गृहपृष्ठ सांसदहरुले बाँकी दुईवर्षे कार्यकाल गुमाउन चाहेका छैनन् : प्रचण्ड

सांसदहरुले बाँकी दुईवर्षे कार्यकाल गुमाउन चाहेका छैनन् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस संगठन चितवनले मंगलबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताए ।

निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर पनि उनले गरे । अहिलेको सरकारले निर्वाचन नगराउने आरोप लगाउँदै उनले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताए । ‘बाँकी रहेको दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्,’ पूर्वप्रधानमन्त्री दाहालले भने ।

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताउँदै अध्यक्ष दाहालले भने,’प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिन्छ ।’ उनले छिट्टै संयुक्त आन्दोलन गर्ने विषयमा विभिन्न दलसँग कुराकानी भएको पनि बताएका छन् ।

भरतपुर महानगरपालिका- १० मा बन्दै गरेको सभागृहको निरीक्षणपछि उनले आफ्नो निर्वाचन क्षेत्रमा सोचेभन्दा बढी विकास भएको जिकिर गरे । आफ्नै निर्वाचन क्षेत्रको माडी अयोध्या र रामको जन्मभूमि भएको प्रमाणित गर्नका लागि पुरातात्विक अन्वेषण गर्नुपर्ने सुझाव पनि उनले दिए । (रासस)

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु