गृहपृष्ठ देश दुखेको छ (कविता)
देश दुखेको छ (कविता)
अतीतले चिथोरेको वेला
रातमा हजार सपनाहरू कोरलेकको हुन्छु
थकित अनुहार फेरिन नपाउँदै
अमूल्य जीवन बली चढेको देख्छु
तब,
मनभित्र पहिरो जान्छ ।
उफ् !
कस्तो विडम्बना हो यो ?
हिजो खोकु र छिन्ताङ युद्धमोर्चामा
देशको स्वर्णिम सपना फुल्नेछ भनेर
सहिदले आफ्नो जीवन रोपेका थिए ।
तर, आज तिनका सपनाहरू
कसैको जुठेल्नामा रछ्यान बनेका छन्
सङ्गीनले घोच्दा नदुख्ने छातीभित्र
मेची र महाकाली दुख्न थालेको छ ।
आफ्नै आमाको छातीमा सीमाना कोरेर
उनकै लाम्टा चुसेर
मातृत्वको अस्तित्व बेच्नेहरू
यतै छन्
खोजी हेर ।
भाषणको खेती गर्नेहरूको भान्सामा
मसिनामसिना पाक्दा
पसिनाको बाली लगाउनेहरुको भान्छामा
ढिँडो नपाकेपछि
पासाङ दाइहरु मधेस झरेका हुन्
हर्के दाइहरु मुगलान पसेका हुन्
रामविलासहरु विदेशी एजेन्टको
षड्यन्त्रमा परेका हुन् ।
उल्टो बाटो हिँड्नेहरू बढेको बेला
हिजो पनि यहाँ साँढे बौलायो
आफ्नै पहिचान आफैँभित्र खोसिएर
शरणार्थी भएको छ ।
पोस्टमार्टम नभएका यी अनुहारहरू
सनाखत नभएका गिद्धे नजरहरू
अब उदाङ्गिन थालेका छन्
छोपिनुपर्ने ठाउँहरू
नाङ्गिन थालेका छन् ।
सगरमाथाको शीर झुक्दा
मेरो पहिचान झुकेको छ
निचोरिएर मेरो बाँझो छातीभित्र
यतिवेला
साँच्चै देश दुखेको छ ।
प्रकाशित समय १५:०६ बजे

















