरु सामाजिक सञ्जालसँग जोडिएकाले त्यही माध्यमबाट अपराध हुने क्रम बढेको छ । यसलाई रोक्न चुनौति धेरै छ । तर, फलामले फलाम काट्छ भनेजस्तै सूचना प्रविधिको व्यापक उपयोग भइरहेको समयमा यसैको सही छनोट र उपयोगले साइबर अपराध गतिविधि नियन्त्रण र कारवाहीको दायरामा ल्याउन सकिन्छ ।

 

सामाजिक सञ्जालबाट हुने अपराधमा ठगीका घटना पनि धेरै छन् । ठगी कसरी हुने गरेका रहेछन् ?
सामाजिक सञ्जाल प्रयोग गरेर ठगी गर्ने अनलाइन फ्रडका घटना फेसबुकमा चिठ्ठा पर्याे भनेर ठग्नेहरु धेरै छन् । इमेल ह्याक गर्ने, बैंकमा रहेको एउटाको खाताबाट अर्काे खातामा पुर्याउने जस्ता ठूला प्रकृतिका अपराधसमेत भएका छन् । मेल, वेबसाईट ह्याक गर्ने कुराहरु पनि छ । पछिल्लो समय कन्सलटेन्सी, वैदेशिक रोजगारी ठगी र अन्य ठूला ठगीका घटनाहरु बढेका छन् ।

 

बढ्दो अपराध, नियन्त्रण तथा निरुत्सानको लागि कस्तो प्रयास हुँदैछ ?
अपराध महाशाखाले साईबर अपराध मात्र होइन सबै प्रकारका अपराध अनुसन्धान गर्दै आएको छ । तर, साइबर सम्बन्धी हेर्ने चाँही यो मात्र एक हो । विभिन्न खालका अपराधहरुलाई विभिन्न भागमा वर्गीकरण गरेर नियन्त्रणको काम गर्दै आएका छौं । ९ वटा पिलर छ । सबै पिलरमा सम्बन्धित अपराध अनुसन्धानका विज्ञ प्रशिक्षित प्रहरी अधिकारी खटाएका छौं । उदाहरणको लागि चोरीको घटना रोक्न अर्काे युनिटबाट थप मद्दत मगाएर विषेश अभियान सञ्चालन गर्ने गरेका छौं । जसबाट चोरहरुलाई पक्रन तथा अनुसन्धानको दायरामा ल्याउन सफल भएका छौं । साइबर क्राइम वा अरु अपराधमा पनि यसैगरी कारवाही प्रक्रिया अघि बढाउदै आएका छौं ।

 

टाउको दुखाइको विषय बनेको साइबर अपराध नियन्त्रणमा कस्तो कदम चालिँदै छ ?
अपराध नियन्त्रण गर्न साइबर शाखा गठन गरेर काम गरिरहेका छौं । यद्यपी यसलाई अझै पूर्णता दिन बाँकी छ । अपराधका घटना बढेकाले, नियन्त्रण, निरुत्साहितको लागि साइबर ब्युरो र मानव वेचविखन ब्युरो गठन गर्ने तयारीमा प्रहरी लागेको छ । यसको लागि नीति निर्माण कार्यविधि गर्ने काममा छौं । यसमा प्रहरी प्रधान कार्यालयले काम गरिरहेको छ । साइबर सेल र आइटी हेडको व्यवस्था गरिएको त छ तर साइबर अपराध अनुसन्धानको क्रममा अपनाउनुपर्ने विज्ञताबारे अनुसन्धान अधिकारीहरुलाई विकास गर्ने तहमा तालिमका काम तयारी भइरहेको छ । साइबरजन्य अपराधका घटना टिपाउन र अनुगमन गर्न अपराध अनुसन्धान महाशाखाअन्तर्गत साइबर क्राइम सेलको सञ्चालन केही वर्षदेखि हुँदै आएको छ ।

 

प्रहरी जति अघि छ, अपराध गर्नेहरु पनि त्यतिनै अघि छन् । विज्ञान प्रविधिको अपराध रोक्न प्रहरीसँग पर्याप्त स्रोत सधान छन् ?
नयाँ नयाँ टेक्नोलोजी आउँदै गर्दा त्यसको दुरुपयोग गर्ने र अपराध गर्ने क्रम बढेका छन् । त्यही अनुसार हामी पनि नयाँ प्रविधि अपनाइरहन्छौं । हामी पनि हिजोको अवस्थामा छैनौं, टेक्नीकल अनुसन्धानको सुरुवात गरेका छौं । विदेशमा गएर तालिम दिने, टेक्नीकल तालित दिने संघसंस्थासँग सहकार्य बढाउनेलगायतका काम भइरहेका छन् ।

