गृहपृष्ठ ट्रेजरी बिलमा दोब्बर माग
ट्रेजरी बिलमा दोब्बर माग
तरलता अभाव कृत्रिम भएको संकेत
नेपाल राष्ट्र बैंकले ट्रेजरी बिलका लागि आह्वान गरेभन्दा दोब्बर माग भएको छ । राष्ट्र बैंकले गत फागुन २७ गते ७ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गरेकोमा १७ अर्ब ७३ करोड रुपैयाँको बोलकबोल भएको छ ।
राष्ट्र बैंकको सार्वजनिक वित्त व्यवस्थापन विभागका अनुसार फागुन २७ गते २ अर्ब २६ करोड रुपैयाँको ९१ दिने र ५ अर्ब रुपैयाँको ३६४ दिने ट्रेजरी बिल जारी भएकोमा ९१ दिने ट्रेजरी बिलका लागि ५ अर्ब २६ करोड रुपैयाँको र ३६४ दिने ट्रेजरी बिलका लागि ११ अर्ब ८७ करोड रुपैयाँको बोलकबोल भएको थियो । जसका लागि ४.७३ प्रतिशतको बट्टादर कामय भएको छ ।
मंगलबार जारी हुने १३ अर्ब ७९ अर्ब रुपैयाँको ट्रेजरी बिलका लागि सोमबार दिउँदो ३ बजेदेखि राष्ट्र बैंकमा बोलकबोल जारी छ । साढे ३ बजेसम्मको बोलकबोलमा दोब्बरको माग भइसकेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।
यो ट्रेजरी बिल नयाँ भने होइन, चालू आर्थिक वर्षमा सरकारले आन्तरिक ऋण नउठाएका कारण पुरानै ऋणपत्रको नवीकरणका लागि बोलकबोल भएको हो । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
ट्रेजरी बिलमा लगानीका लागि दोब्बरभन्दा बढीको माग रहनुले बैंकिङ क्षेत्रमा तरलताको संकट कृत्रिममात्र भएको प्रमाणित भएको छ । ट्रेजरी बिलको बट्टादर बढी हुँदा त्यसले बजारको ब्याजदरमा पनि प्रभाव पार्छ ।
प्रकाशित समय १५:३९ बजे

















