गृहपृष्ठ मध्यपुरका मेयर र कार्यकारी अधिकृतबीच हातहालाहाल
मध्यपुरका मेयर र कार्यकारी अधिकृतबीच हातहालाहाल
मेयर श्रेष्ठ किन पर्छन् सधैं विवादमा ?

मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत कमल ज्ञवालीबीच सतहमै देखिनेगरि द्वन्द्व बढ्दै गएको छ । यसले गर्दा नगरपालिकाको काम कारवाही प्रभावित भएको छ । साताअघि नगर प्रमुखको कार्यकक्षमा प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठकै उपस्थितिमा दुईजनाबीच हात हालाहालको स्थिति सिर्जना भएपछि आन्तरिक द्वन्द्व सतहमा आएको हो । आफ्नो मानमर्दन गरेको र योजनाहरु असफल पार्न लागिपरेको आरोप प्रमुख श्रेष्ठको छ भने नियमविपरित योजनाहरु सञ्चालन गरेर जवजस्ती योजना स्विकृत गराउन दबाब दिएको आरोप प्रमुख प्रशासकिय अधिकृतको छ ।
अहिले ज्ञवाली मन्त्रालयमा हाजिर हुन थालेका छन् । मेयर श्रेष्ठ भने अर्को प्रमुख प्रशासकिय अधिकृतको खोजीमा छन् । यो विवादपछि कार्यकारी प्रमुख ज्ञवाली कुनै पनि हालतमा मध्यपुरमै फर्कने भन्दै सरुवा रोक्न लागिपरेका छन् भने कुनै हालतमा सरुवा गराएर छोड्ने नगर प्रमुखको अडान छ । नगरपालिकाका कार्यकारी अधिकार प्राप्त जनप्रतिनिधी र कर्मचारीबीचको विवादपछि कर्मचारीहरु र जनप्रतिनिधिसमेत दुई खेमामा विभाजित बनेका छन् । मेयर श्रेष्ठले कार्यकारीको पक्षमा लाग्ने कर्मचारी र जनप्रतिनिधिलाई समेत कारवाही गर्ने चेतावनी दिएको नगरपालिकाका प्रवक्ता एवम् वडा २ का अध्यक्ष राम थापामगरले बताए । प्रवक्ता थापाले भने, ‘अहिलेको घटनालाई लिएर नगर प्रमुखले तत्काल नगरकार्यपालिकाको आकस्मित बैठक बोलाएर के भएको हो सबै जानकारी गराउनुपथ्र्यो । आफुखुशी मन्त्रालय गएर कार्यकारीको सरुवा गराएको प्रचार गर्नुभयो ।’
मेयर–कार्यकारीबीचको द्वन्द्वपछि अहिले कमेरोटार जग्गा एकिकरण आयोजनाका प्रमुख पनि फेरिएका छन् । आयोजना प्रमुखमा सत्यसुन्दर श्रेष्ठलाई प्रमुख श्रेष्ठले फाल्गुण २९ गते करारमा नियुक्त गरेका हुन् । आयोजना प्रमुखमा नियुक्त सत्यसुन्दर अनियमितता मुद्दामा इन्जिनियरिङ्ग काउन्सिलले लाइसेन्स खारेज गरिदिएका व्यक्ति भएको प्रवक्ता थापामगरको दावी छ । विवादित व्यक्तिलाई नियुक्त गरेर मेयर श्रेष्ठ फेरी अर्को विवादमा मुछिएका छन् ।
किन विवादमा आइरहन्छन मेयर मदनसुन्दर ?