 

अहिले यहाहरुसँग भएका स्रोत साधन जनशक्ति पर्याप्त छ भने किन अपराधका घटना नियन्त्रण गर्न सकिएन ?
नयाँ–नयाँ प्रविधिसँगै त्यसलाई दुरुपयोग गर्दै अपराध बढेकाले त्यसलाई रोक्न त्यही अनुसारको प्रविधि चाहिन्छ । त्यो हामीलाई अत्यन्तै आवश्यक छ । नयाँ–नयाँ अनुसन्धानको प्रविधि ल्याउने, डिएनएलगायतका प्रयोगशाला ल्याउने, भएका जनशक्तिलाई तालिम दिएर समय अनुकल बनाउने कामको खाँचो छ । भएका संरचना सुधार गर्ने, पुनर्गठन गर्ने र सबै तहमा समन्वयकारी भूमिका कसरी गर्ने भन्नेमा छलफलमा छौं । अर्काे कुरा क्राइम भनेको एकै मुलुकमा मात्र होईन सबै मुलुकमा बसेर गर्न सकिन्छ । त्यसैले अन्तर्राष्ट्रिय प्रहरी सञ्जालमा को–अर्डिनेसनका कुराहरु कसरी मजबुत बनाउने भन्ने कुराहरु छन् । अब नयाँ लागु हुने मुलुकी संहिताले प्रहरीलाई सहज हुने छ भन्ने विश्वास लिएका छौं ।

 

साइबर क्राइमको विषयमा नेपालमा कानुन कमजोर छ र पीडकहरुले उन्मुक्ति पाइरहन्छन् र यस्ता अपराध दोहोरिरहन्छन् भन्ने सुनिन्छ नी !
विद्युतीय सामग्रीबाट गराइने हानी, क्षतीलगायत अवैधानिक कार्यलाई पनि विश्वका सबै मुलुकका कानुनले साइबर अपराध मानेको छ । साइबर क्राइमलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीयगत रुपमा विभिन्न कानुन छन् । संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन, युरोपियन युनियनलगायतले आफ्ना सदस्य राष्ट्रका लागि साइबर अपराधविरुद्ध ऐन र नियम ल्याएका छन् । हाम्रो मुलुकको सन्दर्भमा पनि कानुन पुरानो भयो भनेर मुलुकी ऐन संशोधन भएर आएको छ । कतिपय नयाँ ऐन कानुन बन्ने क्रममा पनि छन् । हामीसँग भएका मौजुदा कानुन भएन भनेर भदौ १ बाट कार्यान्वयनमा आउने कानुनले अहिले भइरहेका साइबर अपराध नियन्त्रणमा मद्दत पुग्ने विश्वास छ । हामीसँग पर्याप्त कानुन नभएकोले प्रहरीलाई परेको अफ्ठेरो बुझ्दै सरकारले अहिले ल्याएको कानुनले सबै समस्याको हल गर्ने छ भन्ने विश्वास छ ।

 

त्यसो भए नयाँ ऐन लागु भएपछि यहाँहरुलाई सहज हुने भयो !
यसअघि कानुनले समेट्न नसकेका कुराहरु मुलुकी अपराध संहिताले समेटेको देखिन्छ । अरु ऐन नियमहरुपनि परिमार्जन गर्ने काम भइरहेको छ । हाम्रो संरचनागत कुराहरु पनि परिमार्जन गर्ने काम भइरहेको छ । बाहिरबाट प्राविधिक जनशक्ति लिने र हाम्रा प्रहरीलाई प्रशिक्षण गराउने काम भइरहेको छ । यी नयाँ प्रयासले वर्तमान समस्या निरुत्साहन गर्न मद्दत मिल्छ भन्ने अपेक्षा छ ।

 

विज्ञान प्रविधिको यो युगमा नेपालमा प्रविधि र विज्ञताको अभावमा यो अपराध नियन्त्रणमा कत्तिको चुनौति छ ?
विकसित देशमा साइबर क्राइम रोक्न र यसको सुरक्षाका लागि हाइटेक र इन्टरनेट प्रोटोकल प्रयोग हुन्छन् । अहिले हामीसँग सानो डिजिटल फरेन्सिक ल्याब भनेर सानो स्केलको ल्याब सुरु गरिएको छ । त्यसको प्रभावकारी सञ्चालन गर्दै साइबर क्राइमका घटना हेर्दै आएका छौं । यसलाई व्यापक विकास र विस्तार गर्नुपर्ने छ, त्यही अनुसारको दक्ष जनशक्ति तालिमप्राप्त अनुसन्धानकर्मी आवश्यक छ ।

प्रकाशित समय १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु