गृहपृष्ठ राउटेले बुझे पहिलो महिनाको तलब
राउटेले बुझे पहिलो महिनाको तलब
गत फाल्गुन १२ गते परासामाजिक कार्यकर्ताको नियुक्ति पाएका राउटे समुदायका पाँच जनाले पहिलो महिनाको तलब बुझेका छन् । सामाजिक सेवा केन्द्र सोसेकले राउटे समुदायका पाँचजनालाई परासामाजिक कार्यकर्ताको रुपमा नियुक्ती गरेको थियो ।
समुदायका सूर्यनारायण शाही, डिलबहादुर शाही, वीरबहादुर शाही, प्रकाश शाही र मैनबहादुर शाहीले प्रतिव्यक्ती १५ सय रुपैयाँ बैंकमार्फत तलब बुझेका हुन् ।
मेघा बैंक सुर्खेतमा आई उनीहरुले पहिलो पटक बैंकमार्फत तलब बुझेका हुन् । बैंकमा पहिलो पटक कारोबार गर्दा एकदमै खुसी लागेको बताउँदै राउटे मैनबहादुर शाहीले यसअघि जीवनमा कहिल्यै बैंक नआएको बताए । उनले भने ‘पहिलो पटक चेक समाएको हुँ । चेक दिएर पैसा लिन पाउँदा खुसी लाग्यो ।’

त्यस्तै सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापाले राउटे समुदायलाई बैंकको पहुँचमा पुर्याउन बैंकमै आएर तलब बुझ्ने व्यवस्था मिलाएको बताए ।
उनले भने, ‘हामीहरुले उनीहरुलाई काम गर्नको लागि निश्चित मापदण्ड तोकिदिएका छौं । कम्तीमा पनि समुदायका बालबच्चालाई पोषण खुवाउने, सरसफाईका कुरा गर्ने, औषधि खुवाउनको लागि सहयोग गर्ने काम उनीहरुको हो ।’ राउटे समुदायले जथाभावी जंगलको फडानी गर्ने भएकोले त्यसलाई रोक्न पनि उनीलाई परासमाजिक कार्यकर्ताको रुपमा नियुक्त गरिएको उनले बताए ।
उनीहरुको जागीर अवधी एकवर्षको हुने अध्यक्ष थापाले बताए ।

प्रकाशित समय १५:५४ बजे

















