गृहपृष्ठ कास्कीमा पनि बर्डफ्लू भेटियो
कास्कीमा पनि बर्डफ्लू भेटियो
कास्कीमा पनि बर्डफ्लू भेटिएको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ३, याङ्जाकोटमा स्थानीय सन्तु परियारले पालेका कुखुरामा बर्डफ्लू संक्रमण भेटिएको मादी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारीले बताए ।
परियारले पालेका स्थानिय तथा गिरीराज जातका कुखुरामा बर्डफ्लू संक्रमण भेटिएको हो । उनले पालेका कुखुरा केहि दिन अघिदेखि केही कुखुरा झोक्राउदै मर्न थालेपछि पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पठाउँदा बर्डफ्लू भाइरस एच ५ एन वान संक्रमण देखिएको पुष्टि भएको हो ।
संक्रमित क्षेत्रलाई हाल चार किल्ला घोषणा गरी र्यापिट रेष्पोन्स टिम समेत खटाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए । संक्रमित क्षेत्रमा उक्त टोलीले चारकिल्ला क्षेत्रका कुखुरा र कुखुरा जन्य बस्तुहरु नष्ट पार्नै काम गर्दैछ। चारकिल्ला क्षेत्रभित्रका सबै कुखुरा, दाना, सुली नष्ट गरिने, खोर सरसफाईसँगै चुना तथा एन्टीभाइरल औषधि राख्ने काम टोलीले गर्दैछ ।
सोमबार बिहान बसेको बैठकले चार किल्ला क्षेत्रमा १० दिनसम्म सन्तु परिवारको घर देखि वरिपरि कुुखुरा र कुखुराजन्य बस्तु ओसार पोसार गर्न रोक लगाएको छ । साथै बैठकले चार किल्ला क्षेत्रका कुखुरा तथा कुखुराजन्य बस्तुहरु समेत नष्ट गर्ने र क्षेतीपुर्तीको बिषयमा भने अर्को बैठकले निर्णय गर्ने भएको प्रमुख जिल्ला अधिकारी बुढाले बताए ।
त्यसैगरी कास्कीको नाकामा समेत भेटेरिनरी टीम खटाएको प्रमुख जिल्ला अधिकारी बुढाले बताए । यदी कुनै जिल्लाबाट कास्कीमा कुुखुरा ल्याएको आवश्यक काजपत्र नभएमा टोलीले उक्त कुखुरा नियन्त्रणमा लिने भएको छ। जिल्ला प्रशासन कार्यालय, कास्की बर्डफ्लू रोग नियन्त्रक कक्ष सूचना अधिकारी डा. गृष्म न्यौपाने सहितको टोली याङ्जाकोट पुगेको छ ।
प्रकाशित समय १३:५६ बजे

