मध्यपुर थिमी नगरपालिकाका प्रमुख श्रेष्ठ निर्वाचित भएदेखि नै विवादित छन् । उनी तत्कालीन नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका हुन् । नगरसभा र नगर कार्यपलिकामा दुई तिहाईको संख्या नेपाली कांग्रेसले जितेको छ ।
चन्दा नदिएको भन्दै विप्लव माओवादीका कार्यकर्ताद्धारा मेयर श्रेष्ठमाथि २०७५ बैशाख ८ गते आक्रमण भयो । उनको उपचार मध्यपुर अस्पतालमा गरियो । उपचारपश्चात ५ दिनपछि अस्पतालले घरमै आराम गर्नेगरि डिस्चार्ज ग¥यो ।
प्रत्यासीसँग सहकार्य, उपप्रमुखलाई वहिष्करण
नगरसभा तथा कार्यपालिकामा आफ्नो अल्पमत भएपछि मेयर श्रेष्ठले मेयरका प्रत्यासी कांग्रेस नेता अष्टकुमार कवेसँग समर्थनका लागि आग्रह गरे । कबेले पनि उनलाई साथ दिए । त्यसपछि नेता कवेको निर्देशन अनुरुप नगरपालिकाका कामहरु सञ्चालन हुन थाल्यो । तर, कांग्रेसकै अर्को गुटबाट उपप्रमुखमा निर्वाचित अञ्जनादेवी मधिकर्मीलाई निर्णय प्रक्रियाबाट अलग गराउने कार्य हुन थाल्यो ।
नगरपालिकाकै अधिकांश कार्यक्रममा उपप्रमुख मधिकर्मी बहिष्करणमा पर्न थालिन् । संविधानले व्यवस्था गरेको अधिकार बाहेक मधिकर्मीलाई भूमिकाविहिन बनाउने कार्य गरिएको उपप्रमुख मधिकर्मीको गुनासो छ । उपप्रमुख मधिकर्मीले मेयरको कार्यशैली तानाशाही भएको भन्दै यस्तो कार्य नरोके बिरोधमा उत्रने बताइन् । अहिले उपप्रमुख मधिकर्मी र कांग्रेसका अन्य जनप्रतिनिधिहरु एउटै गुटमा छन् । मेयरले योजना बाँडफाँडमा एकलौटी र मनोमानी गरेको भन्दै कांग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधिरु अहिले एक भएका हुन् ।
सांसद बस्नेतसँग टकराव, फकाउने कसरत
नगर प्रमुख बनेपछि पार्टी तथा नेतृत्वसँग समन्वय नगरेको र मनोमानी काम गरेको भन्दै नेकपा र नेताहरुसँग पनि श्रेष्ठको सम्बन्धमा चिसोपना छ । स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाको उम्मेदवारका लागि टिकट दिलाउने नेकपा नेता तथा प्रतिनिधि सभा सांसद महेश बस्नेतसँग मेयर श्रेष्ठले पानी बाराबारको व्यवहार गर्ने गरेका छन् । सांसद विकास कोषबाट बस्नेतले मध्यपुर थिमिका लागि छुट्टयाएको बजेटको काम नगर्ने र उक्त योजनालाई समेत असफल बनाउने खेलमा लागेको सांसद बस्नेतको गुनासो छ । संविधानले नै स्थानीय सरकारका २२ वटा अधिकार सुनिश्चित गरेकाले केन्द्रिय सरकार र प्रदेश सरकारका सबै निर्देशन, परिपत्रहरु पालना गर्न र कार्यान्वयन गर्न बाध्य नहुने अभिव्यक्ति मेयर श्रेष्ठले दिने गरेका छन् ।
सांसद बस्नेतकै नेतृत्वमा सञ्चालन भइरहेको हनुमन्ते सफाई महाअभियानको बिरोध तथा बहिष्कारको नीति श्रेष्ठले अंगिकार गरेका छन् भने ४ अर्बको निर्माण योजना रहेको र हाल ८१ करोडको ठेक्का सम्झौता गरि निर्माण कार्य भइरहेको हनुमन्ते करिडोरको बिपक्षमा समेत उभिएका छन् ।अहिले प्रमुख प्रशासकिय अधिकृतसँगको मनमुटाव पछि श्रेष्ठ सांसद बस्नेतलाई फकाउने कसरतमा जुटेका छन् । सांसद बस्नेतको फोर्समा कार्यकारी पुनः नगरपालिकामै फर्कन सक्ने त्रासका कारण मेयर श्रेष्ठ सांसद बस्नेत फकाउने कसरतमा लागेका हुन् । सोही कारण मेयर श्रेष्ठले सञ्चालन गरेको शंखधर मेमोरियल स्कुलको गत शनिबारको एक कार्यक्रममा बस्नेतलाई प्रमुख अतिथि बनाए ।
प्रमुख प्रशासकिय अधिकृतको विवादपछि मेयरलाई समर्थन गरेको कांग्रेस रुष्ट बनेको छ । नगरको विकासका लागि समन्वय नगरी एकलौटी गरेको र कार्यकारीलाई पनि गलत कार्य दबाब दिएकै कारण विवाद भएको हुनसक्ने भन्दै मेयर–कार्यकारी विवादको तथ्य बाहिर ल्याउनुपर्ने जनप्रतिनिधिहरुको माग छ ।
प्रकाशित समय १७:२० बजे

















