गृहपृष्ठ खुट्टाविनै ७० वर्षीय चिनियाँ सगरमाथा शिखरमा
खुट्टाविनै ७० वर्षीय चिनियाँ सगरमाथा शिखरमा
काठमाडौं । दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ आरोही जिया बोयू सगरमाथा शिखरमा पुगेका छन् । चिनियाँ आरोही बोयूले सोमबार बिहान साढे ८ बजे दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरेका हुन् । बोयूसँगै उनका सहयोगीले पनि सोही समयमा शिखर चुमेका छन् ।
अब उनी दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथा चढ्ने दोस्रो व्यक्ति बनेका छन् । यो कीर्तिमानीसँगै उनी नेपालबाटै कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गर्ने पहिलो व्यक्ति भएका हुन् । सगरमाथा आरोहणकै क्रममा सन् १९७५ मा आरोही जियाले दुईवटै खुट्टा हिउँले खाएपछि कृत्रिम खुट्टा राखेका थिए । यसअघि कृत्रिम खुट्टा राखे पनि उनले सगरमाथा आरोहणको चारपटक प्रयास गरेका थिए ।
उनले सन् २०१५ मा सगरमाथा आरोहणका लागि आधार शिविरमा पुगिसकेका थिए । तर, विनाशकारी भूकम्पका कारण त्यसै फर्किनुपरेको थियो । गत वर्ष पनि सगरमाथाकै उनी ८ हजार मिटर उचाइमा पुगेर फर्किएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत गणेशबहादुर कटुवालले सो जानकारी गराएको पर्यटन विभागले जनाएको छ ।
यस वर्षदेखि नेपाल सरकारले खुट्टा गुमाएकाहरूलाई सगरमाथा चढ्न प्रतिबन्ध लगाएको थियो । तर, सर्वोच्च अदालतले त्यस्ता व्यक्तिलाई सगरमाथा आरोहण गर्नबाट नरोक्न अन्तरिम आदेश दिएपछि जिया जस्ता कृत्रिम खुट्टाको सहायताले आरोहण गर्नेहरूका लागि बाटो खुलेको हो ।
उनले दक्षिणी मोहडाबाट सगरमाथाको शिखर चुमेका हुन् । यस सफलतापछि उनी सगरमाथाको शिखरमा पुग्ने पहिलो ‘डबल एम्पुटी’ भनिने दुवै खुट्टा नभएका आरोही हुन् । यसअघि सन् २००६ मा न्युजिल्यान्डका मार्क इंग्लिसले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए ।
४० वर्षअघि सगरमाथा आरोहण गर्ने क्रममा हिउँको चिसोका कारण चिनियाँ आरोही बोयूको दुवै खुट्टा नचल्ने अवस्थामा पुगेको थियो । त्यपछि क्यान्सर भएका कारण उनले दुवै खुट्टा कटाएका थिए । आफ्ना दुवै खुट्टा गुम्दा पनि उनी अविचलित नभएकै कारण अहिले सफल आरोहीका रूपमा चिनिए । पहिलोपल्ट आरोहण प्रयासकै क्रममा आफ्ना दुवै खुट्टा गुमाउनुपरे पनि उनले सगरमाथा आरोहण गर्ने सपना कहिल्यै परित्याग गरेनन् ।
आइतबार यस वर्ष पहिलोपल्ट ८ जना नेपाली आरोही समूहले सगरमाथा शिखरको बाटो खोल्न सफल भएलगत्तै चिनियाँ आरोही बोयूसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको शिखर चुमिसकेका छन् ।
प्रकाशित समय ०७:१५ बजे

















